जन सरोकार

डोकोमा पानी बोक्ने दुःख अन्त्य

तनहुँको व्यास नगरपालिका–५ चुँदेर निवासी अनिता थापा बिहान ४ बजे उठेर पँधेरो जानुहुन्थ्यो । पानीको जोहो गर्न सबेरै जानुपर्ने उहाँको दैनिकी नै बनिसकेको थियो । एक घण्टा पैदल हिँडेर डोकोमा पानी बोक्न थालेको वर्षौं भैसकेको थियो ।

सोही ठाउँ निवासी सीतामाया थापा पनि पानीको जोहो गर्न पँधेरोमै पुग्नुहुुन्थ्यो । बिहानै नपुगे खानेपानी पनि पाईदैन थियो । “बिहान उठेपछिको पहिलो काम भनेकै पानीको जोहो गर्नु हो”, उहाँले भन्नुभयो, “एक घण्टासम्म डोकोमा बोकेर पानी ल्याउनुपथ्र्यो ।”

दुवै जनालाई अब पानीको जोहो गर्न डोको बोकेर पँधेरासम्म पुग्न परेन । रोटरी क्लब अफ दमौलीले दाताको सहयोगमा गाउँमै खानेपानी आयोजना निर्माण गरिदिएपछि स्थानीयवासीका पानीको दुःख हटेको छ । सदरमुकाम दमौलीबाट करिब १२ किमि दूरीमा छ चुँदेर गाउँ । सदरमुकाम नजिकै भए पनि यहाँ वर्षौसम्म खानेपानीको चरम अभाव रह्यो ।

“खानेपानीको अभावले कति दुःख भयो भन्ने कुरा शब्दमा बयान गर्न सकिँदैन”, सीतामायाले भन्नुभयो, “आज घरमै धारा आउँदा खुसीको सीमा नै छैन । पानी नभएपछि यहाँका थुप्रै बासिन्दा तल बेँसी झरे, हाम्रो त जाने ठाउँ पनि कतै छैन, दुःखसुख अहिलेसम्म यही बस्याँै।”

पचास वर्ष पहिला १५० घरधुरी रहेकामा खानेपानीको दुःखकै कारण अधिकांश गाउँले बेँसी झरेको स्थानीयवासी अमर थापाले जानकारी दिनुभयो । खानेपानी योजना माग्दै विभिन्न तहका सरकारको ढोका गुहारेपनि सुनुवाइ नभएपछि रोटरी क्लबले खानेपानी बनाइदिने भन्ने खबरले स्थानीयवासी खुसी भए । “खानेपानी योजना सम्पन्न भएर घरदैलोमा नै पानी आएको देख्दा खुसीले गद्गद् छौँ, वर्षांैदेखिको पानीको दुःखले स्थानीयवासीले भोग्नुपरेको दुःख अब हट्यो”, सीतामायाले भन्नुभयो ।

अमेरिकास्थित रोटरी क्लब अफ होनोलुलु सनसेट र व्यास नगरपालिकाको संयुक्त लगानीमा खानेपानी योजना निर्माण गरिएको हो । वर्षौंदेखि खोल्सा र पँधेराको पानी उपयोग गर्दै आएका यहाँका वासिन्दाका घरघरमा खानेपानी पु¥याउने उद्देश्यसहित विसं २०७७ पुस २१ गते खानेपानी आयोजना निर्माण सुरु भएको थियो । रु एक करोड १६ लाख ४० हजारको लगानीमा खानेपानी योजना निर्माण गरिएको दमौली रोटरीका पूर्व अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनुभयो । यसबाट ६८ घरधुरी लाभान्वित भएका छन् ।

खानेपानीका लागि अमेरिकास्थित रोटरीले रु ८४ लाख ८१ हजार ६६७, दमौली रोटरीले रु तीन लाख ४२ हजार सहयोग गरेकामा नपुग रकम नगरपालिकाले बेहोरेको दमौली रोटरीका अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दुई सय ५४ मिटरको दूरीमा रहेको मुहानबाट पानी ल्याई ट्याङ्कीमार्फत घरघरमा पानी वितरण गरिएको छ । एक घण्टामा दश हजार लिटर पानी तानिनेछ । उक्त ठाउँमा दैनिक एक लाख आठ हजार ६२९ लिटर पानी आवश्यक पर्ने अध्ययनबाट देखिएको छ । यो योजनामा ३० मिटरको ट्रान्समिसन लाइन र ५८० मिटर वितरण लाइन निर्माण गरिएको छ ।

खानेपानी योजना शुभारम्भ गर्दै रोटरी क्लब अफ नेपाल– भुटान ३२९२ का पूर्व गर्भनर राजीव पोखरेलले नेपालको शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा रोटरीले सहयोग गर्दै आएको बताउनुभयो । यो योजना दिगो बनाउने काम स्थानीयवासीको भएको उहाँको भनाइ थियो ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेले खानेपानीको चरम अभाव भएको गाउँमा रोटरीले खानेपानी योजना निर्माण गरिदिएर सकारात्मक काम गरेको बताउनुभयो । “रोटरीले नगरेको भए यो काम नगरपालिकाले गर्नुपथ्र्यो, नगरपालिकाको अभियानमा रोटरीले साथ दियो”, उहाँले भन्नुभयो । वडाध्यक्ष मोहनकुमार श्रेष्ठले खानेपानीको अभावमा गाउँ छाडेर गएकालाई अब गाउँ फिर्ता ल्याउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.