जन सरोकार

राउटे बस्तीमा दशैँको चटारो

दशैँको रौनकले राउटे बस्तीलाई छाएको छ । फिरन्ते जीवन बिताउँदै आएका उनीहरु जाजरकोटदेखि आएर दैलेखको भगवतीमाई–१ मनघर बायुतडा लेकमा एक महिनादेखि बस्दै आएका थिए । अहिले सोही गाउँपालिकाको वडा नं १ बेँसीमा पर्ने बेस्तडा बजार नजिकै जङ्गलमा सरेका छन् ।

लेकमा चिसो बढ्न थालेपछि बेँसी झरेको उनीहरुको भनाइ छ । महामुखिया महिनबहादुर शाहीले बस्ती सरेपछि किनमेल गर्न सजिलो भएको सुनाउनुभयो ।

“दशैँ आइसक्यो, खसीबोका र चामल किन्न सजिलो होला भनेर यहाँ सरेका हौँ, चिसो बढ्यो, दशैँ मनाएर अन्तै सर्नुपर्ला ।” बेस्तडा जङ्गलमा काठ अभाव रहेकाले धेरै बसाइ नहुने शाहीको भनाइ छ ।

फिरन्ते जीवन बिताउने यो समुदायका ४६ घरधुरीमा गरी एक सय ४३ जना छन् । बस्तीमै पुगेर राउटे समुदायलाई खसी, चामल, चिसोमा न्यानो गराउने पिफर्म वितरण गरेको भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश थापाले बताउनुभयो ।

उहाँले राउटे जहाँ बस्ती सरे पनि भत्ता दिँदै आएको गुराँस गाउँपालिकालाई असोज महिनाको भत्ता वितरण छिटो गर्न भनीदिनुहोस् भनेर सताउने गरेको बताउनुभयो ।

गुराँस गाउँपालिका–८ ले परिचयपत्र दिएर नेपाली नागरिकको रूपमा सामाजिक भत्ता बस्तीमै पुगेर वितरण गर्दै आएको छ । सरकारले अतिलोपोन्मुख यस समुदायका लागि प्रतिव्यक्ति मासिक रु चार हजार प्रदान गर्दै आएको छ ।

दशैँ नजिकिँदै गर्दा चामल, खसीबोका, नुन–तेललगायत आवश्यक सरसामानको जोहो गर्न थालेका छन् । किनमेलका लागि स्थानीय बेस्तडा बजार हँुदै दैलेख सदरमुकामसम्म पुग्ने उनीहरूको योजना छ ।

राउटे समुदायमा मुख्य मान्छेलाई महामुखिया भनिन्छ । महामुखिया शाही छन् भने मुखिया दुई जना सूर्यनारायण र वीरबहादुर शाही छन् । उनीहरू महामुखियाका हातबाट चामलको सेतो टीका थाप्ने, नाचगान गर्ने, खसीबोका काट्ने गर्दछन् । यो दशैँलाई ‘असोजे दशैँ’ भन्छन् । यसका लागि राउटेले अगाडि नै खसीबोका जम्मा गरिराख्छन् ।

दशैँका दिन सबैले आफ्नै छाप्रोमा बनाएको जाँड खान्छन् । दसैँको मुख्य दिनमा बिहानको खानपिन गरेर दिउँसो राउटेले आफ्नो परम्परागत लुगा लगाएर नाचगान गर्छन् । मुजा परेको सेतो जामा, शिरमा सेतो पगरी, खुट्टामा फलामको कल्लीजस्तो बज्ने गहना लगाएर मादल बजाई लहरै घुमी नाच्छन् ।राउटे बस्तीमा दसैँको चटारो

देवी–देवताको पूजा गर्ने, चाडपर्व मनाउनेलगायतका हिन्दू संंस्कारप्रति राउटे पनि विश्वास गर्छन् । यद्यपि उनीहरूको मृत्यु संस्कार भने फरक शैलीको छ । आफ्ना सदस्यको मृत्युमा जलाएर अन्त्येष्टि, काजकिरिया, जुठो बार्ने गर्दैनन् । जहाँ मर्यो त्यही गाडेर बस्ती सर्छन् ।

कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोटको आसपासका क्षेत्रमा यो समुदायले बसोबास गर्दै आएको छ । यिनीहरु अझक दैलेखमा बस्न धेरै रुचाउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.