जन सरोकार

छोरी जन्माउने आमालाई नगदसहित सम्मान

नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो ।

गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ आमालाई सम्मानसहित नगद प्रदान गरिएको छ । वडा नं ९ को सहयोगमा दाप्चा स्वास्थ्यचौकीले नगरका विभिन्न वडाका सुत्केरी आमालाई सम्मान कार्यक्रम आयोजना गरी नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले सम्मान गर्दै प्रोत्साहन रकम प्रदान गर्नुभयो । उक्त वडाले केही वर्षदेखि नै दाप्चा स्वास्थ्यचौकीमार्फत छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा सुत्केरी आमालाई छोरी जन्माएबापत वडाबाट प्रदान गरिने रु पाँच हजार, स्वास्थ्य संस्थामा सुत्केरी भएबापत रु दुई हजार, एम्बुलेन्स खर्चबापत रु एक हजार ८००, अन्य स्वास्थ्य संस्थामा रिफर भएर जानेलाई थप रु दुई हजार र चारपटक गर्भ जाँच गराएबापतको रु ८०० एकमुष्ट रुपमा प्रदान गरिएको वडाध्यक्ष मेलबहादुर तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छोरी जन्माउने आमालाई निरन्तर सम्मान गर्दै जानेछौँ, आमा र शिशुका लागि पोषणयुक्त खानपानमा वडाद्वारा आर्थिक सहयोग दिन थालेका छौँ ।”

नगरप्रमुख तिमल्सिनाले नगरपालिकाले सडकलगायत पूर्वाधारमात्रै नभई चेतनाको विकाससमेत अपरिहार्य रहेको तथ्यलाई मध्यनजर गर्दै छोरी प्रोत्साहन, बुहारी सम्मान कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार यस वर्ष महिलाको स्वास्थ्य, शिक्षा र आर्थिक अवस्थालाई मजबुद बनाउन थप नीति तथा कार्यक्रम तय गरिएको छ । नगरको मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको, दाप्चा स्वास्थ्यचौकीलाई नगर अस्पतालमा स्तरोन्नति गरिएको तथा नगरमा थप एम्बुलेन्सको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

नगर उपप्रमुख रामदेवी तामाङले नेपाली समाजमा छोरीलाई गर्भदेखि नै विभेद हुँदै आएको जनाउँदै त्यसलाई अन्त्य गर्ने उद्देश्यअनुसार छोरी जन्माउनेलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याइएको बताउनुभयो । “छोराको आसमा दुईभन्दा बढी सन्तान नजन्माउनुहोस्, छोरी पनि छोरासरह हुन् भन्ने मानसिकता बनाउनुपर्छ, यस विभेदलाई पूर्णरुपमा अन्त्य गरेपछि मात्रै समुन्नत समाज निर्माण गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

यसैबीच रोशी गाउँपालिकाले सुत्केरी हुन स्वास्थ्य संस्था जाँदा र घर फर्कंदा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाद्वारा बुधबार जारी विज्ञप्तिमा सुत्केरी हुन स्वास्थ्य संस्था जाँदा र घर फर्कंदा एम्बुलेन्सले भाडा लिन नपाउने तथा यदि लिएको पाइए तत्काल कार्यलयमा खबर गर्न अपिल गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.