जन सरोकार

पूर्वको मौसममा सुधार, पश्चिममा भारी वर्षाको सम्भावना

महाअष्टमीको दिनदेखिको अविरल वर्षा भैरहेको नेपालको पूर्वी क्षेत्रमा मौसममा सुधार हुँदै जाने भए पनि पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको सम्भावना कायमै रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती प्रदेशदेखि पूर्वतिर भने आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने छ ।

मौसमविद सन्जिव अधिकारीका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

अधिकारीले कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज दिउँसो धेरै वर्षाको सम्भावना रहेको भए पनि आज राति भने कम हुने बताउनुभएको छ । त्यस्तै शनिबार भोलि दिउँसो फेरि धेरै वर्षाको सम्भावना रहेको र पश्चिम क्षेत्रमा आइतबारसम्म कहिँ न कहिँ भारी वर्षा हुने उहाँले बताउनुभयो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पनि सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ ।

हाल नेपालमा बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भएको छ । केही दिनयता लगातार वर्षा हुँदा जनजीवन कष्टकर बनेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कन्चनपुरको शान्तिपुर बेलौरी, बर्दियाको रम्भापुर, नवलपुरको दुम्कौली, तनहुँको अत्रउलीटार तथा पाल्पाका अर्चले र गण्डाकोटमा भारी वर्षा भइरहेको छ ।

यी स्थानहरुमा पर्ने महाकाली, बबई र काली गण्डकी जलाधार क्षेत्रमा भएको अत्यधिक वर्षाका कारण खतराको संकेत देखाइएको छ । २४ घण्टाको अवधिमा पाल्पामा सबैभन्दा बढी २११ मिलिमिटर वर्षा मापन भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.