बिचार

दशैंमा गरिने कन्या पूजाको महत्व र अर्थ

कन्याकेटीलाई दशैंमा माता भनेर कन्या पूजा गरेर हिंसाजन्य यौन विकृतिको समूल नष्ट गर्ने संस्कार

नेपालीहरुका अनेक चाडपर्व, संस्कार, संस्कृतिहरुमध्येमा सबैभन्दा ठूलो, विशेष र महत्वपूर्ण राष्ट्रिय पर्व हो बडा दशैं । दशैंको एकल शाब्दिक अर्थ आआफ्नो किसिमले लगाउने गरिए पनि दशैंको दश दिनमा हरेक दिन विशेष महत्वको रहेको छ ।

जानेर वा नजानेर, बुझेर वा नबुझेर परम्परा निर्वाहकै लागि भए पनि हामीले नवौं दिनसम्मको देवी भगवतीको आराधना गर्दै दशौं दिन विजयाको प्रतीक मानेर दही अक्षताको टीका र जमरा लगाउने गर्दछौं ।

दशैंकै अवधिमा कन्या पूजा पनि गरिन्छ । कन्या पूजा गर्नुको धार्मिक, सांस्कृतिक मान्यता र अर्थका साथै आधुनिक समाजमा छोरी चेलीमाथि बढ्दै गएको हिंसा न्यून गर्न पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

दशैंमा विविध कन्याको पूजा गरिन्छ । दशैंमा गरिने कन्यापूजाको विशेष महत्व र अर्थ छ । एउटा मानिस पूर्णरुपमा मानिस बन्न ज्ञान, धन, बाहुबल र पापरहित जीवन आवश्यक पर्दछ । यसको प्राप्तिका लागि दशैंको अवधिमा ज्ञान प्राप्तिका लागि ब्राह्मण कन्याको पूजा गरिन्छ ।

बाहुबल वा सामरिक शक्ति प्राप्त गर्न क्षत्रीय कन्या पूजनीय हुन्छिन् । धन प्राप्तिका लागि वैश्य कन्याको पूजा गर्नुपर्छ । मारण–मोहन–उच्चारण शत्रु परास्त गर्न अभिचार प्रधान कामको सिद्धिका लागि चाण्डाल कन्याको पूजा गरिन्छ ।

दशैंमा चार वर्णकै कन्याको पूजाको चार किमिसको शक्ति प्राप्त हुने मान्यता शास्त्रले राखिदिएको छ । जगदम्बा भवानीका दृष्टिमा ब्राह्मण हुन् वा क्षत्रीय, वैश्य हुन कि शुद्र, चाण्डाल वा अरु जो कोही सबैका पुत्र–पुत्री वा सन्तान समान छन् ।

कुमारी पूजा गर्ने पूजारी वा साधकले उपर्युक्त चारै वर्णका कन्यालाई जगद्धातृ, जगदम्बा, माता भनेर स्तुति गर्दछ । रजस्वलासम्म नभएका एक वर्षदेखि नौ वर्षसम्मका कन्यालाई माता, जगदम्बा, जगद्धातृ आदि शब्दविन्यासले सम्बोधन गर्दै पूजा गर्नुको अर्थ अनेक छन् ।

एउटा बयोवृद्ध पुरुष जो चार बीस हिँउद खाइसकको छ, हजुरबाउ वा जजुबाउ भसकेको छ, यस्ता वृद्धले तोतेबोली बोल्ने पनातिनीलाई माताका रुपमा पूजा गर्ने नवदुर्गाको प्रतीक दशैंको पृष्ठभूमिमा के के अरु रहस्य होलान् ? आफैं अनुमान गर्न सकिन्छ ।

आठ दशक काटेका बुढा हजुरबुबाहरूले रजस्वला पनि नभएका ससाना कन्याकेटीलाई दशैंमा माता भनेर कन्या पूजा गरेर हिंसाजन्य यौन विकृतिका किटाणुको समूल नष्ट गर्न जुन प्रक्रियाको पालना गरे त्यो कोरा नाराबाजी थिएन । दशैंमा कन्यापूजाको शक्तिशाली पक्ष यो पनि हो ।

एउटा समान्य तर्क अघि सार्ने हो भने, स–साना कन्याको पूजाहोस् वा अन्य चाडबाडमा गरिने अष्ट मातृकाको पूजाले नारी जातिप्रति हेर्ने दृष्टिकोण र त्यसको प्रभाव समाजका युवा वर्गमा सकारात्मक पर्छ भन्ने आमविश्वास पनि हो, थियो र रहिरहनेछ ।

आफ्नो गाउँका कुनै पनि नारीलाई कुदृष्टिले हेर्ने वा मर्यादा उल्लघंन गर्ने हिम्मत गर्न नसक्ने वातावरण स्वतः बन्छ भनेर पनि कन्या पूजाको संस्कारमा जोडियो।

विवाह होस् वा ब्रतवन्ध अन्य यस्तै यज्ञयज्ञादिमा अष्टमातृकाको पूजा गर्नपर्ने हुनाले मातृगणप्रति पुरुषको दृष्टि क्रुर हिंसात्मक वा कठोर नभै सम्मान र सहयोगी हुनै पर्ने सन्देश कन्यापूजाले प्रतिवर्ष दशैंमा दिने परम्परा रह्यो ।

कुमारीका करकमलबाट पुष्पाहार ग्रहण गरेर तीनै कुमारीलाई श्रद्धाभक्तिपूर्वक प्रणाम गर्दै राष्ट्रिय एकताको प्रतीक विजयी बन्दै गरेका पृथ्वीनारायण शाहले कुमारीको दर्शन परम्परा स्थापित गरेको त्यो कालखण्डमा वर्णित इतिहास र दशैंमा कन्या पूजा वा दुर्गा पूजाको योग अस्वभाविक अवास्तविक कल्पनाको आख्यान मात्र होइन संस्कृतिको पालनामा आत्मसात गरिएको सन्दर्भ नै जोडिएको थियो ।

विवाह पूर्व सगोत्री र गोत्र बाहिरका सबै आफ्नै दाइभाई दिदीबहिनी सरह नै सम्बोधित हुन्छन् । आफूभन्दा कम उमेरकी कन्यालाई वा युवतीलाई छोरीबेटी भनिन्छ । वाग्दान वा धर्मानुष्ठानपूर्वक यो सम्बन्धमा परिवर्तन ल्याउने विधि नै विवाह संस्कार हो । यसरी विधिवत सम्पन्न विवाहपछि त्यो नारी कसैकी धर्मपत्नी, कसैकी बुहारी हुन्छिन् ।

यसले शास्त्रमा यही परिवर्तनको प्रक्रियामा विशेष विधि छ । यसरी कसैकी धर्मपत्नी, कसैकी आमा र कसैकी छोरीलाई कन्या हुँदा सबैले पूजा गरिने जगदम्बा माताकै प्रतीक हुन् ।

मानवीय उच्च गुणवक्ताको चारित्रिक विशेषता मातालाई संरक्षणको निमित्त अत्यन्त सारग्रहित प्रयोग थियो । जीवनशैलीमा धर्म र कर्म यसरी आवद्ध थियो । धर्मपत्नीको कर्तव्य, अधिकार र भूमिका जस्तै पतिको पनि कर्तव्य र अधिकार तथा भूमिकाको स्पष्ट सीमांकन वैवाहिक यज्ञस्थलबाटै सुरु हुन्थ्यो ।

पति पत्नी दुवैले प्रतिज्ञा नै गरेर गृहस्थ जीवन अथवा आश्रममा प्रवेश गर्थे । त्यसपछि उनीहरूले पनि दशैं त्यसरी गरी मान्थे जसरी आफ्ना पूवर्जहरूले मान्दै आए ।

कन्यापूजा लगायत मातृशक्तिका प्रतीक नवदुर्गा, अष्टमातृकाको पूजा—आजाले नारी जातिलाई हेर्ने जुन दिष्टकोण थियो त्यो वदलिदो शिक्षाका कारण अहिले गौण भयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.