नेपाली वैज्ञानिक डा. चन्दलाई साढे चार अर्ब रुपियाँको अनुदान
संयुक्त राज्य अमेरिकाले नेपाली वैज्ञानिक डा. गणेश चन्दलाई ३२ लाख अमेरिकी डलर (साढे चार अर्ब रुपियाँभन्दा बढी)को अनुदान सहायता प्रदान गरेको छ ।

बर्दियाका स्थायी बासिन्दा डा. चन्द २०६५ सालमा विद्यावारिधि गर्न अमेरिका जानुभएको थियो । त्रिभुवन विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर उहाँले अमेरिका जानुअघि काठमाडौंका विभिन्न विद्यालय तथा कलेजमा अध्यापन गर्नुभएको थियो ।
अमेरिकाको मिजौरी राज्यस्थित सेन्टलुइसमा बसोबास गर्दै आउनुभएका डा. चन्दलाई अल्जाइमर रोगसम्बन्धी एक विशेष अनुसन्धानका लागि अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले यो अनुदान सहायता उपलब्ध गराएको हो ।
डा. चन्दको नेतृत्वमा रहेको अनुसन्धान टोलीले अल्जाइमर रोगसम्बन्धी अनुसन्धान गर्न चार वर्षका लागि यो अनुदान सहायता प्राप्त गरेको बताइएको छ । डा. चन्द म्यालिनक्रट इन्स्टिच्युट अफ रेडियोलोजीका सहायक प्राध्यापक हुनुहुन्छ ।
नयाँ कृत्रिम बुद्धिमता प्रविधि (एआई)को विकास गरेर ठुलो स्तरको चिकित्सा स्क्यान, व्यवहारिक, क्लिनिकल र अनुवांशिक तथ्याङ्क अध्ययन गर्नेछ ।
अल्जाइमर रोगबाट हुने मानसिक समस्याको वास्तविक कारण पत्ता लगाउनुको साथै यसको निदान तथा उपचारको उपायका बारेमा डा। चन्द नेतृत्वको टोलीले अनुसन्धान गर्नेछ ।
अमेरिकामा अल्जाइमर रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । अल्जाइमर रोगले कसरी मानिसको व्यवहारमा परिवर्तन ल्याउँछ भन्ने विषयमा चिकित्सकको टोलीले अनुसन्धान गर्नेछ ।
अमेरिकाको चिकित्सा क्षेत्रमा परिचित डा। चन्दलाई अल्जाइमर रोगका विषयमा अनुसन्धानका लागि नेतृत्व दिनु र यति धेरै रुपियाँको अनुदान सहायता उपलब्ध गराउनु नेपालीको लागि गर्वको विषय रहेको उहाँका मामा भिम मल्लले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्