जापानमा जारी २०औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनल चरण सुरु भएको छ। तर, प्रतियोगिताको निर्णायक चरणमा पुगेका दुई खेल खेलाडीको प्रदर्शनबिना नै टुंगिएका छन्।
सोमबार भारत र अफगानिस्तान तथा पाकिस्तान र हङकङबीचका दुवै क्वाटरफाइनल वर्षाका कारण एक बल पनि नखेली रद्द भए। आईसीसी टी–२० उच्च वरियतामा रहेका भारत र पाकिस्तानलाई विजेता मान्दै सेमिफाइनलमा प्रवेश गराइएको छ।
नियमअनुसार खेल हुन नसकेपछि उच्च वरियताको टोलीलाई अघि बढाउने व्यवस्था गरिएको हो। त्यसैले यो निर्णय नियमबाहिरको होइन। तर प्रश्न नियमको वैधानिकताभन्दा पनि यस्तो नियमले खेलको प्रतिस्पर्धात्मक मर्मलाई कति न्याय गर्छ भन्ने हो।
भारतले अफगानिस्तानसँग र पाकिस्तानले हङकङसँग मैदानमा प्रतिस्पर्धा गर्नुपर्ने थियो। दुवै खेलमा बलरले बल फ्याँक्न पाएनन्, ब्याटरले ब्याट चलाउन पाएनन् र फिल्डरले एउटा क्याचसमेत लिन पाएनन्। तर, दुई टोली सेमिफाइनल पुगिसकेका छन्।
क्रिकेटमा वरियता महत्त्वपूर्ण आधार हो। लामो समयको प्रदर्शनका आधारमा तयार हुने वरियताले टोलीको स्तर र निरन्तरतालाई प्रतिबिम्बित गर्छ। तर वरियता र एउटा विशेष खेलको नतिजा एउटै कुरा होइन। कुनै टोली उच्च वरियतामा हुनु र अर्को टोलीलाई सो दिनको खेलमा पराजित गर्नु फरक विषय हो।
यहीँबाट प्रश्न उठ्छ, यदि नकआउट चरणमा खेल नै नहुने अवस्थामा वरियताका आधारमा विजेता तय गर्ने हो भने खेलाडीको तत्कालीन प्रदर्शन, रणनीति, फर्म र मैदानमा देखाउने क्षमताको मूल्याङ्कन कहाँ हुन्छ?
अझ महत्वपूर्ण प्रश्न समान अवसरको हो। प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशजस्ता उच्च वरियताका टोली सिधै क्वाटरफाइनलमा प्रवेश गरेका छन् भने नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाले समूह चरण पार गरेर अन्तिम आठमा स्थान बनाएका हुन्।
नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गरेर क्वाटरफाइनलको यात्रा तय गरेको हो। जापानविरुद्धको खेल पनि वर्षाले प्रभावित भए पनि नेपालले राम्रो ब्याटिङ गर्दै १५ ओभरमा चार विकेट गुमाएर १४९ रन बनाएको थियो।
अब मंगलबार नेपालले श्रीलंकासँग क्वाटरफाइनल खेल्दैछ। निर्धारित खेल वर्षाका कारण हुन नसकेमा उच्च वरियताका कारण श्रीलंका अघि बढ्ने अवस्था बन्नेछ। त्यसैगरी बंगलादेश र मलेसियाबीचको क्वाटरफाइनल पनि वर्षाले रद्द भएमा बंगलादेश अघि बढ्नेछ।
श्रीलंका आईसीसी टी–२० वरियतामा नवौँ र नेपाल १४औँ स्थानमा छन् भने बंगलादेश आठौँ स्थानमा र मलेसिया त्योभन्दा तल रहेको अवस्थाले यस्तो नियमको स्पष्ट पार्छ।
यसको अर्थ नेपालले मैदानमा श्रीलंकालाई हराउन सके पनि खेल नहुँदा त्यो अवसर गुमाउन सक्छ। खेलाडीले महिनौँको तयारी गरेर प्रतियोगितामा पुग्छन्, समूह चरणमा प्रदर्शन गरेर क्वाटरफाइनलको टिकट काट्छन्, तर अन्तिम आठको खेलमा मैदानमै उत्रिन नपाई प्रतियोगिताबाट बाहिरिनुपर्ने अवस्था आउन सक्छ।
यस्तो अवस्था एसोसिएट राष्ट्रका लागि झन् संवेदनशील हुन्छ। नेपालजस्ता देशका लागि ठूला टोलीसँग खेल्नु नै अनुभव, आत्मविश्वास र अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने महत्वपूर्ण अवसर हो।
समूह चरणमा बलियो टोलीलाई हराएर नकआउट चरणसम्म पुगेपछि पनि वर्षा र वरियताको समीकरणका कारण प्रतिस्पर्धाको अवसर नै नपाउनु उनीहरूको विकास यात्राका दृष्टिले गम्भीर विषय बन्न सक्छ।
तर यहाँ अर्को पक्ष पनि छ, आयोजकले मौसमलाई नियन्त्रण गर्न सक्दैन। जापानमा प्रतियोगिता आयोजना गर्दा वर्षाको सम्भावना आयोजक र सम्बन्धित क्रिकेट निकायका लागि पूर्वानुमान गर्न सकिने विषय हो।
त्यसैले मौसम प्रतिकूल हुने सम्भावना रहेको अवस्थामा खेल तालिका, रिजर्भ डे र वैकल्पिक खेल समयबारे पर्याप्त तयारी गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।
विशेष गरी नकआउट चरणका खेलमा एउटा अतिरिक्त दिन वा वैकल्पिक समय उपलब्ध गराउन सकिने व्यवस्था भएको भए वर्षाका कारण खेल नै नखेली टोलीको यात्रा टुंग्याउनुपर्ने अवस्था कम गर्न सकिन्थ्यो। अहिले भने दुवै क्वाटरफाइनलमा त्यस्तो अवसर नपाउँदा भारत र पाकिस्तान मैदानमा नउत्रिए पनि सेमिफाइनल पुगेका छन्।
यसले क्रिकेटमा ‘ठूला टोलीलाई फाइदा हुने गरी नियम बनाइएको हो कि ?’ भन्ने प्रश्नसमेत जन्माउन सक्छ। यद्यपि, उपलब्ध नियम सबै टोलीमा समान रूपमा लागू हुन्छन् र अहिलेको निर्णय भारत वा पाकिस्तानलाई लक्षित गरेर बनाइएको हो भन्ने निष्कर्ष निकाल्न पर्याप्त आधार छैन।
समस्या भनेको नियम समान रूपमा लागू भए पनि त्यसको प्रभाव सबै टोलीमा समान नहुन सक्छ भन्ने हो। उच्च वरियता भएका टोलीले वर्षाका कारण खेल गुमाउँदा पनि अघि बढ्ने सुरक्षा पाउँछन्।
तुलनात्मक रूपमा कम वरियताका टोलीले भने त्यही परिस्थितिमा प्रतियोगिताबाट बाहिरिनुपर्ने जोखिम बेहोर्छन्। यसले मैदानमा आफ्नो क्षमता प्रमाणित गर्ने अवसरभन्दा अघिल्लो प्रदर्शनबाट बनेको वरियताको वजनलाई बढी प्रभावशाली बनाउँछ।
खेलकुदको सुन्दरता नै यही हो, कागजमा बलियो देखिएको टोलीले मैदानमा पनि त्यही प्रमाणित गर्नुपर्छ। वरियता एउटा सूचक हो, अन्तिम नतिजा होइन। त्यसैले नकआउट चरणमा सम्भव भएसम्म खेल गराएर मात्र विजेता निर्धारण गर्ने व्यवस्था अझ प्रतिस्पर्धात्मक देखिन सक्छ।
खेल नै हुन नसक्ने अवस्था आएपछि हरेकपटक वरियताका आधारमा विजेता घोषणा गर्ने हो भने व्यंग्य गर्दै भन्न सकिन्छ, पहिलो, दोस्रो, तेस्रो र चौथो वरियताका टोलीलाई क्रमशः स्वर्ण, रजत र कांस्य पदक दिएर प्रतियोगिता सकाए पनि भयो !
त्यसो गर्दा मैदान, खेलाडी, रणनीति र प्रतिस्पर्धाको आवश्यकता नै कहाँ रहन्छ ? यसको समाधान भने वरियतालाई पूर्ण रूपमा अस्वीकार गर्नु होइन। मौसमका कारण खेल हुन नसक्ने अवस्थामा रिजर्भ डे, वैकल्पिक समय, छोटो प्रारूपमा खेलाउने विकल्प वा अन्य प्रतिस्पर्धात्मक व्यवस्था बनाउन सकिन्छ।
विशेष गरी क्वाटरफाइनल, सेमिफाइनल र फाइनलजस्ता निर्णायक खेलमा खेलाडीलाई मैदानमै आफ्नो क्षमता प्रमाणित गर्ने अवसर दिनु प्रतियोगिताको विश्वसनीयताका लागि महत्वपूर्ण हुन्छ।
नेपालले मंगलबार श्रीलंकासँग खेल्दैछ। नेपालले अफगानिस्तानलाई हराउँदै क्वाटरफाइनलसम्म आइपुगेको छ। अब नेपाली खेलाडीका लागि यो केवल अर्को खेल होइन, आफूलाई स्थापित गर्ने ठूलो अवसर हो।
तर मौसमले साथ नदिँदा त्यो अवसर नै नपाउने अवस्था आयो भने त्यसको निराशा खेलाडी र समर्थकमा मात्र सीमित रहने छैन; एसियाली क्रिकेटमा समान प्रतिस्पर्धाको अवसरबारे पनि प्रश्न उठ्नेछ।
क्रिकेटलाई केही सीमित ठूला राष्ट्रको प्रभावभन्दा बाहिर विस्तार गर्ने हो भने एसोसिएट राष्ट्रलाई मैदानमा प्रतिस्पर्धा गर्ने अवसर पनि दिनुपर्छ। वरियता आवश्यक छ, तर वरियताले खेलको स्थान लिनु हुँदैन। खेलको विजेता सम्भव भएसम्म मैदानले तय गर्नुपर्छ, कागजले होइन।




प्रतिक्रिया राख्नुहोस्