जन सरोकार

पहिरोका कारण देशका प्रमुख राजमार्गहरु अबरुद्ध

दशैंको बेला भैरहेको अविरल वर्षाले देशका प्रमुख राजमार्गहरुमा पहिरो खस्दा यातायात अबरुद्ध भएका छन् । पहिरोले राजधानी काठमाडौंलाई बाँकी भूभाग जोड्ने प्रमुख मार्ग नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन् । सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।

यसै गरी सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड अवरुद्ध भएको छ । आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।

बिहानदेखि अवरुद्ध भएको सडक खुलाउनका लागि सडक विभागको डोजर पठाउन समन्वय भइरहेको छ । अविरल वर्षासँगै खसेको पहिरोका कारण दसैँको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने जानेहरु बीचमै रोकिएका छन् ।

त्यस्तै स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा पनि अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी खुलाइएको छ । मङ्गलबार रातिदेखि अविरल परेको वर्षाका कारण बडादशैँमा आफ्ना मान्यजनबाट टीका लगाउन जानेलाई सास्ती भएको छ । जिल्लाका ग्रामीण भेगमा सवारी साधन चल्न नसक्दा यसपालिको दशैँ कष्टकर बनेको छ ।

त्यसै गरी निरन्तरको वर्षाका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । बङ्गालको खाडीबाट उर्लिरहेकोे न्यून चापीय बायुको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा भएको निरन्तरको वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

अधिक वर्षा भएपछि उक्त सडक खण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

अधिक वर्षा भएपछि यस सडकखण्डमा पहिराले क्षति पु¥याएपछि पूर्णरुपमा यातायात अवरुद्ध भएको उहाँले बताउनुभयो । “यस सडक खण्डअन्तर्गत खोत्रोमा सडकको बीच भागमा नै भल बगेकाले यात्रा गर्न सक्ने अवस्था छैन”, प्रजिअ आचार्यले भन्नुभयो, “योसँगै अन्य स्थानमा पनि कति बेला माथिबाट पहिरो खस्छ भन्ने थाहा नभएकाले यात्रा गर्न जोखिम रहेको छ ।”

पर्यटक आउने अनुकूल मौसम भएकाले सडकमार्फत यात्रा गर्न समस्या हुँदा मनाङ भ्रमणमा आउने पर्यटकले यस विषम् परिस्थितिलाई ध्यानमा राखेर यात्रा नगर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

प्रशासन कार्यालयले कसैले मनाङको अनुपम छटाले भरिपूर्ण प्रकृतिसँग रमाउनका लागि आफ्नो यात्रा तय गरेको भए सडक सञ्चालन भएको जानकारी लिएर मात्र योजना बनाउन पनि सम्बन्धित यात्रुलाई अनुरोध गरेको छ ।

त्यस्तै अविरल वर्षासँगै खसेका पहिराका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।

तीन दिनदेखिको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ । पहिराकै कारण बागलुङ बजार–बलेवा–कुश्मीशेरा, टाकुरी–अदुवाबारीलगायत सडक अवरुद्ध भएको हो । कतिपय स्थानका सडक भासिएको छ ।

राष्ट्रिय गौरवकै आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ, गलकोट, बुर्तिबाङ सडक पनि अवरुद्ध छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीका अनुसार सडकको ठाउँ ठाउँमा पहिरो खसेको छ ।

खहरे र ग्रामीण क्षेत्रका खोलामा बाडी आएको छ । ठाउँठाउँमा पहिरो जाँदा पदमार्गसमेत अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेको जैमिनी नगरपालिका–३ का बेद छन्त्यालले बताउनुभयो ।

दशैँका टीका लगाउन आफन्तकोमा जाने अवरुद्ध सडकका कारण समस्यामा परेका छन् । सवारी साधान सञ्चालन नहुँदा सर्वसाधारण पैदलयात्रा गर्दै टीका लगाउन जान थालेका छन् ।

जिल्लामा सबै ग्रामीण सडक अवरुद्ध भएकाले पोखरा बागलुङ राजमार्गसँग बाहेक बागलुङ सडक सम्पर्कबाट विच्छेद भएको छ । स्थानीय सडक अवरुद्ध हुँदा किसानले तरकारी, दूधलगायत उत्पादन बजार पुर्याउन नपाएको गुनासो गरे ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.