प्रधानमन्त्रीको सचिवालयका चार सदस्यसहित बालुवाटारका ६३ सुरक्षाकर्मी संक्रमित
प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार, परराष्ट्र सल्लाहकार तथा स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि भए लगत्तै त्यहाँको सुरक्षामा खटिएका ६३ जना सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ । सल्लाहकार र सुरक्षाकर्मीसहित बालुवाटारका ६७ जनामा संक्रमण पुष्टि भएको छ ।
समाचार अनुसार शुक्रबार र शनिबारसम्ममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ६३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएकामध्ये सबभन्दा बढी २८ जना नेपाली सेनाका छन् ।
सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार दुई दिनको अवधिमा यी सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको हो । उनीहरूको सम्पर्कमा रहेका अन्यको क्रमशः कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ ।
प्रधानमन्त्री निवासमा नेपाली सेनाको एक गुल्म खटिएको छ । प्रमुख सेनानीको नेतृत्वमा सेनाको सुरक्षा छ । नारायणहिटी दरबारबाट प्रधानमन्त्री कार्यालयमा सेना खटाइएको थियो । अब यो पूरै गुल्मलाई परिवर्तन गर्ने सेनाको तयारी रहेको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताउनुभएको छ ।
उहाँका अनुसार नयाँ सुरक्षाकर्मी पठाउँदा दर्जा मिलाउनुपर्ने हुन्छ, त्यो काम भइरहेको छ ।पौडेलका अनुसार प्रधानमन्त्री तथा उहाँको सचिवालयसँग नजिक नरहेको जनशक्तिमा कोरोना देखिएको छ ।
प्रहरी प्रवक्ता कुबेर कडायतले नेपाल प्रहरीबाट खटिएका १७ जनामा कोरोना संक्रमण देखिएको बताउँदै शुक्रबार र शनिबारको परीक्षण रिपोर्टमा यति जनामा कोरोना संक्रमण देखिएको जनाउनुभयो ।
प्रधानमन्त्री निवास सुरक्षामा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा नेपाल प्रहरीको टोली खटिएको छ । संक्रमित प्रहरीको ठाउँमा सुरक्षा सेवा निर्देशनालयले अन्य जनशक्ति खटाउने तयारी गरिरहेको कडायतले बताउनुभयो ।
सशस्त्र प्रहरी प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीका १८ जनामा कोरोना संक्रमण देखिएको जनाउँदै शुक्रबारको परीक्षणमा यतिको संख्यामा सशस्त्र प्रहरीलाई कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो ।
उहाँले पनि पिसिआर परीक्षण गरेर नयाँ सुरक्षाकर्मी पठाउने तयारी भैरहेको बताउँदै संक्रमित सुरक्षाकर्मीहरूको कन्ट्याक्ट ट्रेसिङ जारी रहेको जानकारी दिनुभयो ।