जन सरोकारस्वास्थ्य

अस्पतालका शय्याहरू बिरामीले भरिए, तत्काल डेङ्गु नियन्त्रण गर्न चिकित्सकहरूको आग्रह

पछिल्लो समय नेपालमा फैलिएको डेङ्गु प्रकोपले महामारीकै रुप लिन लागेको छ । हरेक अस्पताल शय्याहरू डेङ्गुका बिरामीले भरिएका छन् ।

यसबीचमा चिकित्सकहरूले तत्काल नियन्त्रण गर्न आग्रह गर्दै सरकारले डेङ्गु नियन्त्रणमा तुरुन्त प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा डा सुन्दरमणि दीक्षितले नियन्त्रणका लागि लामखुट्टे मार्ने धुवाँको प्रयोग गर्नुपर्ने बताउनुभयो ।

डेङ्गु नियन्त्रण गर्नु सरकारको मात्र जिम्मेवारी नभएको भन्दै उहाँले स्वास्थ्य मन्त्रालय मातहतका कार्यालय र स्थानीय निकाय गम्भीरताका साथ खटिनुपर्नेमा जोड दिनुभयो ।

डेङ्गु प्रकोपले पछिल्लो समय कडा रूप लिँदै गएको बताउँदै डा दीक्षितले आफूले प्रत्येक दिन जाँच गर्ने १० बिरामीमध्ये दुई–तीन डेङ्गु सङ्क्रमित हुने उल्लेख गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयले लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान दुई महिना अगाडिदेखि सञ्चालन गरेको भए यस्तो अवस्था नआउने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताउनुभयो ।

एकै परिवारका सदस्य पालैपालो अस्पताल पुग्ने गरेको स्मरण गराउँदै डेङ्गु प्रकोपले भयावह रुप लिइसकेको उहाँको भनाइ छ । “नेपालले अब समयमै नियन्त्रण नगरे अझै ठूलो समस्या निम्तन सक्छ”, उहाँले भन्नुभयो ।

सरकारले डेङ्गु नियन्त्रणका लागि सञ्चालन गरेको अभियान प्रभावकारी भएको भन्दै लामखुट्टेको लार्भालाई खोजेर नष्ट गरेमा एडल्ट लामखुट्टे नियन्त्रण गर्न सकिने सरुवा रोग विशेषज्ञ डा गरिबदास ठाकुरको भनाइ छ । उहाँले जनचेतना अभिवृद्धि गरेर, सरकारले विज्ञहरूको सल्लाहमा अघि बढेमा प्रकोप नियन्त्रण गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.