राजनीति

भदौ २४ गते सेनाले बल प्रयोग नगर्नुको कारण यस्तो रहेछ

गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा सरकारी दमनपछि उर्लिएको आक्रोशले २४ गते ठूलो विध्वंश मच्चायो । देशका सामरिक महत्वका भवनहरुमा आगजनी भएपछि पनि सेना मुकदर्शक बनेर बसेको भन्दै आलोचना हुने गरेको छ ।

त्यो परिस्थितिमा सेनाले शक्ति प्रयोग नगरेर राष्ट्रघात गरेकोसम्मका टिप्पणीहरु चर्चित विश्लेषक र विभिन्न दलका नेताहरुबाट भैरहँदा प्रधान सेनापति अशोकराज सिग्दलले यसबारेमा आफ्नो धारणा मातहतलाई गराउनुभएको छ ।

असोज १० गते बिहिबार नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखको भौतिक उपस्थिति र पृतनापतिको ‘भर्चुअल’ सहभागितामा पृतनापति समन्वयात्मक बैठक २०८२ मा प्रधानसेनापति सिग्दलले भदौ २४ गतेदेखि यताका घटनाक्रमको विस्तार लगाउनुभएको हो ।

नेपाली सेनाको वार्षिक कार्यतालिका अनुसार बिहीबार भएको उक्त बैठकमा प्रधानसेनापति सिग्देलले सिंहदरबारलगायत देशका महत्त्वपूर्ण सम्पदाहरू जल्नबाट रोक्न नसकेको भनी आलोचना भइरहे पनि थप नेपाली युवा नमारिऊन् र देश विदेशी शक्तिको खेलमैदान नबनोस् भनी सेनालाई बाहिर ननिकालिएको बताउनुभएको हो ।

प्रधान सेनापति सिग्देलले भदौ २४ गते बेलुका सेनाले सुरक्षा नियन्त्रण आफ्नो हातमा लिँदै कर्फ्यू आदेश दिएपछि परिस्थिति बिस्तारै नियन्त्रणमा आएको बताउनुभएको थियो ।

बिहीबार पृतनापतिहरूको बैठक गर्नुभएका प्रधानसेनापति सिग्देलले त्यसअघि नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरूको बैठक बोलाएर भदौ २३ र २४ गतेको परिस्थितिको ब्रिफिङ गर्नुभएको थियो ।

तत्कालीन प्रधानमन्त्रीको दम्भ

सेना निकट स्रोतका अनुसार भदौ २३ मा १९ जना प्रदर्शनकारी मारिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न सिग्देलले चारपटकसम्म आग्रह गरे पनि अस्वीकार गर्दै ‘सेनाले मलाई सिकाउने’ भन्दै प्रधानसेनापतिसँग भड्किनुभएको थियो ।

विभिन्न संचार माध्यमहरुमा सार्वजनिक भएका समाचार अनुसार भदौ २३ गते नै प्रधानसेनापति सिग्देलले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूसँग तत्काल सल्लाह गरेर भदौ २४ गते आन्दोलन हिंसात्मक हुनसक्ने भएकाले गोली नचलाउन र ब्यारेकको सुरक्षा गर्ने निर्णय गर्नुभएको थियो ।

भदौ २४ गते बिहानैदेखि स्थिति उग्र बन्न थालेपछि प्रधानसेनापति सिग्देल फेरि बालुवाटार गएर परिस्थिति झनै बिग्रँदै गएकाले तत्काल राजीनामा दिन तत्कालीन प्रधानमन्त्री ओलीसँग पुनः आग्रह गर्नुभएको थियो ।

सुरक्षाप्रमुखहरू र पृतनापतिहरूसँग निरन्तर सम्पर्कमा रहनुभएका प्रधानसेनापतिले देशभरि नै स्थिति बिग्रँदै गएको सूचना पाइरहनुभएको थियो ।

बाहिरी परिस्थितिकाबारे कुनै जानकारी नपाउनुभएका ओलीले सेनाले आफूलाई गलत सूचना दिएको र बालुवाटारमा जंगी अड्डा हाबी हुन खोजेको रूपमा अथ्र्याएर प्रधान सेनापतिसंग कड्किनुभएको थियो ।

मंगलबार दिउँसो सेनाप्रमुख सिग्देल फेरि हेलिकप्टरमा बालुवाटार पुगेर राजीनामाका लागि प्रधानमन्त्री ओलीलाई सुझाए पनि ओलीले त्यो बेला पनि राजीनामा गर्न नमानेपछि सिग्देल त्यहाँबाट हेलिकप्टरमै शीतलनिवास जानुभएको थियो ।

शितल निवास पुगेर नेपाली सेनाको परमाधिपति समेत रहनुभएका राष्ट्रपति पौडेलसमक्ष सबै कुरा  बताउँदा पौडेल उल्टै कड्किएर ‘प्रजातन्त्र खत्तम गर्न खोजेको’ भन्दै सिग्देलमाथि खनिनुभएको थियो ।

यस्तो परिस्थितिकाबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालीन परराष्ट्रमन्त्री आरजु देउवामाथि बुढानीलकण्ठस्थित निवासमा आक्रमण भएपछि भने प्रधानमन्त्री ओलीले बडो गाह्रोसँग राजीनामा गर्न तयार हुनुभएको थियो ।

बालुवाटार वरिपरि पनि ठूलो संख्यामा मानिसहरू जम्मा भएपछि सेनापतिसँग बालुवाटारबाट सुरक्षाका लागि आग्रह भएपछि फेरि सेनाप्रमुख सिग्देल हेलिकप्टर चढेर बालुवाटार पुग्नुभएको थियो ।

प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिएपछि सेनाले ओली दम्पतीलाई हेलिकप्टरमा सेनाको ७ नम्बर बाहिनी मकवानपुरको चनबन लगेको थियो ।

अहिले पूर्व प्रधानमन्त्री ओली भक्तपुरको गुण्डुमा बस्नुभएको छ र उहाँ त्यही विभिन्न कार्यक्रममा व्यस्त हुँदे जेनजी आन्दोलनमा भएको गोलीकाण्ड, २४ गतेको हिंसाका विषयमा आफ्नो तर्फबाट धारणा राखिरहनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.