पिसीआर परीक्षण गर्न रातभर लाइनमा- एउटै ब्ल्याङकेटभित्र पाँचजना सुत्न बाध्य

देशको सबभन्दा ठूलो प्रयोगशाला रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल परिसरमा रातभर लाइन बस्नुपर्ने बाध्यता छ । परीक्षण गराउन आएकाहरु रातको समयमा एउटै ब्ल्यान्केटमा सुत्नेदेखि सामाजिक दूरीविना टाँस्सिएर बस्न बाध्य छन् ।
कोरोना संक्रमणको आशंकामा परीक्षण गराउन आएकाहरु स्वस्थ रहे पनि परीक्षण गराउन समय कुरेकै अवस्थामा संक्रमित हुने जोखिम अस्पतालका दृश्यले देखाउँछ । कतिसम्म भने पीसीआर परीक्षणका लागि ‘टोकन’ लिन अघिल्लो दिन नै गएर बसेकाहरु रातिसम्म पालो नआएपछि एउटै ब्ल्याङकेटभित्र सुत्न बाध्य भए ।
अस्पातलले सीमित परीक्षण गर्ने हुनाले सर्वसाधारण अघिल्लै दिनदेखि लाइनमा बस्न बाध्य छन् । यसबीचमा सामाजिक दूरी र सुरक्षा मापदण्डबिना कोही सुतेका र कोही ननिदाई बसेका सयौं व्यक्ति लाइनमा थिए ।
एक दिनमा २ सय ८० जनालाई मात्र जाँच गर्दै आएको अस्पतालले अघिल्लो सातादेखि यो संख्या बढाएर ५, ६ सय सम्म पुर्याएको छ ।
यद्यपि ती सबैको पीसीआर परीक्षण भने हुँदैन, चिकित्सकले सोधपुछ र जाँचका क्रममा ‘आवश्यक पर्ने’ ठानिएका व्यक्तिको मात्र परीक्षण गरिन्छ ।

पिसीआर परीक्षणका लागि विगतमा पेट्रोलियम लाइन वा दुई दशकअघि सिमकार्ड लिन लाइन बसेजस्तो अवस्था टेकुमा देखिन्छ । यसले जोखिम अरु बढाएको हुँदा सम्बन्धित निकायले बेलैमा उचित प्रबन्ध गर्नुपर्ने आवश्यकता छ ।
कोरोना संक्रमणबाट बच्न सबभन्दा प्रभावकारी उपाय भनेको सामाजिक दूरी कायम गर्नु भए पनि परीक्षणकै लागि आएकाहरु यति जोखिमपूर्ण तरिकाले पालो कुरेर बस्नुपर्ने बाध्यताले सम्बन्धित निकायको ध्यानाकृष्ट नहुने हो भने अस्पतालभित्रैबाट संक्रमण अरु बढ्ने स्पष्टै छ ।
स्मरणीय के छ भने नेपालमा विभिन्न स्थानमा ४० प्रतिशतभन्दा बढी संक्रमण अस्पतालबाट भएको पुष्टि भैसकेको छ भने चीनले कोरोना संक्रमणको सुरुवाती दिनमै ४० प्रतिशत संक्रमण अस्पतालभित्रबाट भएको भन्दै कोरोना उपचारका लागि छुट्टै अस्पताल बनाएको थियो ।
प्रतिक्रिया राख्नुहोस्