"डा. गोविन्द केसीका माग जनताका माग हुन् लोकतान्त्रिक सरकारले त्यो पूरा गर्नुपर्छ"
पूर्वराष्ट्रपति रामवरण यादवले १९ दिनदेखि आमरण अनशनमा रहनुभएका डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालमा पुगेर भेट गर्नुभएको छ । भेटपछि संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै पूर्व राष्ट्रपति डा. यादवले सरकारले डाक्टर केसीले उठाएका माग सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
विश्व अहिंसा दिवसका अवसर पारेर सत्याग्रही डा. केसीलाई पूर्वराष्ट्रपति यादवले चिकित्सा शिक्षा सुधारका लागि सत्याग्रहमा बसेका डाक्टर केसीलाई भेटनुभएको हो ।
भेटपछि पत्रकारहरुसंग डा. यादवले डाक्टर केसीले आमजनताका माग उठाउनुभएको र ती मागहरु सरकारले पूरा गर्नुपर्ने र वार्ताबाट समाधान खोज्नुपर्ने बताउनुभयो । लोकतान्त्रिक सरकारले डाक्टर केसीले उठाएका माग सम्बोधन गर्नुपर्नेमा उहाँको जोड थियो ।
पूर्व राष्ट्रपति डा. यादवले भन्नुभयो ‘उहाँजस्तो कमजोर मानिसलाई अनसनमा धेरै दिन राख्नु खतरा हुन्छ । सरकारले माग सम्बोधन गर्नुपर्छ ।’