जन सरोकार

घर फर्किनुपर्ने समयमा भारत पस्ने बाध्यता

सामान्य अवस्था हुन्थ्यो भने यतिबेला भारतमा मजदूरी गर्न गएकाहरु घर फर्कने लर्को लाग्थ्यो । तर यसपटक ठीक विपरीत भएको छ, दशैं र तिहारमा मुग्लानबाट फर्किई परिवारसित चाडपर्व मनाउने यहाँको विगतको परम्परा यस वर्ष कोरोना कहरका कारण सङ्कटमा परेको छ । बन्दाबन्दीमा कोरोनाको त्रासले स्वदेश फर्किएकाहरु चाडपर्वका मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका छन् ।

कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट सोमबार बिहान मात्रै २३७ जना रोजगारीका लागि भारतका विभिन्न शहर गएका छन् ।“विगत वर्षहरुमा यो समयमा सीमानाकामा दशैं मनाउने घर आउनेहरुको लर्को देख्न पाइन्थ्यो ।” जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भन्नुभयो“ मजदूरीका लागि भारत जानेहरु चाडपर्वको मुखमा पनि जाने क्रम रोकिएन ।”

सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य हो भारत । कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता मात्रै यहाँका नाकाबाट मात्र झण्डै दुई लाख नागरिक स्वदेश फर्किएका थिए ।गाउँमा रोजगारी नपाइनाले पनि उनीहरु कोरोना कहरकै बीच पुनः भारत रोजगारीका लागि जाने क्रम गत महिनादेखि शुरु भएको हो ।

त्यसै गरी लालाबालासहित भारतको पञ्जाब गइरहेका भीमदत्तनगरपालिका–९ का कल्लु टमाटाले चाडपर्वका बेला घर आउने समयमा आफूहरु बाध्यताले विदेशिरहेको बताउनुभयो ।“ छोराछोरीको पालनपोषण भन्दा ठूलो चाडपर्व होइनन् ।” उहाँले भन्नुभयो“ ज्यान रहे त पर्व र खुशीहरु कहाँ जालान् ।”

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना प्रभावित युवालाई स्वरोजगार लक्ष्यसहित कृषि तथा पशुतर्फ रोजगारी दिन आवदेन लिएको छ तर भारत जाने क्रम भने रोकिएको छैन । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जंगबहादुर मल्लले बन्दाबन्दीमा सात महिनादेखि बेरोजगार युवा बाध्यताले चाडपर्वका बेला भारत गइरहेको बताउनुभयो । उहाँले विपन्न समुदायमा छाक टार्नसमेत धौ धौ हुने स्थिति देखिन थालेको बताउनुभयो ।

बजार, व्यवसाय कोरोनाका कारण धराशायी रहेको जनाउँदे उहाँले यस्तो महाकष्टका बेला बजारमा भीडभाड पनि गर्न आग्रहसमेत गर्नुभयो । “स्वास्थ्यसितको कुरो भएकाले पनि यस वर्ष दशैंमा चहलपहल गर्नु हुँदैन ।” अध्यक्ष मल्लले भन्नुभयो“आर्थिक चपेटाका बीच पनि स्वास्थ्यप्रति संबेदनशील हुने बेला हो ।”

सोमबार गड्डाचौकी नाकाबाट २४५ जना र गौरीफन्टा नाकाबाट ३४४ जना स्वदेश फर्किएको थिए । गड्डाचौकीनाकाबाट भारत मजदुरीका लागि जाँदै गरेका लालझाँडी गाउँपालिकाका पुरन रानाले आफू भारतको सिमाला गइरहेको बताउनुभयो । “यो स्याउ टिप्ने मौसम हो ।” उहाँले भन्नुभयो–“हामीले स्याउ टिपेर कमाएको पैसाले घर खर्च चल्छ ।” लकडाउनका बेला घर फर्किएका रानाले घरखर्च चलाउन समस्या हुन थालेपछि भारत जान लागेको सुनाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.