पूर्व प्रधान न्यायाधीशलाई मध्यरातमा पक्राउ गर्नु राज्यआतंकको चरम नमूना
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएर केही समयपछि छाडिएको घटनालाई लिएर संसद्मा प्रश्न उठेको छ।
प्रहरीले सुरक्षा चुनौतीका कारण उहाँलाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा राखिएको र पछि घरमै सुरक्षा प्रदान गर्ने गरी पठाइएको जनाएको छ।
तर, जबरालाई पक्राउ गरिएको हो वा सुरक्षाका लागि निगरानीमा राखिएको भन्ने विषयमा भने गम्भीर प्रश्न उठेको छ। उपलब्ध विवरणअनुसार उहाँलाई पक्राउ गर्दा अदालतको पक्राउ पुर्जी नलिइएको बताइएको छ।
सो घटनालाई लिएर सोमबार प्रतिनिधिसभामा विपक्षी सांसदहरूले गम्भीर प्रश्न उठाउँदै सुरक्षा चुनौति हो भने त्यो कोबाट हो सार्वजनिक गर्न माग गर्नुभएको छ।
नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले बिना पक्राउ पुर्जी र बिना कारण व्यक्तिलाई नियन्त्रणमा लिनु कानुनी राज्यको मान्यताविपरीत भएको बताउनुभयो।
उहाँले सुरक्षा चुनौती भए चुनौती दिने व्यक्तिमाथि कारबाही गर्नुपर्नेमा सम्बन्धित व्यक्तिलाई नै नियन्त्रणमा लिइनुको औचित्यमाथि प्रश्न उठाउनुभयो।
एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले पनि जबरालाई पक्राउ गर्ने र छाड्ने प्रक्रियालाई लिएर आपत्ति जनाउँदै यसबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताउनुभयो।
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले समेत जबराको घटनालाई केही दिनअघि राजनीतिक विश्लेषक भरत दाहालको पक्राउसँग जोडेर सरकारसँग जवाफ माग्नुभयो।
दाहालको पक्राउका सम्बन्धमा सर्वोच्च अदालतले सरकारसँग लिखित कारण माग गरेको थियो भने पछि उहाँलाई थुनामुक्त गरी तारिखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ।
सांसद राईले सरकारको पछिल्लो कार्यशैलीबारे प्रधानमन्त्री स्वयंले संसद्मा जवाफ दिनुपर्ने माग गर्नुभयो। उहाँले “घरि भरत दाहाल पक्राउ, गर्यो छोड्यो, घरि चोलेन्द्रशमशेर पक्रियो, छोड्यो” भन्दै सरकारले कुन आधार र प्रक्रियाबाट यस्ता निर्णय गरिरहेको हो भन्ने प्रश्न उठाउनुभयो।
उहाँले विषय गम्भीर भए सरकारले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो। उता, जबरालाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरीले सुरक्षा चुनौती रहेको बताएको छ।
तर, सुरक्षा चुनौती कसबाट थियो, त्यसको प्रकृति के थियो र त्यसका आधारमा नियन्त्रणमा लिने कानुनी प्रक्रिया के अपनाइएको थियो भन्ने विषयमा स्पष्ट विवरण सार्वजनिक भइसकेको छैन।




प्रतिक्रिया राख्नुहोस्