जन सरोकार

रुपैडिहादेखि नै ठगिन्छन् घर फर्कने नेपाली

नेपालीहरुको महान चाड बडा दशैं, तिहार र छठको आगमनसंगै भारतमा मजदुरी गर्न गएकाहरु घर फर्कने क्रम बढ्दो छ भने उनीहरु भारतीय सीमा क्षेत्रदेखि नेपालसम्म नै ठगिने र लुटिने क्रम पनि बढ्दै गएको छ ।

पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्जमा दशैं मनाउन भारतबाट घर फर्किरहेका नेपालीलाई सीमापारी भारतको रुपैडिहा बसपार्कदेखि नै रिक्साचालक, भारतीय र नेपाली सुरक्षाकर्मी तथा होटल र गाडीका दलालले ठग्ने र लुट्ने काम गरिरहेको गुनासो उनीहरुको छ ।

कस्तो अवस्था छ भने भारतबाट नेपाल छिर्न पाएको छैन, हात समातेरै कसैले अटोरिक्सामा बसाउँछन्, कोही आएर मेरो होटलमा जाउँ भन्दै तँछाडमछाड गर्छन् । यो काम भारतीय क्षेत्रमा मात्र हैन नेपालभित्र पनि हुन्छ ।

सिमला, हरिद्वार, दिल्ली, पन्जाबका सहरहरु, अहमदाबाद तथा जयपुरलगायतबाट पैसा कमाएर दशैंका लागि घर फर्किने नेपालीलाई ठग्ने र लुट्ने काम भैरहे पनि भारतीय र नेपाली दुबै देशका सुरक्षाकर्मीले चासो नदिएको पीडितहरुको भनाई छ ।

भारतस्थित हिमाञ्चल प्रदेशको सिमलाबाट काम गरेर फर्किएका बसेला सुर्खेतका राजेश विक र उहाँसंगै रहेका १० जनालाई सीमापारी रुपैडिहाका रिक्साचालकले ठगेको विकले बताउनुभयो । विकको टोली रुपैडिहा बसपार्कमा ओर्लने वित्तिकै रिक्साचालकले नेपालगञ्ज पुगाइदिने भनी प्रतिव्यक्ति ५ सय रुपियाँ लिएर एसएसबीको बैरियरमा उतारेर भागेको विकले बताउनुभयो ।

यस्तै एसएसबीको बैरियर पार गरेर जाँदा उता रहेका रिक्साचालकले पनि नेपालगञ्ज पुगाइदिने भनी जनही ३ सय रुपियाँ असुलेर ५० मिटर पर नाकामा छोडेर गएको दैलेखका दिनेश थापाले बताउनुभयो । उहाँले जेनतेन गरेर आफ्नो देशमा छिरेपछि त्यहाँ पनि प्रहरीदेखि रिक्साचालकहरुले ठग्ने र लुट्ने गरेको उहाँले गुनासो गर्नुभयो ।

जमुनाहा नाकामा प्रहरीले समेत खुलारुपमा रकम असुली गरिरहेको फर्किनेहरुको गुनासो छ । ठग्नेहरुलाई छुट दिएको गुनासो आएपछि बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसूदन न्यौपानेले सिभिल पोशाकमा छड्के अनुगमन गर्दा प्रहरीले नै रकम असुली गरिरहेको पाइएपछि त्यहाँका १७ जना प्रहरीलाई जिल्ला तानेर कारवाही गरिएको एसपी अधिकारीले बताउनुभयो ।

ठगीमा र रकम असुलीमा संलग्न केही बिचौलियालाई पक्राउ गरेर निगरानी बढाइएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले बताउनुभयो । नाकामा भारतबाट फर्किने नेपालीको चाप बढेसँगै सीमाक्षेत्रमै पुग्ने होटल ब्यवसायी, अटोरिक्सा र बिचौलियाले ठगी र लुटपाट गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.