राजनीति

व्यक्तिवादी चरित्रलाई पछार्न नसकेपछि विद्रोह : महासचिव भुसाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले नेकपा (एमाले)मा हुर्कीएको व्यक्तिवादी चरित्रलाई पछार्न नसकेपछि विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेको बताउनुभएको छ ।

आज नेकपा (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला कार्यालयको उद्घाटन तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीमा विद्रोह गर्नुपरेको स्पष्टिकरण दिनुभयो ।

एमाले विचारको सम्मान गर्न नसकेको तथा अल्पमतको सम्मान गर्न नसकेको आरोप लगाउँदै उहाँले समाजवादी क्रान्तिको युग सुरु भएको दाबी गर्नुभयो । आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई नछाडेको दाबी गर्दै उहाँले जवज हुबहु आत्मासात गर्नुपर्ने आवश्यकता नभएकाले यसको मुलभूत अवधारणालाई मात्रै आत्मासात गरेर जाने बताउनुभयो ।

नेकपा समाजवादीको समाजवादको दृष्टिकोण फरक रहेको भन्दै उहाँले श्रमजीवी जनताको पक्षमा जनतालाई सर्वोपरि राख्दै समाजवादको यात्रामा अगाडि बढेको उहाँको भनाइ छ ।

नेताको होइन, नीतिको पक्षमा लाग्न कार्यकर्तालाई आह्वान गर्दै महासचिव भुसालले भन्नुभयो, “हाम्रो पार्टीले जिउँदो नेताको तस्वीरमा माला लगाउँदैन, मञ्चमा बसेर खादा र माला ओढ्दैन, नेता होइन, नीति मान्छ, व्यक्ति होइन, विचार मान्छ ।”

नेमकिपाले विचारलाई व्यक्तिवादी बनाउँदा भक्तपुरको एउटा नगरपालिकामा सीमित भएको भन्दै उहाँले अब आफ्नो पार्टी नीतिमा युवाको नेतृत्वमा अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा एकीकृत समाजवादी भक्तपुरका अध्यक्ष श्यामसुन्दर बस्नेतले भक्तपुरबाट समाजवादीको यात्रा सुरु भएको बताउँदै तिहार अगाडिसम्ममा भक्तपुरका ३८ वडा, चार नगरपालिकामा सङ्गठनलाई विस्तार गर्ने र सबै भातृ सङ्गठनलाई पूर्णता दिने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.