जन सरोकार

भक्तपुरमा पिसीआर परीक्षणको ‘भिटिएम’ किटको अभाव

भक्तपुरमा कोभिड–१९ अर्थात कोरोना भाइरस सङ्क्रमण पत्ता लगाउन गरिने परीक्षणका लागि प्रयोग हुने ‘भिटिएम’ किटको चरम अभाव भएको छ । नाक तथा घाँटीबाट स्वाब सङ्कलन गर्न प्रयोग हुने पीसीआर किट ‘भिटिएम’ को अभावमा कोरोना परीक्षण रोकिने अबस्थामा पुगेको वाग्मती प्रदेशअन्तर्गत स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो ।

उहाँले विगतमा दैनिक २०० देखि ३०० सम्म शङ्कास्पद तथा कन्ट्याक टे«सिङमा आएका व्यक्तिको स्वाब सङ्कलन गरेर पीसीआर परीक्षण गर्दै आएकोमा किट अभाव हुँदै गएपछि अहिले नगन्य मात्रामा स्वाब सङ्कलन गर्ने गरेको बताउनुभयो ।

वाग्मती प्रदेश सरकारले परीक्षणका लागि ‘भिटिएम’ किट नपठाउँदा अब स्वाब सङ्कलन नै रोकिने अबस्थामा पुगेको उहाँको भनाइ छ । कार्यालयले ल्याएको किट केही भक्तपुर अस्पताललाई, केही जिल्लाका अन्य अस्पताललाई तथा केही सूर्यविनायक, भक्तपुर र चाँगुनारायण नगरपालिकालाई वितरण गरेको बताउदै उहाँले अब किट दिन सक्ने अवस्थामा नभएको प्रमुख मिजारले बताउनुभयो ।

प्रदेश सरकारसँग पटक पटक किट माग गरेको र नपठाएपछि यसको अभाव भएको बताइएको छ । पीसीआर परीक्षणका लागि स्वाब सङ्कलनमा समस्या आए कोरोना महामारी फैलिने जोेखिम बढ्ने उहाँको भनाइ छ ।

कोरोना हब अस्पतालको रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा पनि किट अभाव भएको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य कार्यालय भक्तपुरले कोरोना हब अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताललाई किटलगायत अन्य स्वास्थ्य सामग्री पर्याप्तमात्रामा नदिएको बताउँदै अस्पताल आफैले किट र अन्य स्वास्थ्य सामग्री खरिद गर्दै आएको छ भन्नुभयो ।

केही दिन अगाडि मात्रै २०० थान किट अस्पतालले खरिद गरेको उल्लेख गर्दै उहाँले यो सकिनेबित्तिकै अरु किट पनि खरिद गर्ने तयारी गरेको बताउनुभयो । अत्यावश्यक एवं शंकास्पद बिरामीको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन रोक्न नहुने बताउदै उहाँले विगतमा एकैदिन २५० जनासम्मको स्वाब सङ्कलन गरेकोमा अहिले भने सरकारले लक्षण नदेखिएकाको परीक्षण नगर्ने भनेपछि पीसीआर टेष्ट हटाएको जानकारी दिनुभयो ।

मध्यपुरथिमि नगरपालिकाले भने केही दिन अघि मात्रै रु ४० लाख मूल्य बराबरको ‘भिटिएम’ किट खरिद गरेको छ । नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आफ्नै ल्याबमा पीसीआर परीक्षण गर्दै आएकाले आवश्यक किट आफैले खरिद गरेको अस्पतालका अध्यक्ष एवं नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

सङ्घीय तथा प्रदेश सरकार एवं जनस्वास्थ्य कार्यालयले समेत मध्यपुर नगरका लागि ‘भिटिएम’ किट नदिएको बताउदै उहाँले विभिन्न स्वदेशी तथा विदेशी दाताले दिएको किट र नपुग किट नगरपालिका आफैले खरिद गर्दै आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.