राजनीति

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षमा बुढाथोकी

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा किशोर श्रेष्ठको राजीनामा लगत्तै गोपाल बुढाथोकी कार्यवाहक अध्यक्ष नियुक्त हुनुभएको छ । श्रेष्ठको राजीनामापछि शुक्रबार बसेको काउन्सिल सञ्चालक समितिको बोर्ड बैठकले काउन्सिल ऐन २०४८, अनुसार बुढाथोकीलाई कार्यवाहक अध्यक्षमा चयन गरेको हो ।

काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झवीन्द्र भुसालले दिएको जानकारी अनुसार निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएपछि बुढाथोकीलाई कार्यवाहक अध्यक्ष तोकिएको हो ।

साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा काउन्सिल सदस्यमा नियुक्त गरेको थियो । कार्यवाहक अध्यक्ष बुढाथोकीले शुक्रबार नै पदभार ग्रहण गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिनुभयो ।

निवर्तमान कार्यवाहक अध्यक्ष श्रेष्ठले शुक्रबार बोर्डसमक्ष दिनुभएको राजीनामा स्वीकृत गरिएको हो । तीन वर्षअघि तत्कालीन अध्यक्ष भवानीप्रसाद बरालको नियुक्तिलाई सर्वोच्च अदालतले रोक लगाएपछि रिक्त अध्यक्षमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो ।

कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिए पनि श्रेष्ठ काउन्सिल सदस्यमा भने असोज १२ गतेसम्म रहनुहुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.