राजनीति

रवीन्द्र मिश्र राप्रपा प्रवेश, काठमाडौं क्षेत्र नं. १ बाट चुनाव लड्ने तयारी

वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा लाग्नुभएका विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचन अघि विचारभन्दा माथी देशको अवधारणा अघि सार्नुभएका मिश्रले साझा पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिंदै राप्रपा प्रवेश गर्नुभएको हो ।

बुधबार काठमाडौंमा एक कार्यक्रमबीच मिश्र राप्रपा प्रवेश गर्नुभएको हो । मिश्रसंगै उहाँसंग रहेकाहरु पनि राप्रपा प्रवेश गरेका छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश कार्यक्रममा ब्राह्मण बटुकहरुबाट स्वस्तिवाचन र शङ्खघोष गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमै उम्मेदवारी दिने गरी तयारी गरिएको जानकारी गराउनुभयो ।

“देशमा भ्रष्टाचारका घटना बढेको छ, सबै राजनीतिक दलका नेताको सम्पत्ति छानबिन गरौँ, हाम्रा पार्टीका नेताबाट छानबिनको सुरुआत गरौँ, निर्वाचन पद्धति पनि भ्रष्टाचारको कारण बनेकाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्ण समानुपातिक पद्धतिबाट सांसद निर्वाचित हुने व्यवस्था गरौँ, संवैधानिक राजा राखौँ”, उहाँले भन्नुभयो ।

राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने उल्लेख गर्नुहुँदै नेता लिङ्देनले सार्वजनिक शिक्षा र स्वास्थ्यलाई निःशुल्क एवं गुणस्तरीय बनाउन पार्टी लागिपर्ने बताउनुभयो । राजनीतिक दलका सदस्यरहित न्याय परिषद्को अवधारणलाई पनि राप्रपाले अघि बढाएको उहाँले सुनाउनुभयो ।

वरिष्ठ उपाध्यक्ष मिश्रले देशका लागि काम नगर्नेले राजनीति छोड्नुपर्ने बताउनुहुँदै शान्ति, स्थिरता र स्वाधीनताका लागि आफूले राप्रपा रोजेको बताउनुभयो । उहाँले भन्नुभयो, “वीपीको राष्ट्रिय एकता तथा मेलमिलापको नीति राप्रपाले बोकेको छ, वीपीको मेलमिलाप नीति आजको नेपालमा पनि उत्तिकै सान्दर्भिक छ, यी विचारलाई लिएर राप्रपालाई अझै सूचना प्रविधियुक्त दलका रुपमा हामी स्थापित गर्नेछौँ ।”

सार्वजनिक शिक्षा र स्वास्थ्यलाई निःशुल्क एवं गुणस्तरीय बनाउने, सामाजिक सुरक्षा कायम गर्ने तथा ६० प्रतिशत नेपालीले अपनाएको कृषि पेसालाई आधुनिकीकरण गर्ने मुद्दालाई दलले घोषणा पत्रमार्फत लिएर चुनावमा जान लागेको नेता मिश्रले सुनाउनुभयो । धर्मनिरपेक्षता धर्मान्तरणको माध्यम बनेकाले हिन्दू बौद्ध राष्ट्रको पक्षमा राप्रपा रहेको पनि उहाँले बताउनुभयो ।

राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर राणाले आफू मन्त्री भएका बेला गरिएको महाकाली सन्धिको कागजात दराजमा थन्क्याएकाले विकासका काममा अवरोध भएको बताउनुहुँदै कार्यान्वयनमा लाग्ने गरी अब मत पाउनुपर्ने बताउनुभयो । पञ्चेश्वर र पश्चिम सेती आयोजना सम्पन्न गरी आयआर्जनमा उपयोग गरिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

कार्यक्रममा बागमती प्रदेससभाका पूर्वसदस्य शोभा शाक्य, राप्रपा नेता बुद्धिमान तामाङलगायतले देशमा देखिएका विकृति, विसङ्गतिबाट मुक्तिका लागि आगामी निर्वाचनमा दल एकमात्र विकल्प बन्ने बताउनुभयो ।

मिश्र काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा पनि उहाँ सोही क्षेत्रबाट उम्मेदवार हुनुभएको थियो । उहाँ नेपाली कांग्रेसका प्रकाशमान सिंहसंग झिनो मतले पराजित हुनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.