जन सरोकार

काठमाडौंमा स्वास्थ्य संकटकालको घोषणा गर्नुपर्ने आवाज उठ्दै

निषेधाज्ञा हटाइएयता देशभर कोरोना संक्रमितको संख्या बढेको छ र जति बढेको छ त्यसमा आधाभन्दा बढी राजधानी काठमाडौं उपत्यकामा रहेको छ । निकै बाक्लो बस्ती रहेको काठमाडौंमा संक्रमितको दर उच्च छ र यो समुदायस्तरमा पुगिसकेको स्पष्ट संकेत प्रधानमन्त्री निवास बालुवाटारमा समेत ६७ जना संक्रमित भएको घटनाबाटै पुष्टि हुन्छ ।

शनिबार प्रधानमन्त्रीका तीनजना सल्लाहकार र एकजजना स्वकीय सचिवसहित प्रधानमन्त्री निवास बालुवाटारका ६७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंमा कति भयावह स्थिति छ र भविष्यमा कति भयानक नतिजा आउने हो भन्ने यक्किन छैन । विज्ञहरुले काठमाडौंमा जुन रुपमा संक्रमित बढिरहेका छन् यो निकै चिन्ताजनक अवस्था रहेको बताइरहेका छन् ।

नेपालमा संक्रमितको अवस्था उच्च रहेको छ । शुक्रवार १४,७४९ व्यक्तिको पीसीआर परीक्षण गर्दा २,७२२ अर्थात् परीक्षण गरिएकामध्ये करिब १९ प्रतिशत सङ्क्रमित दर देखियो । अहिले चिन्ताजनक देखिएको यो अवस्था हिउँदको अन्त्यसम्म जारी रहने सम्भावना रहेकोले सरकारले ढिला नगरी नियन्त्रणका थप उपाय अपनाउनुपर्ने जनस्वास्थ्यविज्ञको सुझाव छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार परीक्षण गरिएका सङ्ख्या मध्ये ३ देखि १२ प्रतिशतमा सङ्क्रमण देखिए त्यसलाई सामान्य अवस्थाकै रूपमा लिइन्छ । तर त्योभन्दा बढी देखिए नियन्त्रणका लागि थप प्रयास गर्नुपर्ने हुन्छ । नेपाल केही सातायता त्यही अवस्थामा रहेको छ ।

अझ जनघनत्व बढी भएका कारण मानिसको आवातजावत बढ्ने काठमाडौं उपत्यकामा मात्रै शुक्रवार ६० प्रतिशत र शनिवार ५५ प्रतिशत सङ्क्रमित देखिएकाले सरकारले तत्काल जनस्वास्थ्य सङ्कटकाल लागु गर्नुपर्ने र कोरोना भाइरस सम्बन्धी सामाजिक संहिता लागु गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

अहिलेकै अवस्थामा संक्रमितहरु बढिरहने हो भने काठमाडौंमा मात्रै कम्तीमा करिब १० हजार अक्सिजनको व्यवस्था भएको बेडसहितका आइसोलेसन सेन्टर बनाउनुपर्ने देखिन्छ । एक जनस्वास्थ्यविदका अनुसार अहिलेसम्म पनि लक्षण नदेखिएका सङ्क्रमितको सङ्ख्या धेरै छ तर जब घरमा आइसोलसनमा बसेका बिरामी अस्पताल जानुपर्ने अवस्थामा अस्पतालले थेग्दैन त्यस्तो अवस्थामा स्वास्थ्यकर्मी र अक्सिजनको सुविधा भएको आइसोलेसन सेन्टरमा राख्नुपर्छ ।

अहिले नै कोरोनाभाइरसबाट सङक्रमित व्यक्ति जनरल वार्डमा धेरै रहेको र उनीहरूको अवस्था बिग्रिएपछि आइसियूमा लैजान ठाउँ अपुग हुन थालेको कतिपय चिकित्सकको भनाई छ । अहिले कुनै पनि अस्पतालमा आइसियू पाउन गाह्रो छ ।

स्वास्थ्य मन्त्रालयका अवैतनिक सल्लाहकार डा। सुरेश तिवारी सङ्क्रमितको अहिलेको अवस्थाले समुदाय स्तरमा तीव्र गतिमा सङ्क्रमण फैलिरहेको र नियन्त्रणका लागि जनस्वास्थ्य स्वास्थ्य सङ्कटकाल लागु गर्न ढिला भइसकेको बताउनुहुन्छ । त्यसो त स्थानीय तहहरुले पनि सरकारले गरेको पछिल्लो निर्णय र कदमप्रति असन्तष्टि जनाउँदै आएका छन् ।

अहिलेकै गतिमा संक्रमण फैलद जाने हो भनेन आउँदा हिउँदमा थेग्नै नसक्ने गरी संक्रमण बढ्ने विज्ञहरुको आँकलन छ । अहिले नै चिन्ताजनक देखिएको यो अवस्था दशैं, तिहार र छठपछि अरु बढ्ने र हिउँदको अन्त्यसम्म जारी रहने सम्भावना रहेकोले सरकारले ढिला नगरी नियन्त्रणका थप उपाय अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.