नेपालमा राम्रो व्यापार गरेको ‘पेन्सनपट्टा’को जापानमा व्यापक चर्चा
नेपालमा नेपालमा हाउसफूलका साथ प्रदर्शन भैरहेको चलचित्र ‘पेन्सनपट्टा’ अब जापानका नेपाली दर्शकमाझ पुग्दैछ। चलचित्र प्रदर्शनको मिति नजिकिंदै गर्दा जापानमा व्यवसाय गरेर बसेका नेपालीहरुले यसको स्वतःस्फूर्त प्रचारप्रसार गर्न थालेका छन् ।
नेपालमा व्यावसायिक रूपमा राम्रो प्रदर्शन गर्दै दर्शकको सकारात्मक प्रतिक्रिया पाएको चलचित्रको टोकियो प्रदर्शनका लागि टिकट बुकिङ खुलेको केही दिनमै ७० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको छ।
चलचित्रको टोकियो प्रदर्शन यही अक्टोबर १२ मा हुँदैछ। न्यू आईटी भेञ्चररएनआईटीभी समूह र तमु धिं जापानको आयोजना तथा प्रस्तुतिमा टोकियोस्थित मेगुरो कुमिन सेन्टर, २–४–३६ मेगुरो, मेगुरो–कु, टोकियोमा चलचित्र प्रदर्शन गरिनेछ।
पहिलो प्रदर्शन दिउँसो १ बजे र दोस्रो प्रदर्शन अपराह्न ४ः३० बजे हुनेछ। टिकटको मूल्य ३ हजार येन निर्धारण गरिएको छ। चलचित्रको व्यापारिक सफलतासँगै विदेशमा रहेका नेपाली दर्शकमाझ यसको माग बढेको आयोजकहरूको भनाइ छ। जापानका अन्य शहरहरुमा पनि पेन्सनपट्टा प्रदर्शनका लागि तयाी भैरहेको छ ।
लाहुरे जीवनका कथा, पारिवारिक सम्बन्ध र त्यसले समाजमा पारेको प्रभावलाई केन्द्रमा राखिएको चलचित्रको लेखन तथा निर्देशन माओत्से गुरुङले गर्नुभएको हो।
चलचित्रमा लाहुरे संस्कृतिलाई केवल सैनिक जीवनको कथाका रूपमा प्रस्तुत नगरी त्यसले परिवार, प्रेम, सम्बन्ध र सामाजिक संरचनामा पारेको प्रभावलाई कथाको मूल विषय बनाइएको छ ।
चलचित्रको कथामा पूर्वभारतीय सैनिक गङ्गाबहादुरको निधनपछि उनकी कान्छी श्रीमती छलमाया र छोरा राजनले पेन्सनको अधिकार खोज्ने क्रममा उत्पन्न पारिवारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ।

लाहुरेको विगत, दुई परिवारबीचको सम्बन्ध, बहुविवाहबाट सिर्जित पारिवारिक विखण्डन तथा सन्तानबीचको अधिकारको द्वन्द्वसँग जुध्न पुग्छन्।
बहुप्रतिभाशाली अभिनेता दयाहाङ राईले लाहुरे लाहुरेका छोरा राजनको भूमिका निर्वाह गर्नुभएको छ। उहाँको अभिनय चलचित्रको मुख्य भावनात्मक आधार बनेको छ।
चलचित्रमा गौमाया गुरुङ, विल्सनविक्रम राई, पशुपति राई, बुद्धि तामाङ, स्वर्गीय सुनील थापा, पुष्कर गुरुङ, सुरज गुरुङ, मनोज गुरुङ र प्रतीक्षा गुरुङलगायत कलाकारको अभिनयले चलचित्रका विभिन्न पात्र तथा सामाजिक परिवेशलाई जीवन्त बनाएका छन्।
नेपालमा दर्शकको साथ पाएपछि विदेशमा रहेका नेपाली समुदायमाझ प्रदर्शन विस्तार गरिरहेको ‘पेन्सनपट्टा’को टोकियो प्रदर्शनमा देखिएको टिकट बिक्रीको उत्साहले नेपाली चलचित्रप्रतिको प्रवासी नेपालीको आकर्षणलाई पनि देखाएको छ। चलचित्रले जापानमा समेत नेपालमा जस्तै दर्शकको साथ पाउने अपेक्षा आयोजकहरूले गरेका छन्।



प्रतिक्रिया राख्नुहोस्