राजनीति

तीन प्रतिवेदनमाथि आज समूहगत छलफल- पार्टी निर्माणका लागि प्रस्तावित पाँच आयाम

नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आज पनि जारी छ । ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा आज समूहगत छलफल हुनेछ । विभिन्न १० समूहमा समूहगत छलफल हुने एमालेका केन्द्रीय सदस्य तथा प्रचारप्रसार उपसमिति संयोजक खिमलाल भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज तीनै वटा प्रतिवेदनमाथि समूहगत छलफल भएपछि समूह नेताले प्रस्तुति गर्ने छन् । राजनीतिक प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

तीनवटै प्रतिवेदनमाथि समूहगत छलफलका लागि प्रदेश नं १ को समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्यले गर्नुहुने छ । प्रदेश नं २ को समूहको सहजीकरण सत्यनारायण मण्डल र रघुवीर महासेठ, बागमती प्रदेश समूहको सहजीकरण अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा, गण्डकी प्रदेश समूहको सहजीकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले तथा लुम्बिनी प्रदेश समूहको सहजीकरण विष्णु पौडेल र शङ्कर पोखरेलले गर्नुहुने छ ।

यस्तै कर्णाली प्रदेश समूहको सहजीकरण युवराज ज्ञवाली र यामलाल कँडेल, सुदूरपश्चिम प्रदेश समूहको सहजीकरण भीम रावल र लेखराज भट्टले गर्नुहुने छ । उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाको समूहको सहजीकरण छविलाल विश्वकर्मा र राजन भट्टराई, जनसङ्गठनको समूहको सहजीकरण गोकर्ण विष्ट र टोपबहादुर रायमाझी, केन्द्रीय निकाय तथा केन्द्रीय विभाग समूहको सहजीकरण अमृत बोहरा र पुष्प कँडेलले गर्नुहुनेछ ।

केन्द्रीय सदस्य भट्टराईका अनुसार अपराह्न २ बजेसम्म समूहगत छलफल सकिएपछि समूह नेताले आजै प्रतिवेदनमाथि सुझाव पेश गर्नुहुने छ । ती सुझावका आधारमा आइतबार राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओली, साङ्गठनिक प्रतिवेदनमा महासचिव पोखरेल र विधान संशोधन प्रस्तावमा उपमहासचिव पौडेलले जवाफ दिनुहुने छ ।

यस्तै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशनलाई व्यवस्थितरुपमा सञ्चालन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको छ । यस्तै महाधिवेशनको प्रस्ताव मस्यौदा कमिटी, सुझाव अध्ययन कमिटी, बहस नोट कमिटी र प्रचार समन्वय कमिटी समेत गठन गरिएको छ । महाधिवेशनमा छ हजार ३४७ प्रतिनिधि सहभागी छन् । महाधिवेशन आइतबारसम्म सञ्चालन हुनेछ ।

पार्टी निर्माणका लागि प्रस्तावित पाँच आयाम

प्रथम विधान महाधिवेशनमा आगामी निर्वाचनमा पार्टीलाई सरकारको नेतृत्व गर्ने स्थानमा पुर्याउन सुदृढ पार्टी निर्माणका लागि पाँच आयाम प्रस्ताव गरिएको छ ।

महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको सङ्ठनात्मक प्रस्तावमा पार्टीमा सही सिद्धान्त, कार्यक्रम र कार्यदिशाको निरुपण तथा त्यससम्बन्धी बुझाइमा एकरुपता आवश्यक रहेकामा जोड दिइएको छ । वैचारिकरुपले सुसङ्गठित आधारभूत वर्गका साथै सबै भौगोलिक क्षेत्र र समुदायमा आधारित शृङ्खलाबद्ध कमिटी प्रणाली, नेतृत्व, कमिटी र कार्यकर्ताका बीचमा गहिरो अन्तरसम्बन्ध कायम तथा परिभाषित कार्य जिम्मेवारीअनुरुप परिचालन, पार्टी नीतिअनुरुप राष्ट्रिय हित र जन सरोकारका विषयमा पार्टी पङ्क्तिको व्यापक परिचान, जीवनशैली र अनुकरणीय व्यवहारका माध्यमबाट जनतासँगको सम्बन्धलाई घनिष्ठ बनाउँदै निर्वाचनका माध्यमबाट तीनै तहका सरकारको नेतृत्व गर्ने ठाउँमा पार्टीलाई पुर्याउन प्रस्ताव गरिएको छ ।

उक्त प्रस्तावमा पार्टी हाल प्रतिपक्षमा रहेको अवस्थामा दबाब तथा जागरणको भूमिकाका माध्यमबाट र सरकारको नेतृत्वमा रहेको अवस्थामा ‘सुखी नेपाली ः समृद्ध नेपाल’को सङ्कल्पअनुरुप समाजवादको आधार तयार गर्ने काममा जनप्रतिनिधि र पार्टी नेतृत्वको सरकारलाई मार्गदर्शन गर्नुपर्ने उल्लेख छ । कम्युनिष्ट पार्टी निर्माण र सञ्चालनका सन्दर्भमा संस्थापक नेता पुष्पलालले सिद्धान्त, सङ्गठन र सङ्घर्षको तीन ‘स’को नीतिमा जोड दिनुहुन्थ्यो भने जननेता मदन भण्डारीले त्यसका अतिरिक्त प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने कुरामा विशेष जोड दिनुभएको थियो ।

महासचिवको प्रतिवेदनमा पार्टी निर्माणका राजनीतिक तथा वैचारिक आधार, पार्टीको सङ्गठनात्मक सिद्धान्त र जनताको बहुदलीय जनवाद, पार्टी निर्माणमा जबज र पार्टी जीवनको लोकतान्त्रिकरण, पार्टी सङ्गठनको वर्तमान अवस्था, पार्टी निर्माणमा देखिएका समस्या र आजको सन्दर्भमा पार्टी निर्माण तथा व्यवस्थापनको कार्ययोजनाका विषयमा विस्तृत व्याख्या गरिएको छ ।

“कम्युनिष्ट पार्टी सञ्चालन गर्ने वैज्ञानिक र विधिसम्मत सङ्गठनात्मक प्रणाली हुन्छ, त्यसलाई निश्चित दर्शन, सिद्धान्त र नीतिले मार्गदर्शन गर्दछ”, महासचिव पोखरेलले भन्नुभएको छ, “विधिसम्मत प्रणालीको अभावमा बनेका सङ्गठन व्यक्ति केन्द्रित समूहजस्तो बन्न पुग्दछन्, निश्चित समयपछि त्यस्ता समुहहरूको अस्तित्व समाप्त भएर जान्छ, कम्युनिष्ट पार्टीको विभाजनमा धेरथोर वैचारिक, सैद्धान्तिक र नीतिगत कारणहरू रहे पनि मूलभूतरुपमा सङ्गठनात्मक अराजकता, वैचारिक विचलन, गुटबन्दीपूर्ण क्रियाकलाप र अवसरवाद नै मुख्य प्रवृत्तिका रुपमा रहने गरेका छन्, पार्टीमा स्थापित सङ्गठनात्मक पद्धतिको पालना र कार्यान्वयनमा भएका कमी–कमजोरीले पनि त्यसमा एकहदसम्म भूमिका खेल्ने गरेको छ ।”

प्रस्तावमा पार्टी सदस्य र कार्यकर्ताका समस्या तथा चुनौतीलाई पनि केलाइएको छ । अध्ययन र प्रशिक्षणको कमी, पार्र्टी सदस्यतामा मापदण्ड पालनाको समस्या, ठूलोे आकारका कमिटीको सञ्चालनको समस्या, वैधानिक व्यवस्थाअनुरुप अधिवेशन आयोजना र व्यवस्थापनको समस्या, सङ्गठनात्मक अराजकता तथा गुटबन्दीको समस्या, गैरभौगोलिक क्षेत्रको कामको संयोजनको समस्या, पार्र्टी काम र कार्यकर्ताको मूल्याङ्कनको समस्या, वर्ग दृष्टिकोणमा भन्दा पहिचानकोे मुद्दामा आकर्षित हुने समस्या, पार्टी काममा दोहोरोपनको समस्या, काठमाडौँ उपत्यकाको पार्टी कामको व्यवस्थापनको समस्या, परिभाषित काम र परिणाममुखी कार्यविभाजनको समस्या, जनसङ्गठनको प्रभावकारी परिचालनको समस्या तथा आदर्श र व्यवहारको बीचमा अन्तरविरोधजस्ता विषयलाई बुँदागतरुपमा उल्लेख गरिएको छ ।

प्रस्तावमा नेपालको राजनीतिको वर्तमान अन्योल र सङ्क्रमणलाई सही दिशामा व्यवस्थापन गरी आर्थिक–सामाजिक विकासका माध्यमबाट समाजवादको आधार तयार गर्ने राजनीतिक कार्यदिशा पूरा गर्ने गरी पार्टीको सङ्गठनात्मक जीवनलाई पुनःव्यवस्थित गर्न आग्रह गरिएको छ ।

पार्टीको सिद्धान्त, नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने माध्यम नै पार्टी सङ्गठन भएकाले सोही मान्यताअनुरुप पार्टीको सङ्गठनात्मक नीति तथा प्रस्तावलाई व्यवहारमा प्रभावकारी ढङ्गले कार्यान्वयनमा लैजान आवश्यक रहेको महासचिव पोखरेलको जोड रहेको छ । विधान महाधिवेशनको माध्यमबाट सिङ्गो पार्टी एकताबद्धरुपमा त्यस दिशामा अघि बढ्नु आवश्यक भएको प्रस्तावमा जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.