दुर्गाकवच पाठ आफ्नै शरीरका अंगहरुको रक्षाका लागि
पितृपक्षअन्तर्गत सोह्रश्राद्धको समाप्तिसंगै सुरु हुने दशैंको शास्त्रीय चिन्तन, कर्मकाण्ड र जीवनशैलीमा ठूलो प्रभाव छ । दशैंको विशेषता र परिचयबोधक अन्य गतिविधि अनेक छन् । यसमा मानव शरीरका अंगहरुको रक्षा गर्न दुर्गाकवचको पाठ पनि महत्वपूर्ण छ ।
![Durga](https://www.nepaljapan.com/wp-content/uploads/2021/10/Durga.jpg)
शास्त्रमाा हाम्रो शरीरको हरेक अंगलाई कुनै न कुनै देवीको प्रतीकका रुपमा हेरिएको छ र ती अंग तिनै देवीले रक्षा गरुन् भनेर दशैंमा पाठ गरिन्छ । किन भने दशैं मातृशक्तिको पूजा, भक्ति र आराधना गर्ने वैदिक पर्व हो । यही दशैंमा ‘दुर्गा कवच’ पाठ गरिन्छ ।
कवच अर्थात् प्रतिरक्षा गर्ने आवरणको शाब्दिक ध्वनिले जस्तो वातावरण सिर्जना हुन्छ, त्यस्तो वातावरणमा आफू, परिवार, समाज, राष्ट्र र आफ्ना सबै प्रकारका साधना तथा ज्ञानेन्द्रिय, कर्मेन्द्रिय लगायतमा देवीका नाम र शक्ति कसरी उपस्थित भएर कवच अर्थात् सुरक्षा गर्छन्, त्यस्तो दुर्गा कवचको पाठय सामग्रीमा भएको सविस्तार वर्णनको केही अंश यस्तो छ –
पूर्व दिशातर्फ ऐन्द्रिदेवीले आग्नेय कोणतर्फ अग्नि शक्तिले, दक्षिण दिशातर्फ वाराही देवीले, नैऋत्यकोणतर्फ खड्गधारिणी देवीले, पश्चिम दिशातर्फ वारूणी देवीले, वायव्य कोणतर्फ मृगवाहिनी देवीले, उत्तरदिशामा कौमारी देवीले इशान कोणतर्फ शूलधारिणी देवीले, माथिपट्टि ब्रह्माणी देवीले, तलतिर वैष्णवी देवीले, दशैदिशामा चामुण्डादेवीले, अगाडिबाट जयाले, पछाडिबाट विजयाले, वायाँतर्फ अजिताले, दायाँतर्फ अपराजिताले शिखाको उद्योतिनीले रक्षा गरुन् ।
यसै गरी
शिरको उमाले, निधारको मालाधरीले, आँखीभौको यक्षस्वतीले, निधारको मध्यमागमा त्रिनेत्राले, नाकको प्वालको यमघण्टाले, आँखाको बीचमा शंखिनीले, कानको द्वारवासिनीले, गालाको कालिकाले, कानको शांकरीले, नाकको सुगन्धाले, माथिल्लो ओंठ चर्चिकाले, तल्लो ओठ अमृतकलाले, जिब्रोको सरस्वतीले, दाँतको कौमारीले, कण्ठको चण्डिकाले, चित्रघण्टाले रूद्रघण्टीको, तालुको महामायाले, चिउडोको कामाक्षी र सर्वमंगलाले वाणीको रक्षा गरून् भनेर स्तुति गरिन्छ ।
यसरी नै अन्य अंगप्रत्यंगको रक्षार्थ सदैव उपस्थित रहन देवीका अन्य अन्य रूप र नामको सस्वर पाठ गर्दै यसरी पुकारा गरिन्छ – भद्रकालीले घाँटीको, धनुर्धारीले मेरूदण्डको, घाँटीको बाहिर नीलग्रीवाले र घाँटीको नसानसामा नलकुवरीले रक्षा गरून् । खड्गिनीले काँधको, बज्रधारिणीले पाखुराको, दण्डिनीले हातको, अम्बिकाले औंलाहरूको, सुलेश्वरीले नङको र कूलेश्वरीले कोखा (काखी)को रक्षा गरून् । महादेवीले स्तनको, शोक विनासिनीले मनको, ललिताले हृदयको, शूलधारिणीले भुँडीको रक्षा गरून् ।
कामिनीले नाभीको, गुहेश्वरीले गुह्य भागको, पूतना र कामिकाले लिंगको, महिष वाहिनीले गुदद्वारको, भगवतीले कम्मरको, विन्ध्यवासिनीले, घुँडाको, महाबलाले तिघ्राको, नरसिंहीले गोलीगाँठाको, तेजसीले पाउको, श्रीदेवीले पृष्टभागको, तलवासिनीले पैतालाको रक्षा गरून् ।
द्रष्टाकरालिनीले गोडाका नङको, उद्र्धकेशिनीले कपालको रौंको, रौंका प्वालमा कौवेरी र छालाको वागेश्वरीले रक्षा गरून् । पार्वतीले रगत, मज्जा, बोसो, मासु, हाड र मासी कालरात्रिले आन्द्रा, मुकुटेश्वरीले पित्त, पद्मावतिले मूलधारदेखि सहस्रारसम्मका कमल कोशको रक्षा गरून् ।
चुडामणिले कफको, ज्वालामुखीले नङको, तेजको अभेद्याले, शरीरका सम्पूर्ण जोर्नी, सन्धि स्थानको रक्षा गरून् । ब्रह्माणीले वीर्यको, छत्रेश्वरीले छायाँको, धर्मधारिणीले अहँकारको, मन र बुद्धिको, बज्रहस्ताले प्राणको, अपानको, व्यानको, उदानको समस्त वायुको रक्षा गरून् ।
प्राणको रक्षा कल्याण शोभनाले, अनुभवजन्य विषय जस्तै रस, रूप, गन्ध, स्पर्श, शब्द लगाययतका विषयबोध गर्दा योगिनीले, गुणात्मक सत्वगुण, रजोगुण, तमोगुणको मात्रा र गुणवत्ताको नारायणीले, आयुको रक्षा वाराहीले, धर्मको रक्षा वैष्णवीले, यश, कीर्ति, धन, विद्याको रक्षा चक्रिणीले, गोत्रको रक्षा इन्द्राणीले गरून् ।
पशुहरूको रक्षा चण्डिकाले, छोराको रक्षा महालक्ष्मीले, पत्नीको रक्षा भैरवीले, बाटो हिंड्दा सुपथाले, राजमार्गमा क्षेमकरीले, राजभवनमा महालक्ष्मीले, सम्पूर्ण प्रकारका भयबाट त्राण दिन विजयाले रक्षा गरून् । कवचद्वारा प्रतिरक्षा हुन नसकेका अन्य सबै अवयव र स्थानमा जयन्तीले रक्षा गरून् ।
दुर्गाकवचको पाठ्य सामग्रीले प्रत्येक व्यक्ति मातृशक्तिमै निर्भर रही देवीकै शरणमा शरणागत छ । यसरी मातृसत्ताको परिवेशमा प्राच्य जीवनशैली व्यवस्थित गर्न शारदीय नवरात्रमा महाकाली, महालक्ष्मी, महासरस्वतीको आराधना गरेर दशैं उल्लासमय रूपमा मनाइएको बोधगम्य छ ।
प्रतिक्रिया राख्नुहोस्