कर्पोरेट/पर्यटन

विश्वविख्यात स्की आरोही नेल्सन मनास्लु हिमालमा मृत फेला

उत्तरी गोरखाको मनास्लु हिमालमा गत सोमबारदेखि बेपत्ता भएकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत अवस्थामा फेला परेकी छिन् । अमेरिकी नागरिक नेल्सन आज बिहान मृत भेटिएकी हुन् ।

नेल्सनको शव उद्धार गरी सामागाउँ ल्याएर मुचुल्का उठाएर हेलिकप्टरमार्फत शव परीक्षणका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

“आवश्यक प्रक्रिया पूरा गरी सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ टिचिङ अस्पतालमा शव पठाएका छौँ”, उहाँले भन्नुभयो ।

काठमाडौँको साङ्ग्रिला नेपाल ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेका अनुसार उहाँसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्कन सफल हुनुभएको छ ।

हिलारी मनाङतर्फ पर्ने भीमथाङमा हराउनु भएको थियो । नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होत्से हिमालको चुचुरोबाट अवरोहण गर्नुभएको थियो ।

आठ हजार मिटरमाथिको दुई हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उहाँको नाममा रहेको छ । सन् २००५ मा उहाँले चोयु हिमालको चुचुरोबाट स्की गर्नु भएको थियो ।

अमेरिकाको सियाटलमा जन्मिनुभएकी हिलारीलाई सन् २०१८ मा नेशनल जोग्राफिले साहसी खेलाडीको सूचीमा राखेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.