जापान

जापानको राजनीतिक अस्थिरताबीच उदाउँदै नयाँ पुस्ता

विश्वको तेस्रो ठूलो आर्थिक शक्ति जापान राजनीतिक अस्थिरताले ग्रस्त छ । पछिल्लो पाँच वर्षमा चारजना प्रधानमन्त्री फेरिएसकेको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) विघटनको खतरामा रहेको विश्लेषण भैरहेको छ ।

प्रधानमन्त्री शिगेरु इशिबाले ७ सेप्टेम्बर २०२५ मा पदबाट राजीनामा दिएसंगै भोलि ४ अक्टोबरमा एलडीपी अध्यक्ष पदको चुनाव हुँदैछ।

जापान टाइम्समा राजनीतिक विश्लेषक योशियाकी नोहाराले लेख्नुभएको लेखमा यो चुनावबाट दशकौँसम्म जापानमा शासन गरेको पार्टी विघटन हुने खतरा देखिएको उल्लेख गर्नुभएको छ ।

पार्टीका समर्थकहरुसंग गरिएको कुराकानीमा आधारित सो लेखमा लामो समय एउटै दल सत्तारुढ हुँदा जनतामा वितृष्णा पैदा भएकोतर्फ पनि इंगित गरिएको छ ।

अर्कोतिर बढ्दो जीवनयापन खर्च, पार्टी कोष घोटाला, युवाहरूको शहर पलायन, पपुलिस्ट र अति दक्षिणपन्थी पार्टीहरूको उदय जस्ता कारणहरूले पुराना पार्टीको आधार कमजोर भएका छन्।केही युवा अति दक्षिणपन्थी पार्टीहरूले यही राजनीतिक विकृतिको फाइदा उठाइरहेका छन् ।

उदाहरणका लागि, उदीयमान दक्षिणपन्थी जनवादी पार्टी सान्सेइतोले जुलाईमा भएको संसदीय चुनावमा ठूलो सफलता हासिल गर्‍यो । उसले डोनाल्ड ट्रम्पको शैलीमा ‘जापानीज पहिलो’ भनेर प्रचार गरेपछि माथिल्लो सदनमा १४ सिट जित्यो।

सान्सेइतो एक अनलाइन समूहको रूपमा सुरु भएको थियो, जसको युट्युब च्यानलमा अहिले आधा मिलियन भन्दा बढी सब्सक्राइबरहरू छन्। यसको सफलताले हालका वर्षहरूमा जापानको ‘डिजिटलकृत समाज’ मा भएको परिवर्तनलाई संकेत गर्छ ।

यसले पुरानो शैली र तरिकाले चल्ने पार्टीहरू मतदाताहरूबाट कसरी विच्छेद भइरहेका छन् भन्ने देखाउँछ । इबाराकीकी सांसद नाओको ताकाहाशी भन्नुहुन्छ, ‘सन् २०२२ मा पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या भएदेखि पार्टी समर्थन घट्दै गएको हो। हामी धेरै वामपन्थी जस्तै देखियौं, त्यसैले दक्षिणपन्थी मतदाता टाढा भए ।’

शनिबार एलडीपी अध्यक्षको निर्वाचन हुँदैछ र जापानमा बहुमत भएको पार्टीको अध्यक्ष नै प्रधानमन्त्री बन्ने अभ्यास रहेकाले चुनावमा जो विजयी हुन्छ, उसलाई संसदमा मतदानपछि प्रधानमन्त्री बनाइनेछ।

पहिलो चरणमा केवल दुई उम्मेदवार अघि बढ्नेछन्। दोस्रो चरणमा सांसदहरूको मतलाई बढी महत्व दिइन्छ। अध्यक्ष पदको दौडमा पाँच उम्मेदवार छन्, तर प्रतिस्पर्धा भने दुई जनाबीच केन्द्रित देखिएको छ।

क्योदो न्युजले आइतबार गरेको सर्वेअनुसार पूर्व आर्थिक सुरक्षा मन्त्री साना ताकाइची ३४.४ प्रतिशत मत समर्थनसहित सबैभन्दा अगाडि हुनुहुन्छ । कृषि मन्त्री २९.३ प्रतिशत समर्थनका साथ शिन्जिरो कोइजुमी दोस्रो स्थानमा हुनुहुन्छ ।

सर्वेक्षण अनुसार पार्टी सदस्यहरूबीच ताकाइची र कोइजुमी अगाडि भए पनि सांसदहरूबीच कोइजुमी र हयाशी बलियो देखिनुभएको छ ।

यदि ताकाइची विजयी भए उहाँ जापानकी पहिलो महिला प्रधानमन्त्री बन्नुहुनेछ । ताकाइची स्व. प्रधानमन्त्री शिन्जो आबेकी निकट नेतृ हुनुहुन्छ । संविधान संशोधन र राष्ट्रिय सुरक्षामा प्रखर उहाँ सन् २०२४ को निर्वाचनमा दोस्रो हुनुभएको थियो ।

अर्कोतर्फ, कोइजुमी विजयी भए ४५ वर्षकै उमेरमा जापानका सबैभन्दा कान्छा प्रधानमन्त्री बन्ने कीर्तिमान कायम हुनेछ । उहाँ पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुन् ।

युवा, मिडियामैत्री, समलैङ्गिक विवाह र लैङ्गिक समानतामा उदारता उनका खास परिचय हुन् । सन् २०२४ को निर्वाचनमा तेस्रो स्थान हासिल गर्नुभएको थियो ।

विजयी उम्मेदवार संसदमा प्रधानमन्त्री बन्ने निश्चितजस्तै छ, किनभने विपक्षीहरूले साझा उम्मेदवार चयन गर्न सकेका छैनन्। तर विजेताले बलियो सरकार पाउने छैन। पार्टीले दुवै सदनमा बहुमत गुमाइसकेकाले अल्पमत सरकार मात्र हुनेछ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.