अर्थ

महँगो अमेरिकी डलर : नेपाली अर्थतन्त्रमा अर्को चुनौति

एकसातायता अमेरिकी डलरको विनिमयदरमा भएको भएको वृद्धि कायमै छ । आज (२० असोज)को प्रति अमेरिकी डलर खरीद दर १३० रुपैयाँ १४ पैसा छ भने विक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ ।

अमेरिकी डलरको मूल्यमा आएको बढोत्तरीले नेपाली अर्थतन्त्रमा थप नकारात्मक असर पर्ने खतरा देखिएको छ । विदेशी मुद्रा सञ्चति जोगाउन प्रयास भइरहँदा डलर नै महँगिँदै गएपछि आयातकै लागि थप खर्चनुपर्ने र निर्यातबाट पनि खासै लाभ लिन नसक्ने अवस्था सिर्जना भएको छ ।

बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैङ्कले पटकपटक ब्याजदर बढाएकाले विश्वमै डलर महँगिँदै गएको हो । युरो, स्टर्लिङ पाउन्ड, जापानी येनलगायत विश्वका प्रमुख छवटा मुद्राको तुलनामा सन् २०२२ मा अमेरिकी डलरको सूचकाङ्क १५ प्रतिशतले बढेको देखाएको छ । यो दुई दशककै उच्च हो ।

भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमय दर भएका कारण भारतीय मुद्रा अवमूल्यन हुँदा सँगै नेपाली मुद्रा पनि अवमूल्यन हुन्छ ।

डलर महँगो हुँदै गर्दा विगतमा भारतको केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इन्डियाले प्रतिडलर ८० भारु पार गर्न थालेपछि सञ्चित डलर बिक्री गरेर लाभ सुरक्षित गर्ने गरेको थियो तर अहिले भारतमा विदेशी मुद्रा सञ्चति पाँच खर्ब ५० अर्बभन्दा तल झरेका कारण डलर बेच्न सकिरहेको छैन ।

डलर महँगिने क्रम अझै जारी नै रहने अन्तर्राष्ट्रिय विश्लेषकहरुले औँल्याएका छन् । अमेरिकी केन्द्रीय बैङ्कले पछिल्लो छ महिनामा ब्याजदर ०.७५ प्रतिशतका दरले तीन पटक वृद्धि गरेको छ र मूल्य वृद्धि नियन्त्रण गर्न यो क्रम अझै जारी रहने भएकाले पनि डलरको मूल्य बढ्ने बताइएको छ ।

नेपाल राष्ट्र बैङ्क विदेशी विनिमय विभाग प्रमुख रामु पौडेलका अनुसार विश्व वित्त प्रणालीकै प्रवृत्तिका रूपमा डलर बलियो बनिरहेको छ । अब सबैले भएको डलर जोगाउनु नै उत्तम हो भन्दै उहाँले अझै महँगिन सक्ने डलर सञ्चितिमा लगानीकर्ताले लाभ देख्नुले विश्वमै सेयर बजार खस्किएको पनि बताउनुभयो ।

मुलुकको आयातमा डलरको मूल्य बढ्दा समस्या पर्ने देखिए पनि विप्रेषण आप्रवाहबाट हुने आयमा भने लाभ हुनेछ । तापनि नेपाली अर्थतन्त्रमा डलर बढ्दा नाफाभन्दा घाटा नै अधिक हुन्छ ।

आयातमुखी अर्थतन्त्र भएकाले यसका लागि धेरै खर्चनुपर्ने अवस्था छ । लाभ लिने निर्यात क्षेत्र भने पछिल्लो दुई महिनाको तथ्याङ्कले खस्किँदो देखाउँछ । आव २०७८।०७९ को पहिलो दुई महिना (साउन र भदौ)मा भन्दा चालू आर्थिक वर्षको सोही अवधिमा निर्यात ३४।८८ प्रतिशतले कम भएको छ ।

विदेशका नेपाली सामान आयातकर्ताले अझै नेपाली मुद्राका आधारमा वस्तुको मूल्य निर्धारण गरेर महँगिएको डलरको लाभ आफूले नै सुरक्षित गर्ने प्रवृत्ति छ । यसले गर्दा नेपालले निर्यातबाट लाभ लिन सक्ने अवस्था छैन ।

राष्ट्र बैङ्कको आयात नियन्त्रणका प्रयासले १३.०१ प्रतिशत आयात खुम्चिएको छ । राष्ट्रिय अर्थतन्त्रको रक्षाका लागि आयातलाई अझै कडाइ गर्ने र विदेशी वस्तु खपत नगर्न आमनागरिकलाई जागृत गर्नुपर्ने अवस्था आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.