खेल

यस्तो छ देशका विकासको गति : एउटा आयोजनाको प्रगति वर्षमा एक प्रतिशत

मुलुकको भौतिक पूर्वाधार निर्माणमा यति अनियमितता छ कि यसको कुनै लेखाजोखा नै छैन । समयमै वा समयभन्दा छिटो कुनै आयोजना सम्पन भयो भने त्यो आयोजना निर्माण गर्नेलाई पुरस्कृत र अभिनन्दन गर्नुपर्ने बाध्यता नेपाली जनताको छ । ५ वर्षमा सक्नुपर्ने आयोजना ३० वर्षसम्म समपन्न नहुने देशमा सडक, पुलको निर्माण त्यसै अलपत्र परिरहेका छन् ।

आयोजना निर्माण गर्न ठेक्का दिने, बजेट नदिने, बजेट पर्याप्त भए पनि ठेकेदारसंग कमिशन खाने अनि ढिलासुस्ती गरी गरी समय र लगानी बढाउने परिपाटीलाई विभिन्न किसिमले संरक्षण प्राप्त भैरहँदा कतिपय आयोजनाको प्रगति त वर्षमा एक प्रतिशत मात्रै हुने गरेको छ । यस्तै वर्षमा एक प्रतिशतले प्रगति गरेको आयोजना हो- भैरहवास्थित सिद्धार्थ रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने गरी थालनी भएको योजना ।

पश्चिम नेपालमा खेलकूद क्षेत्रका लागि गौरवको आयोजनाका रुपमा निर्माणाधीन रङ्गशाला प्यारापिटसहित ११ हजार दर्शक क्षमताको हुने योजना बजेट अभावमा ढिलाइ हुँदा अलपत्र परेको छ । क्रिकेटका लागि अत्यन्तै महत्वपूर्ण मैदानका रुपमा विकास र स्तरोन्नति गर्ने उद्देश्यले निर्माण थालनी गरिएको उक्त आयोजनाको काम नौ वर्षअघि शुरु भए तापनि पूरा हुन सकेको छैन ।

बजेटको पर्याप्त व्यवस्थापन नहुँदा कामले गति लिन नसकेको रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष प्रशान्तविक्रम मल्ल बताउनुहुन्छ । उहांँले भन्नुभयो, ‘काठमाडौंँ बाहिर धेरै बजेट पाउने र राम्रो प्रगति हासिल गरेको सिद्धार्थ रङ्गशाला हो तर छिटो सम्पन्न गर्न आवश्यक बजेट भने उपलब्ध छैन । यसैले अब एकैपल्ट टेन्डर गरी बहुवर्षीय योजनामा लगेर यसको निर्माण सक्नुपर्छ ।’

क्रिकेट मैदानमा अहिलेसम्म रु नौ करोड ५९ लाख खर्च भइसकेको छ । विसं २०६८ देखि शुुरु गरिएको मैदान स्तरोन्नतिकोे काम भने कछुवा गतिमा छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को न्यूनतम मापदण्डअनुरुपको मैदान बनाउन कम्तीमा रु ५० करोड लाग्ने जनाइएको छ । बजेट भने निकै कम उपलब्ध गराइँदै आएको छ । विसं २०७५ मा क्यानले गुरुयोजना बनाएको हो । गुरुयोजना आएपछि काममा विगतमा भन्दा गति लिएको छ । हरेक वर्ष बजेट थोरै आउने र ससाना काम गर्दा निर्माणमा ढिलाइ भएको अध्यक्ष मल्लले बताउनुभयो ।

छ बिघामा निर्माणाधीन रङ्गशालाको स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा रु एक करोड बजेट छुट्याइएको छ । उहाँले भन्नुभयो, ‘एक करोड बजेट छ । काम धेरै छन् । के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’

रङ्गशालामा विसं २०६८ मा रु एक करोड १९ लाख खर्च गरेर प्याभेलियन भवन बनाइएको थियो । त्यसपछि मैदान सम्याउन तीन वर्ष लगाइयो । अहिलेसम्म प्याभेलियन भवनसहित रु ८९ लाखमा मैदान सम्याउने काम, रु ४० लाखमा तारजाली, रु ९० लाखमा ढल व्यवस्थापन, रु एक करोडमा पिच, प्याभेलियन अगाडि टायल बिच्छ्याउने, गार्ड रुम, स्टोर र भवन मर्मत गरिएको छ । आव २०७६÷०७७ मा आएको रु चार करोड बजेटमा काठमाडौंँको कुमार गिरी कन्ट्रक्सनले रु तीन करोडमा ठेक्का सम्झौता गरी हल, खेलाडी बस्ने ठाउँ, शौचालयसहितको तीनतले भिआइपी प्यारापिट निर्माण गरिरहेको छ । यही असोज मसान्तसम्म निर्माण सक्ने भनिए पनि कोरोना महामारीका कारण उक्त प्यारापिट निर्माण अझै चारपाँच महिना लम्बिने साइट इञ्जिनीयर योगानन्द चौधरीले बताउनुभयो ।

वर्षेनी आवश्यकताभन्दा निकै कम बजेट आउने र ठेकेदार फेरिरहँदा सुस्त गतिमा बनिरहेको क्रिकेट मैदानको काममा आव २०७५÷०७६ मा आएको रु तीन करोड ५० लाख बजेट समयमा बोलपत्र हुन नसक्दा खर्च नै हुन नसकी फिर्ता भएको थियो । मैदानको रुपन्देही क्रिकेट सङ्घले संरक्षण र सम्बद्र्धन गर्दै आए पनि सरकार र जिल्ला खेलकूद विकास समितिबाट संरक्षणमा समेत खासै ध्यान दिइएको छैन ।

कामको प्रगति विश्लेषण गर्दा नौदश वर्षयता रङ्गशालाको करीब १० प्रतिशत काम मात्रै भएको देखिएको छ । यसरी काममा ढिलाइ हुनाको मुख्य कारण पर्याप्त बजेट नहुनु नै हो ।

रङ्गशालाको उपलब्धि

सिद्धार्थ रङ्गशालामै अभ्यास खेल खेलेर देशकै उत्कृष्ट क्रिकेटर बनेका कुशल मल्ल, सुशान्त भारी, वसन्त रेग्मी, कुशल भुर्तेल हाल राष्ट्रिय टोलीमा छन् । सिद्धार्थकै उत्पादन राजु खड्का, वसन्त शाही, सञ्जय गुरुङ, शक्ति गौचन, सञ्जीव जोशी, अमृत भट्टराई, सागर पुन, शङ्कर राना, भरत शर्मालगायत ९० भन्दा बढी खेलाडीले अहिलेसम्म नेपाली टोलीबाट अन्तरराष्ट्रिय खेलमा प्रतिस्पर्धा गरी उपाधिसमेत प्राप्त गरेका छन् ।

दिल्लीमा विसं २०४० मा आयोजित प्रथम क्लबस्तरीय खेलमा सहभागी हुने नेपालका पहिलो खेलाडी अनुप थापा पनि सिद्धार्थ रङ्गशालाकै उत्पादन हुन् । उक्त खेल नै नेपाली क्रिकेट इतिहासमा नेपाली खेलाडीले भाग लिएको पहिलो हो ।

पहिलो एसिसी ट्रफीमा सहभागी खेलाडी शाही (हाल क्रिकेट राष्ट्रिय टोलीका सहायक प्रशिक्षक), जगत टमटा (हाल क्रिकेट राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक), गुरुङ( हाल क्रिकेट राष्ट्रिय टोलीका अम्पायर), खड्का (हाल क्रिकेट राष्ट्रिय टोलीका प्रशिक्षक) पनि सिद्धार्थ रङ्गशालाकै उत्पादन हुन् । यसरी नेपाली क्रिकेट खेलको खम्बाका रुपमा रहेका खेलाडी, प्रशिक्षक र अम्पायर उत्पादन गरेर इतिहास रचेको सिद्धार्थ रङ्गशालाको विकास र स्तरोन्नतिका लागि सरकार र राष्ट्रिय खेलकूद परिषद्को पर्याप्त ध्यान पुग्न सकेको छैन ।

समितिको हस्तक्षेप, क्रिकेट सङ्घ तनावमा

विगतमा खुला रङ्गशालाका रुपमा रहेको सिद्धार्थ रङ्गशाला क्रिकेट स्टेडियम बनेपछि संरक्षण हँुदै गएको हो । विगतमा गाईभैँसीले भरिने उक्त रङ्गशालामा तारजाली लागेको छ र पीच तथा अन्य भवन बनेका छन् । पछिल्लो समय क्रिकेट स्टेडियमले रुप ग्रहण गरिरहँदा खेलकूद विकास समितिले एक्कासि हस्तक्षेप गर्न थालेको छ । विकास समितिले स्टेडियमलाई आफूअनुकूल प्रयोग गर्ने तथा कार्यालय राख्ने भनी हस्तक्षेप गर्न थालेपछि क्रिकेट खेलाडी तनावमा छन् ।

क्यानका पूर्व केन्द्रीय सदस्य प्रेमकुमार सेञ्चुरी सिद्धार्थ रङ्गशाला कुनै पनि बहानामा अन्य खेलकूदको प्रयोजनार्थ दिन नहुने बताउनुहुन्छ । उहांँ भन्नुहुन्छ, ‘सरकारले जे जति लगानी गरेको छ, क्रिकेटकै लागि गरेको हो । यसैले जुन उद्देश्यका लागि लगानी गरेर निर्माण भइरहेको छ, त्यही खेल प्रयोजनमा यसको प्रयोग गरिनुपर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.