राजनीति

प्रदेश ५ को राजधानी देउखुरी बनाउने निर्णयबिरुद्ध नेविसंघ आक्रोशित- बुटवलमा तोडफोड

प्रदेश ५ सरकारले सो प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरीलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरेपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ आन्दोलित भएको छ । शुक्रबार प्रदेशसभामा प्रस्ताव पेश भएलगत्तै नेविसंघले बुटवलमा प्रदर्शन गरी तोडफोड मच्चाएको छ ।

प्रदेश सभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको शुक्रबारको निर्णयअनुसार प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश गरेका थिए ।

मन्त्री केसीले प्रदेश सभामा दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जोडेर देउखुरीमा प्रदेशको राजधानी र नामकरण लुम्बिनी राख्ने प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको हो ।

नेविसंघले प्रदेश सभा अगाडि टायर बालेर विरोध जनाएको छ । अहिले पनि नेविसंघका कार्यकर्ताले बुटवलमा प्रदर्शन गरिरहेका छन् । त्यस्तै बुटवल ट्राफिक चोकमा कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नम्बरको गाडी तोडफोड भएको छ ।

त्यस्तै लु १ झ ४२९, लु १ झ ४४९ र लु १ झ ४४५ नम्बरका गाडीमा पनि तोडफोड गरिएको छ । यी गाडी प्रदेश सभाका विभिन्न समितिका सभापतिहरूले प्रयोग गर्ने गर्थे । आन्दोलनरत समूहले गाडी तोडफोड गरेको स्थानीयले जनाएका छन् ।

प्रदेश सरकारले राजधानीको विषय निर्णय गरेसँगै बिहानैदेखि बुटवलको सुरक्षा व्यवस्था कडा पारिएको हो । शुक्रबार बिहानै नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश प्रमुख तथा प्रमुख जिल्ला अधिकारीको बैठक बसेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.