जुवा खालमा प्रहरीको छापा, भाग्ने क्रममा एकको मृत्यु, एक घाइते
चाडपर्व नजिकिएसँगै जुवातास खेल्ने गतिविधि बढ्ने र त्यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी तथा गस्ती बढाउने गरेको छ । तर प्रहरी पुगेपछि भाग्ने क्रममा दुर्घटना हुने जोखिमसमेत रहने गरेको छ ।
विराटनगरमा सोमबार राति भएको घटनाले जुवातास नियन्त्रणसँगै त्यस क्रममा हुन सक्ने सुरक्षा जोखिमलाई पनि सतहमा ल्याएको छ । विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति तास खेलिरहेको अवस्थामा प्रहरीको गस्ती टोली पुगेपछि भागाभाग भएको थियो ।
सोमबार राति करिब साढे ११ बजे विराटनगर महानगरपालिका– ६ सरोचियास्थित लालु पासवानको घरमा तास खेल्दै गरेका बेला प्रहरीको गस्ती टोली पुगेपछि भागाभग भएको थियो ।
तास खेलिरहेको स्थानबाट ८ जना पक्राउ परेका थिए । प्रहरीको गस्ती टोली पुगेपछि तास खेलिरहेका आठ जनालाई हिरासतमा ल्याएर राखिएकोमा विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको मंगलबार बिहान मृत्यु भएको हो । दुई तलाबाट हामफालेका विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाको भने दाहिने खुट्टा भाँच्चिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार सोमबार पक्राउ परेपछि स्वास्थ्य जाँच गर्दा अवस्था सामान्य देखिएपछि सोमबार राति कोइरालासहित सात जनालाई हिरासतमा ल्याएर राखिएको मिश्रले जानकारी दिनुभयो ।
हिरासतमा रहेका अन्य सात जनासँगै रहेका कोइराला मंगलबार बिहान करिब साढे ७ बजे अचेत अवस्थामा भेटिएका थिए । पक्राउ परेका अन्यले उठाउन खोज्दा नउठेपछि प्रहरीले उपचारका लागि कोशी अस्पताल पठाएको थियो । कोशीमा उपचार हुन नसकेपछि उनलाई नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
नोबेल शिक्षण अस्पतालमा चिकित्सकले मंगलबार करिब ११ बजे मृत घोषित गरेका हुन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मिश्रका अनुसार उनको शव नोबेल अस्पतालमै छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेका कोइरालाको यसअघि नै टाउकाको शल्यक्रिया भएको थियो । उनको मृत्युको कारण भने तत्काल खुल्न बाँकी रहेको मिश्रले बताए ।
सोमबार राति प्रहरीको गस्ती टोलीलाई देखेपछि तास खेलिरहेका व्यक्तिहरूको भागभाग भएको थियो । सुरुमा प्रहरीलाई त्यहाँ तास खेलिरहेको जानकारी थिएन । प्रहरी पुगेपछि दुई तलामाथिबाट हामफालेका विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाको दाहिने खुट्टा भाँचिएको थियो । उनी एम्बुलेन्स चालक हुन् ।
पासवानको घरबाट प्रहरीले मृतक कोइराला र घाइते मुखियासँगै मोरङको धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामतलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट ४८ हजार ३९५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।
चाडपर्वमा बढ्छ जुवातासको गतिविधि
दशैँ, तिहारलगायतका चाडपर्वमा आफन्त तथा साथीभाइबीच जमघट बढ्ने भएकाले जुवातास खेल्ने गतिविधि पनि बढ्ने गरेको पाइन्छ । मनोरञ्जनका रूपमा तास खेल्नु र रकमको हारजित हुने गरी जुवा खेल्नु फरक विषय भए पनि ठूलो रकम संलग्न हुने जुवाले आर्थिक तथा पारिवारिक समस्या निम्त्याउन सक्छ ।
जुवातासकै क्रममा विवाद, झगडा र कुटपिटजस्ता घटना हुने जोखिम पनि रहन्छ । प्रहरीको निगरानीमा परेपछि भाग्ने क्रममा लड्ने, लुक्ने वा अग्लो स्थानबाट हामफाल्ने प्रयास गर्दा दुर्घटना हुन सक्ने जोखिम झन् बढ्छ ।
प्रहरीको निगरानी
चाडपर्वका बेला शान्ति–सुरक्षा कायम गर्न प्रहरीले नियमित गस्तीका साथै विशेष निगरानी बढाउने गरेको छ । जुवातास, चोरी, लुटपाट तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि सूचनाका आधारमा निगरानी र कारबाही गर्ने गरिन्छ ।
जुवातास नियन्त्रण गर्नु प्रहरीको नियमित जिम्मेवारी भए पनि कारबाहीका क्रममा पक्राउ पर्ने व्यक्तिको सुरक्षा र स्वास्थ्य अवस्थालाई पनि संवेदनशील रूपमा हेर्नुपर्ने हुन्छ । विशेषगरी भागाभाग हुने अवस्था सिर्जना हुँदा सम्भावित दुर्घटना रोक्न आवश्यक सावधानी अपनाउनु महत्त्वपूर्ण हुन्छ ।
जुवाबाट हुन सक्ने आर्थिक, पारिवारिक तथा सामाजिक असरबारे सचेतना बढाउनुका साथै प्रहरी, स्थानीय प्रशासन र समुदायबीच सहकार्य आवश्यक हुन्छ ।




प्रतिक्रिया राख्नुहोस्