बिचार

हाइब्रिड र जलवायु परिवर्तनको असर, मासिंदै रैथाने बाली

मोनसान्टो नामक हाइब्रिड बीउको मुसामा गरिएको परीक्षणमा जीएमओ बीउ खाने मुसाको आयु पाँच गुणा कम भएको नतिजा

उत्पादन बढी गर्ने नाममा बहुराष्ट्रिय कम्पनीका विकसित बीउ (हाइब्रिड)को प्रयोग संसारभर भैरहेको छ । यसका सकारात्मक पाटो भनेको बढी उत्पादन हुनु होला तर दीर्घकालमाा यसले पार्ने असरका बारेमा कमै चासो दिइने गरिएको छ ।

नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा कृषि उत्पादनका आफ्नै शैली, परम्परा र बीउ विजन थिए । हाम्रो आफ्नै जातका बालीहरुको प्रचूर संरक्षण भएको थियो । तर आजभोलि जलवायु परिवर्तनको असरसंगै हाइब्रिड बीउको प्रयोग र त्यो बीउसंगै उपयोग गरिने रासायनिक मल, औषधिले माटोको उर्बराशक्ति कमजोर हुँदै रैथाने बाली नास भैरहेको छ ।

हाइब्रिड बीउको एकपटक प्रयोग गरेपछि अर्कोपटक स्थानीय बीउ त्यो माटोमा उम्रदैन र उम्रे पनि फल दिंदैन । अनि सोही बीउ र त्यो बीउसगै प्रयोग गर्नुपर्ने रासायनिक मल र औषधिका कारण मानव स्वास्थ्य समेत कमजोर बन्दै गएको छ । यसमा जलवायु परिवर्तनले अर्को सहायक भूमिका निर्वाह गरेको छ ।

हाइब्रिड बीउ, मल, औषधि नेपाल भित्र्याउन ठूला र घरानीय कम्पनीहरु नै सक्रिय छन् । सरकारले रैथाने बीउ संरक्षणको नीति नै लिन सकेको छैन । वास्तवमा आयात गरिएको बीउ नेपाली माटो अनुसारको हो कि हैन र भन्ने परीक्षण समेत हुँदैन । अर्को गम्भीर सवाल के हो भने जुन बीउ प्रयोग हुन्छ सोही कम्पनीले बनाएको औषधि अन्य रासायनिक पदार्थ खेतबारीमा हाल्नुपर्छ । जसले गर्दा माटोमा रासायनिक पदार्थको लत लाग्छ र रैथाने बाली मासिन्छ ।

नेपाल जस्ता मुलुकमा यो कम्पनीको बीउ सुटुक्क भित्रिएको र यसले कृषि उत्पादनमा व्यापक नकारात्मक प्रभाव पारेको छ । हाइब्रिडले मानवीय र वातावरणीय स्वास्थ्यमा पनि निकै प्रतिकुल असर पार्ने भन्दै विश्वभर नै प्रदर्शन हुने गरेका छन् । स्मरणीय के छ भने यस्ता बीउको प्रयोगपछि माटोको उर्बराशक्ति नष्ट हुनुका साथै रैथाने बीउ विस्थापित हुनेछ । उसै त नेपालका रैथाने बीउहरु हराउँदै गएकोमा चिन्ता व्यक्त भैरहेका बेला निश्चित कम्पनीका हाइब्रिड बीउ प्रयोग गरेपछि उत्पादनका लागि वाध्य भएर महंगो मूल्य पर्ने यही कम्पनीको औषधि र मल प्रयोग गर्नुपर्ने हुन्छ । यो बीउ मात्र रोप्दा बाली लाग्दैन ।

हाइब्रीडको नाममा भित्रिने यस्तो बीउले स्वास्थ्यमा प्रतिकुल असर पर्ने विज्ञहरु बताउँछन् । मोनसान्टो नामक हाइब्रिड बीउको मुसामा गरिएको परीक्षणमा जीएमओ बीउ खाने मुसाको आयु पाँच गुणा कम भएको नतिजा आएको र यस्तो बीउबाट उत्पादित खाद्यन्न सेवन गर्दा मान्छेको स्वास्थ्यमा ६५ प्रकारका नकारात्मक असर पर्ने दावी गरिन्छ । नेपाल जस्तो ८० प्रतिशत जनता कृषिमा निर्भर रहेको मुलुकमा यस्तो बीउ भित्र्याउन पाए यहाँको अर्थतन्त्र नै सो कम्पनीको पकडमा जाने खतरा छ ।

भारतमा हाइब्रिड भित्रिएको एक दशक नाघेको छ । यसैका कारण कृषि उत्पादनमा कमी आएर जीवन निर्वाह गर्न नसकेपछि भारतमा वर्षमा दशौं हजार किसानले आत्महत्या गर्ने गर्दछन । भारतमा एक वर्षमा १५ हजारभन्दा बढी किसानले आत्महत्या गर्ने गरेको तथ्यांक भारतको राष्ट्रिय अपराध ब्युरोकै छ । यसको एउटै कारण भनेको लगाएको बालीबाट उत्पादन नहुनु हो । यसको प्रमुख कारणमा बहुर्राष्ट्रिय कम्पनीका हाइब्रिडको बीउ हो । किनभने यस्ता बीउबाट उत्पादन धेरै हुनेमा शंका छैन तर राम्रो स्याहार नपाएमा वा तापक्रम, हावापानी सामान्य असर परेमा फलै नलाग्ने हुन्छ । यो जटिल समस्याको समाधान रैथाने बीउको रक्षाका साथै माटोको उर्बरा शक्तिको बचावट नै हो ।

नेपालकै उदाहरण लिने हो भने हजारौं वर्षदेखि प्रयोगमा आएका बहुचर्चित ‘ब्राण्ड’हरु हराउन थालेका छन् । ‘पोखरेली मसिनो’ धान अहिले लगभग हराइसकेको छ । ‘बास्मती’ धानको ठाउँ पनि हाइब्रीडले नै लिइसकेको छ । आजकल पोखरेली र बास्मतीको नाममा अरु नै धान उत्पादन हुन्छन् । बूढापाकाहरु आजकलको चामल देखेरै दिक्क मान्छन् । त्यस्तै तरकारीको रैथाने बीउ नष्ट हुँदै गएको छ । माटोको उर्बरा शक्तिका भरमा उत्पादन हुने तरकारीहरु आजकल इन्जेक्सनका भरमा परिपक्व हुनुपर्ने अवस्था छ । यसको एउटै कारण भनेको हाइब्रीड बीउ र त्यसबाट अत्यधिक उत्पादन लिन प्रयोग गरिने रासायनिक पदार्थ नै हो । यसले गर्दा माटोको उर्बरा शक्ति कमजोर हुँदै रैथने बीउलाई सेचन गर्नसक्ने शक्ति गुमाउँदै गएको छ ।

निर्वाहमुखी कृषि प्रणाली रहेको मुलुकको आर्थिक विकासका लागि कृषि उत्पादनमा जोड दिनुको विकल्प तर यसको नाममा जे मनलाग्यो त्यही गरेर माटोको उर्वराशक्ति ह्रास गराउने, कमशनखोरहरुलाई पोस्ने नीति बन्द हुनुपर्छ । परम्परागत कृषिबाटै मनग्गे उत्पादन गरेर नेपालले धानचामल निर्यात गथ्र्यो ।

चार दशकअघि नेपाल चामल निर्यात गर्ने प्रमुख मुलुक थियो । नेपाली चामल खानेहरु आज विश्व अर्थतन्त्रका शक्ति राष्ट्र बन्दैछन् र बनिसके । हामी भने अहिले अनुदानको चामलको भात खाएर बाँच्नु परिरहेको छ । यो तथ्यले हाम्रा शासक, नीति निर्माता, योजनाविद् र कार्यान्वयनकर्तालाई पटक्कै लज्जबोध छैन ।

नेपालको चारदशक अघिको अर्थतन्त्रको कुरा गर्दा अहिलेको समृद्ध मुलुक दक्षिण कोरियाकोभन्दा बलियो थियो भन्छन् विज्ञहरु । कुनै समय नेपालले कोरियालाई अनुदान दिन्थ्यो भन्ने सुन्दा यो पुस्ताका नौजवानहरु जिभ्रो टोक्न बाध्य हुन्छन् । त्यस्तै आजको स्थितिलाई मूल्यांकन गरेर नेपालले कुनै बेला चामल निर्यात गथ्र्यो र त्यो निर्यातको सबैभन्दा ठूलो हिस्सामा रहन्थ्यो भन्दा पत्याउन धेरैलाई थाह्रो पर्छ ।

परम्परागत कृषिलाई आधुनिकरण गर्ने नाममा बहुराष्ट्रिय कम्पनीका स्वार्थ हावी हुँदा चार दशकको बीचमा मुलुक खाद्यान्न निर्यात गर्नेबाट आयात गर्नेमा झर्यो । कृषिमा मात्रै आत्मनिर्भर हुनसके नेपालको व्यापार घाटाको २० प्रतिशत हिस्सा कम हुन्छ । तर, योजनाविद्, नीति निर्माता र कार्यान्वयन कर्ताहरुको बाहिरी शक्तिको स्वार्थमा चल्ने कुबुद्धिका कारण नेपालको अर्थतन्त्र नै धराशायी बनेको छ ।

आज दुनियाँ अग्र्यानिक कृषिमा उन्मुख भैरहँदा हामी आधुनिक कृषिको नाममा विषादी भित्र्याइरहेका छौं । कृषिकर्म गर्ने बलिया पाखुरी निर्यात गरेर तिनीहरुकै पसिनाले बस्तु आयात गरेर खाइरहेका छौं । यस्तो अवस्थाको अन्त्य नहुँदासम्म यहाँ श्रमगर्ने हातहरु नै हुँदैनन् । दैनिक १५ सय युवाहरु अरब कुदेका छन् । उनीहरु समृद्ध नेपाल बनाउने सपना बोकेर पुगेका हुन् कि परिवारको न्यूनतम आधारभूत आवश्यकता पूर्ति गर्न ? यो अहम् प्रश्नको उत्तर शासक वर्गले खोज्दैपर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.