अर्थ

मानव स्वास्थ्यमा प्रचूर लाभ दिने तेजपत्ताले पाएन बजार

कोरोना संक्रमणबाट बच्न र संक्रमित भए पनि विभिन्न जडिबुटीको सेवन गर्न सल्लाह दिने गरिएको छ । हुन पनि नेपालमा यस्ता अनेकौं बोटबिरुवा छन्, जो मानव स्वास्थ्यका लागि अति उपयोगी सिद्ध भएको छ र घरघरमाा दैनिक प्रयोगमा आउँछन् । यस्तै दैनिक प्रयोग हुने तेजपत्ता हो । भिटामिन ए र सीका साथै फोलिक एसिड नामक तत्व पाइने तेजपत्ता क्यान्सर, मधुमेह र पेटसम्बन्धी समस्यामा यसको उपभोग फाइदाजनक हुने अनुसन्धानबाट देखिएको छ ।

सन् २०१६ मा जर्नल अफ बायोकेमिकल न्यूट्रिसनमा प्रकाशित रिसर्च रिपोर्टका अनुसार मधुमेहबाट पीडितले तेजपत्ता खाँदा उपयोगी हुन्छ । यसको सेवनले बोसोजन्य पदार्थबाट उत्पन्न समस्यामा फाइदा हुने र रगतमा ग्लूकोजको मात्रा सामान्य हुने शोधमा उल्लेख छ । कपर, पोटासियम, क्याल्सियम र आयरनजस्ता मानव स्वास्थ्यका लागि अति आवश्यक पोषक तत्व तेजपत्तामा पाइन्छ । कब्जियत र एसिडिटीको समस्यामा तेजपत्ताले औषधीकै काम गर्छ ।

समुद्र सतहबाट १०० देखि २ हजार ५०० मिटरसम्मको उचाईमा फस्टाउने तेजपत्ताको वैज्ञानिक नाम ‘सिन्नामोमम तामला’ हो । यसको सदावहार झुप्प पात हालेको रुख हुन्छ । झापाको बाहुनडाँगी भूबनोटका हिसाबले तेजपत्ता खेतीका लागि अनुकूल भएको छ । विगत तीन दशकदेखि हात्तीपीडित गाउँको रुपमा चिनिदै आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रको रुपमा परिचित छ । तर कोभिड–१९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै आएका किसान मारमा परेका छन् । मेचीनगर नगरपालिकाको वडा नं. १,२,३,४ र ५ मा फैलिएको साविक बाहुनडाँगी गाविसमा करिब एक हजार किसानले आफ्नो खेतबारीमा तेजपत्ताको बोट हुर्काएका छन् । विगतमा भारतीय बजारमा लैजाने विचौलिया व्यापारी तेजपत्ता किन्न गाउँगाउँ डुल्थे । यसपाली कोरोनाको डरले बाहिरबाट व्यापारी आएका छैनन् ।

चिया, मसला र औषधीको रुपमा प्रयोग हुँदै आएको तेजपत्ताको बोट हुर्किएको तेस्रो वर्षदेखि हरेक वर्ष तीनपटक यसको पात टिपेर उत्पादन गरिन्छ । सुगन्धित र स्वादिष्ट हुने भएकोले खानेकुरामा पकाएर समेत यसको उपभोग हुने गरेको छ ।

मेचीनगर–४ आमडाँगीमा १५ विगाहा निजी जग्गामा चियाखेती गर्दै आउनुभएका व्यावसायिक किसान रबि नेपालले चियाको बोटलाई छायाँ दिन पाँच हजारभन्दा बढी तेजपत्ताको बोट हुर्काउनु भएको छ ।

बाहुनडाँगीमा एक सयदेखि १० हजार बोटसम्म तेजपत्ता हुर्काएका किसानको सङ्ख्या एक हजारसम्म हुनसक्ने उहाँ बताउनुहुन्छ । तर कति किसानले यसको खेती गरेका छन् र यसबाट के कस्तो लाभ भइरहेको छ भन्ने बारेमा अहिलेसम्म सरकारी तहबाट खोज भएको छैन ।

बजार नपाएपछि बाख्रालाई घाँस

बाहुनडाँगीमा मात्र ५० देखि ६० करोड रुपैयाँ मूल्य बराबरको तेजपत्ता वर्षेनी उत्पादन हुने देखिन्छ । बजारिकरण हुन नसकेर तेजपत्ता बोटमै खेर गइरहेको र कतिपयले बाख्रालाई घाँस खुवाउने गरेको पाइएको छ । विसं २०६७ देखि तेजपत्ता खेतीमा लागेका नेपाल बन्धु कृषि फर्मका सञ्चालक रबि नेपाल आफुले अलिकति भए पनि प्रशोधन र ब्रान्डिङ गरेर प्रदेश नं. १ को अधिकांश बजारमा तेजपत्ताको विक्री गर्दै आएको बताउनुहुन्छ ।

‘‘मैले घरेलु प्याकेजिङ उद्योग चलाएर बेच्दै आएको छु,’’ उहाँ भन्नुहुन्छ–‘‘अधिकांश किसानले त्यसो गर्न सक्नुहुन्न, उहाँहरुको तेजपत्ता नबिकेर बाख्रालाई घाँसको रुपमा खुवाइरहनु परेको दुःखलाग्दो अवस्था छ ।’’ दशैँ, तिहार जस्ता चाडबाडका बेला विगतमा तेजपत्ताको माग ह्वात्तै बढ्थ्यो । यसपाली कोभिड–१९ को महामारीका कारण बजार सुस्ताएको हुँदा विगतको जस्तो भारतीय बिचौलियाहरु काँचो तेजपत्ता किन्न घरघरै नआएको स्थानीय किसानहरु बताउँछन् ।

किन्ने भारतीय व्यापारी नआएपछि हुर्किएको तेजपत्ता कि बोटमै खेर जान्छ, कि त बाख्रालाई घाँसको रुपमा खुवाउन बाध्य छन् किसान ।

अन्तर्राष्ट्रिय बजारको खोजी

तेजपत्ताको माग अन्तर्राष्ट्रिय बजारमा राम्रो रहेको हुँदा यसको बजार विदेशमा समेत खोज्न सकिने नेपाल उद्योग वाणिज्य महासङ्घको प्रदेश नं. १ का अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो । ‘‘झापा, उदयपुरलगायत प्रदेश नंं. १ मा ठूलो मात्रामा उत्पादन भइरहेको तेजपत्ताका बारेमा हाम्रो चासो छ,’’ उहाँले भन्नुभयो–‘‘तर विदेशमा पठाउनु अघि कति मात्रामा, कहाँ कहाँ, कस्तो गुणस्तरको उत्पादन भइरहेको छ भनेर अध्ययनको जरुरी हुन्छ । हामी लगत सङ्कलनको तयारीमा छौँ ।’’

बङ्गलादेश लगायतका तेस्रो मुलुकमा नेपाली कृषि र जडिबुटीजन्य उत्पादनको निर्यात सम्भावना भए पनि नेपालले नै माग बमोजिमका बस्तु लैैजान नसकेको उहाँको भनाई छ । बङ्गलादेशमा नेपाली अदुवाको माग धेरै भएको तर निर्यातमा कठिनाई भइरहेको उहाँले स्मरण गराउनुभयो ।

तेजपत्ता अहिले पनि भारतबाट आयात भइरहेको पाइएको हुँदा नेपाली उत्पादनलाई स्वदेशी बजारमै बिक्री हुने वातावरण तयार पार्ने विषयमा प्राथमिकता दिइनु पर्ने महासङ्घका प्रदेश अध्यक्ष खड्काले जोड दिनुभयो ।

तेजपत्ता उत्पादक रबि नेपालले बङ्गलादेशस्थित नेपाली राजदूतावासमार्फत त्यहाँका व्यवसायीहरुसँग तेजपत्ताको निर्यातका बिषयमा कुराकानी अघि बढिरहेको जानकारी दिनुभयो । ‘‘बङ्गलादेशका व्यवसायीहरुले बाहुनडाँगीको तेजपत्ताको नमूना मागेका थिए,’’ निर्यातको सम्भावनाबाट उत्साहित भएको जनाउँदै उहाँले भन्नुभयो–‘‘उताबाट नमूना स्वीकृत भइसकेको छ, अब सामान पठाउने प्रक्रियाका सम्बन्धमा काम अघि बढाउँदैछौँ ।’’

दुबई, कोलकाता, दिल्ली र हैदराबादबाटसमेत यसको नमूना मागिएको उहाँले बताउनुभयो । तेजपत्तालाई कृषि बस्तुको साटो बन पैदावारको रुपमा राज्यले सूचीकृत गरेको हुँदा विदेश निर्यातमा बन कार्यालयको स्वीकृति आवश्यक परेको उहाँले सुनाउनुभयो । जिल्ला बन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले व्यवसायीहरुले आफ्नो पालिकाको वडा कार्यालयबाट सिफारिस लिएर आएमा निर्यातको स्वीकृति दिइने बताउनुभयो । मेचीनगरबाट केही व्यवसायीहरु तेजपत्ताको निर्यात अनुमतिका लागि आउनुभएको घिमिरेले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

Back to top button