जल/वातावरण

गुल्मीमा भेटिए विश्वमै दुर्लभ प्रजातिका चराहरु

विश्वमै पाइने दुर्लभ चराहरुमध्ये छ प्रजातिका चराहरु गुल्मीमा भेटिएका छन् । गुल्मीको रेसुङ्गा वन संरक्षण क्षेत्र र मदाने वन संरक्षण क्षेत्रमा दुर्लभ चराहरु फेला परेको नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिनुभएको छ ।

दुर्लभ प्रजातिका चराहरुमध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्ध, सोतो गिद्ध, सुन गिद्ध र गोमायो महाचिल रहेका छन् । रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने काँडे भ्याकुरसमेत रहेको छ ।

नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा ३५ प्रतिशत विभिन्न प्रजातिका चराहरु फेला परेका हुन् । रेसुङ्गा वन क्षेत्रमा पछिल्लो अध्ययनअनुसार दुई सय ५३ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा दुई सय ६४ प्रजातिका चराहरु फेला परेका छन् ।

जिल्लाका दुई वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो अध्ययनअनुसार गुल्मीमा तीन सय पाँच प्रजातिका चराहरु भेटिएका हुन् । यो सङ्ख्या नेपालमा पाइने चराहरु प्रजातिको सङ्ख्याअनुसार ३५ प्रतिशत रहेको छ ।

रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्रमा दुर्लभ प्रजातिका चराहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको परियोजना अधिकृत पन्थीले बताउनुभयो । रेसुङ्गा वन क्षेत्रमा गरिएको चरा सर्वेक्षणअनुसार विश्वमै दुर्लभ प्रजातिका चरामध्ये रेसुङ्गामा गोमायु महाचिल, सुन गिद्ध, सेतो गिद्ध, डङ्गर गिद्ध, कस्मेरी मट्टा र काँडे भ्याकुरलगायतका दुर्लभ प्रजातिका चराहरु रहेको बताइएको छ ।

विश्वमै नेपालमा मात्र पाइने काँडे भ्याकुर रेसुङ्गा वन क्षेत्रमा पनि पाइने भएका कारण यसको संरक्षणका लागि अति सङ्कटापूर्ण अवस्थामा रहेका चराहरुको बासस्थानलाई जोगाइराख्न स्थानीय जनप्रतिनिधिहरुको भूमिका थप महत्वपूर्ण रहने डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले बताउनुभयो ।

नेपाल पक्षी संरक्षण सङ्घ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रमले गुल्मीका दुर्लभ चराहरुको खोजी गरी वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई वन जङ्गलको संरक्षण र संवद्र्धनसँगै जीविकोपार्जन कार्यक्रमसमेत लागू भएको छ ।

संस्थाले गत पाँच वर्षदेखि गुल्मीको रेसुङ्गा, बलिथुम, पराल्मी र जुभुङमा सम्भावित महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रमा काम गर्दै आइरहेको छ ।

नेपाल पक्षी संरक्षण सङ्घले जिल्लामा डिभिजन वन कार्यालयसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरेको हो । गुल्मीलाई भविष्यमा चरा पर्यटकका रूपमा विकास गर्नका लागि पनि वन, जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा स्थानीय तहबाट आवश्यक सहयोग गर्ने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

दुर्लभ प्रजातिका चरा संरक्षणका लागि गुल्मीमा मुख्य चुनौती र समस्याका रूपमा बासस्थान, खानेपानीको अभाव, वन–डढेलो र वन्यजन्तु एवं चराचुरुङ्गीहरुको अवैध सिकार जस्ता कारणहरु रहेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.