सूचना/प्रविधि

सूचना प्रविधिमा अघोषित सेन्सर !

खम्बा भाडाको नाममा इन्टरनेट तार काट्न थालेपछि सेवा अबरुद्ध

नेपाल विद्युत प्राधिकरणले विजुलीको पोल प्रयोग गरे वापत भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकहरुका तार काट्न थालेपछि सेवा प्रभावित भएको छ । यसलाई आम सर्वसाधारणले कतै सरकार अघोषित रुपमा सूचना प्रविधिमा सेन्सर गर्न खोजिहेको त हैन भन्ने शंका गर्न थालेका छन् ।

हुन पनि अर्बौं रुपैयाँ विद्युत महसुल नतिर्ने उद्योगीहरुलाई छुन नसकेको प्राधिकरणले खम्बाको भाडा नतिेको वहानामा इन्टरनेट सेवा अबरुद्ध हुने गरी तार काट्न थाल्नु नियोजित नै हुनसक्ने धेरैको बुझाई छ ।

यसैबीच नेपाल विद्युत प्राधिकरणले विजुलीको पोल प्रयोग गरेर भाडा नतिर्नेहरुको तार काट्न थालेपछि नेपाल दूसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने, गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

प्राधिकरणले राज्यका विभिन्न स्थानमा जथाभावी ढङ्गले अप्टिकल फाइवर काटी दिँदा राज्यका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको जनाउँदै इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने, गराउने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

प्राधिकरणले आज एक विज्ञप्ति जारी गरी इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल र नेपाल विद्युत् प्राधिकरणबीच पोल भाडा दर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालबीच छलफल गरी विवाद समाधान गर्न प्रयास भइरहेको अवस्थामा अप्टिल फाइबर नकाट्न आग्रह गरेको हो ।

“अप्टिकल फाइबर काट्दा राज्यको अति आवश्यक सेवा अवरुद्ध पारिएको छ दूरसञ्चार ऐन २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ, यसरी दूरसञ्चार सेवा अवरुद्ध गर्ने कार्यप्रति प्राधिकरण दुखः व्यक्त गर्दछ्र”, विज्ञप्तिमा भनिएको छ ।

प्राधिकरणले राज्यको अति आवश्यक सेवाको अवरुद्ध गर्ने जो कोहीलाई कानूनी कारवाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्बन्धित सबैलाई अनुरोध गर्नाका साथै वार्ताका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “हरेक समस्याको समाधान वार्ताबाट मात्र हुनसक्ने हुँदा सबै पक्षबसी आपसी छलफलबाट समस्याको समाधान गरी इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने÷गराउने व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरण, इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल तथा सम्बन्ध सबै पक्षमा हार्दिक अनुरोध गर्दछौँ ।”

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button