जन सरोकार

सिन्धुपाल्चोकका जोखिमयुक्त बस्तीसम्बन्धी प्रारम्भिक प्रतिवेदन हस्तान्तरण

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले तयार पारेको बस्ती स्थान्तरणसम्बन्धी प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पारित भएको प्रतिवेदन गृहमन्त्री थापालाई आज उहाँकै कार्यकक्षमा पुगेर सिन्धुपाल्चोकका जनप्रतिनिधिहरुले बुझाउनु भएको हो ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले गृहमन्त्री थापालाई प्राकृतिक विपत्तीबाट हालसम्म सिन्धुपाल्चोकमा भएका मानवीय, भौतिक क्षति साथै बस्ती स्थान्तरणसम्बन्धी स्थलगत रुपमा तयार पारिएको प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा गृहमन्त्री थापाले यस वर्ष प्राकृतिक विपत्तीका परेका ४९ जिल्लामध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति भएकामा दुःख व्यक्त गर्दै क्षति बढी भएकाले नै सरकारले यस जिल्लालाई विपत्तीको जिल्ला घोषणा गरेको बताउनुभयो । उहाँले प्राकृतिक विपत्तीले क्षति भएका जिल्लाहरुको पुनर्निर्माणका विश्व बैकसंग करिब रु छ अर्बबराबरको ऋण सम्झौता भएको र कार्यान्वयनको चरणमा रहेको समेत जानकारी दिनुभयो ।

समितिले प्राकृतिक विपत्तीपछि विस्थापित भएकाहरुलाई सुरक्षितरुपमा स्थानान्तरणका लागि प्रतिवेदन तयार पारेको छ । गत असार १९ देखि सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तीका कारण ११२ जनाको मृत्यु र करोडौँको भौतिक सम्पत्ती नष्ट भएको छ ।

सो अवसरमा पूर्वमन्त्री एवं सिन्धुपाल्चोक प्रतिनिधिसभाका सासंद शेरबहादुर तामाङले बस्ती स्थानान्तरणका लागि जग्गा सट्टापट्टासम्बन्धी कानून अपरिहार्य रहेको र सो कानून तत्काल पारित गर्न गृहमन्त्रीसँग अनुरोध गर्नुभएको थियो । कार्यक्रममा नेकपा नेता दावा तामाङ र माधव सापकोटा तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.