जल/वातावरण

यस वर्ष हुने भयो हिले दशैं, विजया दशमीको दिन देशभर सामान्यदेखि पूर्ण बदली रहने

यस वर्षको दशैं हिलो दशैंमा परिणत हुने भएको छ । आज दशैंको महानवमीका दिन देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । आजको वर्षाले गर्दा दशैंका क्रममा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले देशभर नै वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सोमबार (महाष्टमी) का दिन पनि देशभरका विभिन्न स्थानमा अविरल वर्षा भएको र मङ्गलबार (आज) पनि देशभर मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएकाले बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेस प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको अनुमान गरिएको छ ।

काठमाडौं उपत्यकामा पनि अहिले पानी परिरहेको छ । यस वर्षको दशैं वर्षामय हुने भएकाले विज्ञहरूले टीका लगाउन जाँदा खहरे खोलानालामा सावधानी अपनाउन आग्रह गरेका छन् । हाल प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको विभागको भनाइ छ ।

प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै आज राति देशभर सामान्य बदली रहनेछ ।

दशैँको टीकाको दिन देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा तथा प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

टीकाको राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

टिकाको भोलिपल्ट अर्थात् बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । बिहीबार राति सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.