महालक्ष्मी नगरप्रमुख दम्पत्ति दोस्रोपटक संक्रमित, ललितपुर महानगर र गोदावरी प्रमुखलाई पनि कोरोना
ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उहाँकी धर्मपत्नी दोस्रोपटक कोरोना सङ्क्रमित हुनुभएको छ । उहाँहरु दुवैले हाल ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहनुभएको छ ।
त्यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । बिहीबार स्वास्थ्यमा असहजता महसुस भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा स्वाब परीक्षणका लागि दिनुभएकामा शुक्रबार कोरोना पोजेटिभ रिपोर्ट आएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।
प्रमुख महर्जन बखुन्डोलस्थित निजी निवासमा आइसोलेशनमा रहनुभएको छ । उहाँको परिवारका सदस्यको भने अब पाँच दिनपछि स्बाब परीक्षण गरिने जनाइएको छ ।
शुक्रबार नै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उहाँका धर्मपत्नी गङ्गामायालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही असोज ६ गते उहाँहरुले स्वाब सङ्कलन गरेर जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
हाल महर्जन दम्पती होम आइसोलेसनमा रहेको छ । गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको प्रमुख महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “मसँग सम्पर्कमा रहेर शङ्का लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गर्दछु ।”