अर्थकृषि

सिगानाको अकबरे खुर्सानी पुग्छ युरोप-अमेरिकासम्म

पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजातीमध्यको एक अकबरे खुर्सानीको बागलुङ सिगानाका किसानहरुले व्यावसायीक उत्पादन थालेका छन् । अहिले यहाँका खुर्सानी यृरोप, अमेरिका पुग्न थालेको छ ।

सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खडकाले तीन वर्षदेखि अकबरे खुर्सानी खेती गर्दै आउनुभएको छ । खड्काले पहिलो वर्ष लगाएको अकबरे खुर्सानीको माग राम्रो आएपछि यो खेतीतर्फ आकर्षित भएको बताउनुभयो ।

उहाँले लगातार दुई वर्षदेखि दुई रोपनी जग्गामा व्यवसायीक रुपमा अकबरे खुर्सानी उत्पादन गर्नुहुन्छ र यसको अचार बनाएर ‘ब्राण्डीङ’ समेत गर्दै आउनुभएको छ ।

“मेरो मुख्य पेसा त सुन्तला खेती हो तर सुन्तला खेतीमा सिजनको कामबाहेक अघिपछि फुर्सद हुन्छ, कृषि भ्रमण तथा अवलोकनको समयमा व्यवसायिक रुपमा अकबरे खुर्सानी खेती गरेको देखेर तीन वर्षअघि पर्वत जिल्लाको पातीचौरबाट एक सय बिरुवा लिएर लगाएको थिएँ” कृषक खड्काले भन्नुभयो ।

“अहिले अकबरे खुर्सानीको हरियो दाना केजीको रु चार सय ५० र अचार बनाएर ‘प्याकेजीङ’ गरेको आधा केजीको रु रु चार सय ५० मा विक्री गर्दै आएको छु, यहाँको अचार कोसेली बनेर युरोप, अमेरिका र अष्ट्रेलिया पुगिसकेको छ ।”

खड्काले खुल्ला स्थानमा भन्दा प्लाष्टिक टनेलमा राम्रो गुणस्तरको खुर्सानी फल्ने गरेको अनुभव सुनाउनुभयो । उहाँले पाकेको अकबरे खुर्सानी सुकाएर बनाएको अचार सहकारीको लोगो राखेर प्याकेजिङ गरेर विक्री वितरण गर्दा दुईदेखि तीन वर्षसम्म स्वस्थ नै हुने बताउनुभयो । उहाँका प्लाष्टिक टनेलमा अहिले करिब आठ सय अकबरे खुर्सानीका विरुवा छन् ।

उत्पादन भएका खुर्सानी स्थानीय श्रीगणेश कृषि व्यवसायिक सहकारी संस्थाको ब्राण्डमा विक्री गर्ने गरिएको छ । उहाँले सहकारीमार्फत् संस्थाका शेयर सदस्यलाई अकबरे खुर्सानीका बिरुवा वितरण गरिएको सहकारीले जनाएको छ । ख्डकाले यो वर्षमा रु एक लाखको अकबरे खुर्सानी विक्री गर्ने लक्ष्य राख्नुभएको छ ।

अकबरे खुर्सानीको स्वदेश र विदशेमा माग बढ्दै गएपछि स्थानीय किसान सुरेन्द्र खड्का र शिव खड्कसमेतले अकबरे खुर्सानी उत्पादन गर्न थाल्नुभएको छ । तीन जना कृषकलेनै उत्पादन गरेको खुर्सानी सहकारीको ब्राण्डमा अहिले अचार बनाएर बजार पठाउने गर्नुभएको छ ।

सहकारीले एक हजार आठ सय खुर्सानीका विरुवा आगामी वर्ष वितरण गर्ने र सहकारीमार्फत् ब्राण्ड बनाएर विक्री गर्ने योजनामा सहकारीको रहेको सो सहकारीका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । यस वर्ष रु ५० हजारको अकबरे खुर्सानीको अचार विक्री गर्ने लक्ष्य रहेको शिव खड्काले बताउनुभयो ।

भान्सामा स्वाद र पिरोका लागि रुचाइएको अकबरे खुर्सानीको पछिल्लो समयमा स्वदेशी र बिदेशी बजारमा पनि माग बढ्दै गएको उहाँहरुको भनाइ छ । अकबरे खुर्सानी बढी पिरो हुने भएपनि स्वास्थ्यमा असर नगरेर फाइदा गर्ने भएकाले उपभोक्ताको रोजाइमा उक्त खुर्सानी पर्दै आएको यसका किसानहरुको अनुभव छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.