कर्पोरेट/पर्यटन

पर्यटन प्रबद्र्धनका लागि नेपाल भ्रमण दशक मनाउने

सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन पुनरुत्थान गर्दै यस क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय भएको जानकारी दिनुभयो ।

होटल सङ्घ नेपाल (हान) ले आयोजना गरेको आतिथ्यता सम्मेलन ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२’ का अवसरमार उहाँले शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकको रूपमा मनाउने निर्णय गरेको बताउनुभयो ।

यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तथापि, कोभिड महाकारीका कारण भ्रमण वर्ष स्थागित भएको थियो । कोभिडपछि विस्तारै मुलुकको पर्यटन क्षेत्र गतिशील बन्दै गएको छ ।

पर्यटन क्षेत्रको चाडो पुनरुत्थान गर्ने लक्ष्यका साथ सरकारले भ्रमण दशक घोषणा गरेको हो । कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकको रुपमा मनाएर विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्य गरेको छ ।

पर्यटन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन पुनरुत्थान कार्ययोजनामा भ्रमण दशक मनाउने उल्लेख छ । तथापि, भ्रमण दशकमा के कस्ता कार्यक्रम गरिने भन्ने अहिले खुलाइएको छैन । कोभिडपूर्व अर्थात् सन् २०१८ र सन् २०१९ मा समान १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२१ मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डको विवरण छ ।

कोभिड–१९ पछि पर्यटन उत्थान कार्यक्रम सार्वजनिक गरेको मन्त्रालयले यसअघि नै भ्रमण दशक मनाउने उद्घोष गरिसकेको थियो । सोही योजना मुताविक सरकारले भ्रमण दशक मनाउने निर्णय गरेको हो ।

कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन टेवा पु¥याउने उद्देश्यले नेपालमा पहिलोपटक आतिथ्यता सम्मेलन ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२’ आयोजना गरिएको छ ।

होटल सङ्घ नेपाल (हान) ले आयोजना गरेको सम्मेलनको एक समारोहबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उद्घाटन गर्नुभएको हो । कोभिडपछिको नयाँ परिस्थितिमा ‘हस्पिटालिटी’ क्षेत्रको विकासका लागि आगामी कार्यदिशाबारे छलफल हुने सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, थाइल्याण्ड, मलेसियालगायत मुलुकका आतिथ्यता क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिको सहभागिता रहेको छ ।

नेपालका तर्फबाट राष्ट्रिय योजना आयोग, नेपाल पर्यटन बोर्डलगायत सरोकारवाला निकायका उच्च अधिकारी एवं प्रतिनिधिको सहभागिता रहेको हानले जनाएको छ । सो अवसरमा राज्यमन्त्री श्रेष्ठले नेपालका प्राकृतिक सम्पदा, सांस्कृतिक विविधिता एवं रैथाने खानाका परिकारलाई विश्व बजारमा प्रवद्र्धन गर्दै दीगो पर्यटन विकासका लागि रणनीतिक योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सम्भाव्य पर्यटनको बजारीकरण र ब्राण्डिङ गरी बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न सेवालाई गुणस्तरीय बनाइनुपर्ने खाँचो औँल्याउनुभयो । राज्यमन्त्री श्रेष्ठले पछिल्लो समय पर्यटकीय पूर्वाधार विकास भइरहेकाले समयसापेक्ष प्रभावकारी बजार रणनीति बनाइनुपर्ने बताउनुभयो । उहाँले नयाँ सोच र सेवा विविधिकरण गरेर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने भन्दै यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

हाल होटलमा ५० हजार श्यया रहेको र अहिलेको अवस्थामा ५० लाख पर्यटक धान्न सकिने हानले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले पर्यटन क्षेत्रको द्रुत गतिमा पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रले सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले हवाई पूर्वाधार, होटल पूर्वाधार आदिको विस्तारले ठूलो सङ्ख्यामा पर्यटक धान्न सकिने अवस्था रहेको भन्दै सेवालाई गुणस्तरीय र समयसापेक्ष बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

काठमाडाँै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले हस्पिटालिटी सम्मेलनको निष्कर्ष यस क्षेत्रका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा महानगर जुटेको भन्दै यसले बढीभन्दा बढी पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन उद्योगलाई चलायमान बनाउन सबै सरोकारवाला जुट्नुपर्ने बताउनुभयो ।

हानका अध्यक्ष सिर्जना राणाले सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर पर्यटन प्रवद्र्धनलाई गतिशील बनाइनुपर्नेमा जोड दिनुभयो । हानको आजै अर्धवार्षिक साधारणसभासमेत सम्पन्न भएको छ । उक्त अवसरमा हानबाट प्रकाशित गरिएको ‘नेपाल अ जर्नी फ्रम इस्ट टु वेस्ट’ स्मारिकाको विमोचन गरिएको छ ।

हानका प्रथम उपाध्यक्ष विनायक शाहले नेपाली रैथाने खानाको विश्वव्यापी प्रवद्र्धनका लागि सम्मेलन उपयोगी हुने बताउनुभयो । उहाँले नेपालकै पहिलो आतिथ्यता सम्मेलनमार्फत होटल क्षेत्रमा देखिएका, भोगिएका र भविष्यमा आउन सक्ने समस्याको समाधान खोज्न सहयोग पुग्ने बताउनुभयो । पर्यटन व्यवसायलाई चलायमान बनाउन नयाँ तरिकाको बजारीकरण गरिनुका साथै केही नयाँ अभ्यास प्रयोग गर्दै नेपाली होटल उद्योगको स्तरीयता कायम राख्न र समग्र पर्यटनको विकासका लागि सम्मेलनले भूमिका खेल्ने हानको विश्वास रहेको छ ।

आइतबारसम्म चल्ने सम्मेलनमा सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गर्ने स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा विभिन्न सत्रहरू सञ्चालन हुनेछन् । दक्षिण एशियाका उदियमान हस्पिटालिटी ब्राण्ड, डिजिटल बजारीकरण, होटल सञ्चालन र सेवाको गुणस्तर अभिवृद्धि, नीतिगत सवाल, दिगो ऊर्जा वचत र पर्यावरणमैत्री सेवा सञ्चालन आदिबारे विज्ञले प्रस्तुतीकरण गर्ने आयोजकले जनाएको छ ।

छलफलले होटल सञ्चालनमा नीतिगत उपाय सुझाउनुका साथै दीर्घकालीन रुपमा होटल सञ्चालनमाअवलम्वन गर्नुपर्ने विषयमा सुझाव नेपाल सरकारका सम्बन्धित निकायमा प्रस्तुत गरिने जनाइएको छ । सम्मेलनका अवसरमा होटलमा प्रयोग हुने वस्तु, सेवा तथा सामग्री उपलब्ध गराउने कम्पनी तथा व्यवसायीलाई समेटी बृहत् प्रदर्शनी गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.