अध्यक्षद्वयको सहमतिमा नेकपा सचिवालय बैठक स्थगित
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । सरकारले हालै गरेका केही महत्वपूर्ण राजनीतिक नियुक्ति र पार्टीका अन्य विषयमा छलफल गर्न बोलाएको सचिवालय बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को सल्लाहमा स्थगित गरिएको हो ।
बैठक स्थगित गरिएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का प्रेस संयोजक विष्णु सापकोटाले सचिवालय बैठकका एजेण्डाको विषयमा थप गृहकार्य गर्नुपर्ने भएकाले स्थगित गरिएको आइतबार बैठक बस्ने तर समय भने निर्धारण भइनसकेको जानकारी दिनुभएको छ ।
सरकारले गरेको राजनीतिक नियुक्तका विषयमा पार्टीमा केही असन्तुष्टि देखा परेपछि सचिवालय वैठक बोलाइएको थियो । त्यसैगरी मन्त्रिपरिषद विस्तारको सम्वन्धमा पनि दुई अध्यक्षबीच कुरा मिल्न सकेको छैन ।
यस अगाडि असोज ४ गते बसेको सचिवालयको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको सैद्धान्तिक विषयमा सहमति भएको थियो । केही दिनयता दुई अध्यक्षबीच निरन्तर छलफल भईरहे पनि सहमति भने जुट्न सकेको छैन ।