जन सरोकार

यसअघिको बलात्कारको घटना गुपचुप मिलाउँदा सम्झनाको बलात्कार र हत्या

बझाङमा १२ वर्षीया सम्झनाको कामीको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेका व्यक्तिले यसअघि पनि बलात्कार गरेको अनुसन्धानका क्रममा खुलेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रूपक खड्काका अनुसार बोहराले गत साउन २६ मा खिकालाकै १४ वर्षीया दलित बालिकालाई बलात्कार गरेको घटनालाई गाउँमै गुपचुप मिलाइएको खुलेको हो ।

गत बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा मस्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झनाको शव सिममाडौं मन्दिरमा फेला परेको थियो । सोही दिन प्रहरीले मस्टा–२ खिकालाका २० वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो ।साँझ ५ बजेतिर धनचडी बोहराको पानीघट्टमा अन्न पिस्न पुगेकी बालिकालाई जबर्जस्ती करणी गरेको बारे आइतबार मात्रै जाहेरी आएको डीएसपी खड्काले बताउनुभयो ।

५ कक्षामा पढ्ने ती बालिकाले तीन दिनपछि मात्रै घटनाबारे आफ्नी भाउजूलाई सुनाएकी थिइन् । त्यसपछि परिवारले पञ्चायती बसालेका थिए । पञ्चायतीमा ‘एकै गाउँका भाइबहिनी हुन्, यत्तिको घटना भइहाल्छ’ भन्दै पाँच सय जरिवाना गराएर घटना गाउँमै सामसुम पारेका थिए । दुवै पक्षबीच भएको मिलापत्रमा राजेन्द्रका बुवा र बालिकाका दाजुसहित ६ जनाले हस्ताक्षर गरेका छन् । मिलापत्रमा ‘गर्भ रहेमा युवकले जिम्मा लिने’ व्यहोरा उल्लेख छ ।

चरेस, मदिराजस्ता नशालु पदार्थ सेवन गर्ने, एक्लै हिँडडुल गर्न रुचाउने बोहरा यसअघि थुप्रै चोरी र लुटपाटका घटनामा संलग्न रहेको स्थानीय बताउँछन् । उनले महिला र बालिकाहरूले लगाएका गहना खोस्ने, घर तथा पसलमा चोरी गर्ने दर्जनौं घटना गाउँमै मिलाइएको खिकालाकै अर्जुन बोहराले बताए । ‘उसको समूहमा एक–दुई जना अरू पनि थिए,’ उनले भने, ‘मान्छे नभएको मौका पारेर सुटुक्क गाउँलेका घरमा पस्ने र चोर्ने गर्न थालेको तीन वर्षजति भयो ।’

सम्झनाको बलात्कार र हत्या भएको ठाउँ भन्दा ५ सय मिटर पर गत मंसिरमा ११ वर्षका बालक विमल कामी मृत भेटिएका थिए । शव फेला पर्दा उनको एउटा कानको मुन्द्रा थिएन । त्यसबेला गाउँमै रहेका राजेन्द्र बोहरा उक्त घटनालगत्तै भारत गए । फर्केर आएपछि गाउँका बालबालिकालाई तर्साउन थाले ।

उनीहरूका साथमा हुने पैसा र सामान खोस्दै ‘विमललाई मैले मारेको हुँ, तिमीहरूले पैसा दिएनौ भने मारिदिन्छु’ भन्ने गरेको विमलका बाजे टसी कामी बताउँछन् । उक्त घटनाबारे भने प्रहरीलाई जानकारी नआएको डीएसपी खड्काले बताए । ‘एक जना बच्चा रूखबाट लडेर ढुंगामा ठोक्किएर मृत्यु भएको भन्नेसम्म हामीले थाहा पायौं,’ उनले भने ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.