जन सरोकार

अर्धचेत मुकेश : पिरोलिँदै बित्छन् कायस्थ परिवारको दशैं

नेपालीको महानपर्व दशैं सुरु भएको छ । चाडपर्वले उल्लासमय बनिरहेका बेला वरपर, छरछिमेकी सबै हर्षित देखिएका छन् । बितेका १७ वर्षमा कस्ता चाडपर्व कतिबिते शय्यामा सुतिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का ‘ज्यूँदो शहीद’ मुकेश कायस्थलाई थाहा छैन ।

अर्धचेत अवस्थाका मुकेश चाडपर्वमा घर नजिकैको मावलीघर नटेकेको पनि उत्तिकै वर्ष भइसक्यो । बाबाआमा भनेर बोलाउला भन्ने आसमा मुकेशको स्याहारसुसारमा दिनरात नभनेको कायस्थ परिवारमा अझै आशा मरेको छैन ।

दोस्रो जनआन्दोलनमा बायाँ कञ्चटमा गोली लागेर गम्भीर घाइते छोरा मुकेशको स्वास्थ्य अवस्था राम्रो होला भनेर कायस्थ परिवारले दिन गन्दै बसेको पनि १७ वर्षभन्दा धेरै भइसक्यो । मुकेशकी आमा मीरा भन्नुहुन्छ, “छोरालाई ठीक होला भन्ने आशा अझै मारेका छैनौँ ।” तर मुकेश चार वर्षदेखि दुब्लाउँदै गएको, पहिले जस्तो हाँस्न र सकेको बोल्न छाड्दा उनीहरूलाई ‘पीरमाथि पीर’ थपिएको छ ।

छोराको विषयमा जो कोहीसँग कुराकानी गर्दा मुकेशका बाबुआमा निकैबेर भक्कानिनुहुन्छ । “दसँै–तिहारमा छिमेकका घर खुसियालीकासाथ झिलिमिली गर्दै, परिवार र आफन्तसँग खुसियाली बाँडेको देख्दा मन निकै पोल्छ, कतै मेरो छोरोले आमा भन्देओस्”, आमा मीराले दुःखेसो पोख्नुभयो, “दसँैं नजिकिएको बेला कहिलेकाहीँ त मुकेशले घरको छतमा चङ्गा उडाउँदै होला भन्ने झस्को पस्छ ।”

मुकेश परिवारको एक्ला छोरा हुनुहुन्छ । “परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुनेगरी घाइते भएपछि हाम्रो हालत के भइरहेको होला, आफैँ मनन् गर्नस् त ?” बाबु कृष्णमान प्रतिप्रश्न गर्नुहुन्छ ।

कसैले उहाँको नाम लिएर बोलाउँदा ‘हँ हँ, माँ’ भनेर बोल्नसक्ने मुकेश हाल बोल्न सक्नुभएको छैन । परिवारका अनुसार हाल मुकेश अहिले ३२ वर्षको हुनुभयो । लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकोमा हाल पेटमा पाइपद्वारा खानेकुरा दिइएको छ । “मुकेशले मुखबाट नखाएको पनि चार वर्ष भइसक्यो”, बाबु कृष्णमानले भन्नुभयो । मुकेश हाल दायाँ हात र दुवै गोडा थोरै मात्रामा चलाउन सक्नुहुन्छ ।

लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते १५ वर्षीय मुकेश बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा प्रहरीको गोली लागी गम्भीर घाइते हुनुभएको थियो । त्यस दिनदखि उहाँको होस् अझै खुल्न सकेको छैन भने बाँया हात राम्रोसँग चल्दैन ।

गोलीको घाउ निको भएपनि मुकेशको टाउकोमा गहिरो खाल्डो छ । सत्र वर्षदेखि अर्धचेत अवस्थाका छोरा मुकेशलाई सुतिरहेको हेरेर उहाँकी आमा मीरा भविष्यबारे सधैँ चिन्तित हुनु त दैनिकी नै भयो ।

अझै पनि छोराले नयाँ लुगामा सजिएर आमाबाबुसँग हाँसखेल गरेको देख्न पाउने, नपाउनेमा मीरा सशङ्कित हुनुहुन्छ । “दसँै–तिहारमा मुकेशलाई ओछ्यानमै टीका लगाइदिनुपर्दाको क्षण कम्ती पीडादायक हुन्न”,मीराले भन्नुभयो ।

उहाँका अनुसार आमा वा बाबुमध्ये कोहीकेही समय नजिक नभए मुकेश रुने गर्नुहुन्छ । कायस्थ दम्पती मुकेशलाई हँसाउन खोज्छन् तर मुकेश बाबुआमाले खोजेको हाँसो दिन सक्नुहुन्न । “हातगोडा नचलेपनि कुरा गर्छ कि भन्दै बेलाबेलामा बोलाउँछु, मुकेश हाँस्न खोज्छ अनि हँ मात्रै गर्छ”, कृष्णमान पनि आँसु झार्दै पीडा पोख्नुहुन्छ । आन्दोलनताका मुकेश बनेपाकै विद्यासागर स्कुलको कक्षा आठमा पढ्दै हुनुहुन्थ्यो ।

मुकेशको चेत खुल्नसके सहयोग मागेर भएपनि उपचारका लागि अझै कतै लैजान सकिन्छ की भन्ने आशामा बसेको छ कायस्थ परिवार । दलका नेता तथा सरकारी उच्च तहका व्यक्तिले मुकेशलाई भेट्न आउँदा आश्वासन पनि नदिएका होइनन् तर, देश–विदेशका चिकित्सकले थप उपचार गर्न नसकिने सल्लाह दिएको सम्झँदै छोराको भविष्य चकनाचुर भएकोमा मर्माहत छ परिवार । हाल मेडिसिटी अस्पतालका चिकित्सक गोपाल रमणले मुकेशको स्वास्थ्यबारे निगरानी गरिरहनुभएको परिवारले जनाएको छ । टाउकोमा जम्ने पानी निस्कने पाइप समयसमयमा बन्द हुने हुँदा समस्या भइरहेको चिकित्सकलाई उद्धृत गर्दै मीराले भन्नुभयो ।

आन्दोलनका घाइते र शहीदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ । कृष्णमानले भन्नुभयो, “आन्दोलनका घाइते र शहीदलाई सरकारले कहिल्यै भुल्नुहुन्न ।” मुकेशको नाममा बनेपामा पुनःस्थापना केन्द्र स्थापना गर्नुपर्ने उहाँहरूले सरकारसँग माग गर्दै आउनुभएको छ ।

तत्कालीन सरकारले मुकेशको उपचारका लागि रु १६ लाख सहयोग तथा बैंकको रु सात लाख ऋण मिनाहा गरिदिएको थियो । सरकारद्वारा जीवन–निर्वाह भत्तास्वरूप मासिक रु १६ हजार उपलब्ध हुँदै आएको छ भने एक स्वास्थ्यकर्मीलाई हेरचाहका लागि खटाइएको छ । मुकेशको नाममा बनेपामा प्रतिष्ठान पनि स्थापना गरिएको छ ।

दोस्रो जनआन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका चार युवाले ज्यान गुमाएका थिए । आन्दोलनमा नालाका भीमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भीमखोरीका शिवहरि कुँवर बनेपामा र नागे्र गगर्चेका सुनिलकुमार लामा काठमाडौँस्थित जोरपाटीमा मारिनुभएको थियो । उक्त आन्दोलनमा जिल्लाका ४० जना घाइते भएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.