शिक्षामन्त्री पुनका बारेमा चलाइएका हल्ला र वास्तविकता
विज्ञान, प्रविधि तथा शिक्षामन्त्री महावीर पुनको देखाउने दाँत र खाने दाँत फरक रहेको भन्दै सामाजिक सञ्जाल तथा केही अनलाइनहरुमा सनसनीपूर्ण समाचार भन्दै प्रकाशन भएका सामग्री असत्य प्रमाणित भएको छ ।

मन्त्री पुनकी छोरी बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गरिरहेको विषयलाई लिएर उठिरहेको प्रश्नको चिरफार गर्दै नेपाली कांग्रेसका नेता तथा नोबेल मेडिकल कलेजका संचालक डा. सुनील शर्माले वास्तविकता सार्वजनिक गरिदिनुभएको छ ।
मन्त्री भैसकेपछि पनि विगतमा जस्तै सामान्य तरिकाले जीवन बिताइरहनुभएका पुनले आफ्नो जीवनको तीन दशकयता साथीभाइ र शुभचिन्तकहरुले सहयोग गरिरहेको बताउँदै आउनुभएको छ ।
मन्त्री बनेपछि बाहिर सामान्य देखिए पनि “छोरीलाई १ करोड खर्च गरेर विदेशमा पढाइएको” भन्ने हल्ला चलिरहँदा उहाँकी छोरीलाई पढाउन सहयोग गर्ने डा. शर्माले यसबारे सबै कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिनुभएको छ ।
२०८२ असोज १५ गते महानवमीका दिन डा. शर्माले शिक्षा मन्त्री महावीर पुन र उहाँकी छोरीले बंगलादेशमा अध्ययन गरिरहेको सन्दर्भको वास्तविकता यसरी खुलाउनुभएको छ-
हाल बजारमा महावीर पुन सरमाथि “छोरीलाई १ करोड खर्च गरेर विदेशमा पढाइएको” भन्ने आपराधिक हल्ला लगाइएको छ। यो हल्ला पूर्ण रूपमा झुट्टा, निराधार र बदनियतपूर्ण मात्र हो। मलाई थाहा छ – मैले आज यो विषयमा कलम नचलाउँदा पनि हुन्थ्यो। तर मेरो मनले मानेन।
मलाई ३ दिनदेखि छटपट्टी भइरहेको थियो। यस बिषयमा लेखे भने समाजले मलाई पनि “गुलाम” भनेर सत्य नलेख भन्ला कि भन्ने डर थियो। तर म मरेर जाँदा मेरो आत्मालाई न्याय होस् भन्ने भावना जाग्यो। त्यसैले, मैले साहस गरेर यो विषयलाई बाहिर ल्याएँ र सत्य लेख्ने निर्णय गरेँ।
घटनाको वास्तविकता
म एक दिन एभरेष्ट मिडियाका सञ्चालक दीप केसी मार्फत महावीर पुन सरलाई भेट्न मेरी श्रीमति इन्दिरासँग राष्ट्रिय अनुसन्धान केन्द्र, कीर्तिपुर पुगेको थिएँ। त्यहाँ सरसँग लामो संवाद गर्ने अवसर पाएँ। उहाँले आफ्नो संस्था र कामहरू यति असाधारण सरलताका साथ प्रस्तुत गर्नुभयो, जुन मैले प्रत्यक्ष देख्ने सौभाग्य पाएँ र उहाँको जीवन, कर्म र जीवनमार्ग देखेर अत्यन्त प्रभावित भए ।
कुराकानी कै क्रममा पारिवारिक कुरा हुँदा उहाँको छोरीको अध्ययनबारे हल्का चर्चा भयो। त्यति खेर मैले नै पहल गर्दै यदि चिकित्सा शिक्षा आयोगले निर्णय गरिदियो भने नानीलाई काठमाडौं मेडिकल कलेज वा नोवेल मेडिकल कलेज मध्ये एउटामा पूर्ण छात्रवृत्तीमा प्रवेश दिलाउन सकिन्छ भन्ने कुरा राखे ।
त्यसका लागि मैले चिकित्सा शिक्षा आयोग समक्ष लिखित अनुरोध नै गरेको थिएँ र KMC तथा Nobel दुवैको तर्फबाट गुनासो पनि पेश गरेको थिएँ। यस क्रममा KMC द्वारा MEC मा गरिएको पत्राचार अहिले पनि प्रमाणका रूपमा सुरक्षित छ। तर यो प्रयास पुरा हुन सकेन ।
त्यस पछि मैले एकपटक महावीर पुन सरलाई फोन गरेर बाहिर पठाउने बाहेक अर्को विकल्प नभएको बारे सम्झाएको थिएँ। छोरीको पासपोर्ट समेत तयार भएको थिएन। मैले आग्रह गरी पासपोर्ट बनाउन लगाएँ। सुरुमा सरले अलिक अनाकानी गर्नुभएको थियो।
पैसाको समस्या भए हामी सहयोग गर्छौँ, यो अवस्था डा. गोविन्द केसीसरको आन्दोलन र नेताहरूको गलत नीतिका कारण नेपालका धेरै मेडिकल, डेण्टलका सिटहरु काटिएका छन्, २०० जति नर्सिङ्गका कलेजहरु बन्द भएका छन् जसले गर्दा तपाईँजस्तै धेरै नेपाली अभिभावक पीडित हुनु भएको हो भनेर मैले सरलाई भनेको थिए । कुराकानी पछि महावीर सर सहमत हुनुभयो।
त्यसपछि मैले मेरा एक जना पुराना साथी डा. नरेन्द्र मिश्र कहाँ पठाए । IOM का pass-out साथी नरेन्द्र मिश्र पुतलीसडक स्थीत आधार एजुकेशन प्रा. लि. मा हुनुहुन्थ्यो । नानीको भर्ना प्रक्रिया सुरू भयो । महावीर पुन सरजस्तो इमानदार र देशका सम्पत्ति समान व्यक्तिबाट कुनै कन्सल्टेन्सी शुल्क नलिन र नानीलाई राम्रो कलेजमा पठाएर उनको सुरक्षा सुनिश्चित गर्न मैले मिश्रजीलाई अनुरोध गरेको थिए । यसरी ढाका विश्वविध्यालय अन्तर्गत नानीको जहारूल इश्लाम मेडिकल कलेज वाजितपुरमा भर्ना भई एमवीवीएस शिक्षामा प्रवेश भयो।
नानीको नेपालको चिकित्सा शिक्षा आयोगको एकिकृत प्रवेश परीक्षामा उत्तिर्ण भएर Ranking नं. 6518 मा नाम निस्किएको थियो। एमवीवीएसका लागि मासिक शुल्क ६२१ अमेरिकी डलर अर्थात नेरू ८७,५९१ (जम्मा खर्च ४१,००० अमेरिकी डलर) लाग्ने रहेछ । मलाई प्राप्त सूचना अनुसार अहिले सम्म सरले ५०% भन्दा बढी तिर्नु भएको छैन। यो खर्च उहाँले आफ्नो तवरले जुटाउदै भुक्तानी गर्दै आउनु भएकोमा म विश्वस्त छु किनकी हामीले आर्थिक सहयोग गर्न खोज्दा उहाँले अहिलेलाई ठीकै छ, मैले गर्न सक्छु भन्नुभयो।
तर बजारमा अहिले हावादारी रूपमा यस सम्पूर्ण प्रक्रियामा १ करोड खर्च गरिएको भन्ने कुनै आधार छैन। बरु, डा. नरेन्द्र मिश्रजी जस्ता साथीहरूले सहयोग गरेर सबै काम पारदर्शी ढंगले सम्पन्न गरिएको हो। सत्य प्रष्ट छ। झुट्टा हल्लाले एक जना सोझो, निस्वार्थ भावनाबाट अभिप्रेरित भई आफ्नो काममा समर्पित जनजाती मुलका व्यक्ति प्रति यसरी आधारहीन आरोप लगाउनेहरू गलत नियतका हुन्। महावीर पुन सरजस्ता समाजसेवीलाई निरुत्साहित गर्ने प्रयास असफल हुनुपर्छ। हामी सबैले उहाँलाई निरन्तर उत्साह, समर्थन र सम्मान दिनुपर्छ।
महावीर पुन सरसंगको पहिलो भेटको एउटा रमाइलो स्मरण पनि हामी संग छ । त्यो भेटको क्रममा हामीले उहाँको आत्मवृतान्त पुस्तक खरिद गर्यौं। पुस्तकको पैसा दिने क्रममा फिर्ता दिने पैसा उहाँसंग भएन । हामीले फिर्ता चाहिदैन आविस्कार केन्द्रलाई नै भयो भन्दा पनि उहाँले पैसा खोजेर ल्याई फिर्ता गर्नु भयो । त्यति खेर पनि उहाँको त्यस्तो व्यवहार देखेर हामी छक्क पर्यौं ।
हामी समाज र देशको लागि उठ्नु पर्छ, एक जुट हुनु पर्छ । निराधार हल्लामा नलागौँ, प्रमाण र सत्यको आधारमा मात्रै बोलौँ।
प्रतिक्रिया राख्नुहोस्