जन सरोकार

पूर्व विद्यार्थीले गरे अरुणोदय उमाविलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोभिड–१९ का कारण सबभन्दा बढी जोखिममा रहेका बालबालिकाहरुको स्वास्थ्य सुरक्षा प्रदान गर्ने उद्देश्यले काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीस्थित अरुणोदय उच्च माध्यमिक विद्यालयलाई सोही विद्यालयका पूर्व विद्यार्थीहरुले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन् । बिहिबार विद्यालयमा आयोजित अनौपचारिक कार्यक्रमकाबीच अरुणोदय पूर्व विद्यार्थी समाजले ती सामग्री हस्तान्तरण गरेको हो ।

एभरेष्ट पेपर उद्योग र नवोध्या ट्रेडर्सका अध्यक्ष अमनबहादुर खड्काले उपलब्ध गराउनुभएको ती सामग्री सुरुमा खड्काले समाजका अध्यक्ष पौडेललाई हस्तान्तरण गर्नुभएको थियो भने लगत्तै विद्यालयलाई हस्तान्तरण गरिएको हो ।


गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष राजिव थापा, समाजका अध्यक्ष त्रिलोचन पौड्याल, उपाध्यक्ष रुपक थापा, सचिव यादब देवकोटा, सदस्यहरु सुरेश थापा र किरण पण्डित क्षेत्रीले विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपाललाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नेपालले हाम्रो भविष्य आजका सुरक्षित र स्वस्थ बालबालिका नै भएकाले उनीहरुको स्वास्थ्यका लागि पूर्व विद्यार्थीहरुले गरेको सहयोग अमूल्य रहेको बताउनुभयो । उहाँले पूर्वीय मान्यता अनुसार आफूले शिक्षा आर्जन गरेको गुरुवा शिक्षाललाई गुरुदक्षिण दिने चयन भएको स्मरण गर्दै पूर्व विद्यार्थीहरुले अहिलेको समयमा जे आवश्यक छ त्यही सामग्री प्रदान गरेर गुरुदक्षिण तिरेको धारणा राख्नुभयो ।

समाजका अध्यक्ष त्रिलोचन पौड्यालले महामारीको अहिलेको समयमा स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकाले आफू पढेको विद्यालयका बालबालिकालाई सुरक्षित राख्न समाजले सानो प्रयास गरेको बताउनुभयो । उहाँले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने खड्कालाई विशेष धन्यवाद दिनुभयो ।

सामाजिक दूरी कायम राख्नुपर्ने कारणले अनौपचारिक रुपमा गरिएको कार्यक्रममा दाता खड्काले आफूले समाजलाई केही गर्नुपर्छ भन्ने उद्देश्यले सहयोग गरेको बताउँदै आगामी दिनमा पनि यस्तो सहयोग गरिरहने जनाउनुभयो ।

कार्यक्रममा समाजका सचिव यादब देवकोटाले बालबालिकालाई सुरक्षित तवरले पठनपाठन गराउनु अहिलेको पहिलो कर्तव्य भएकाले समाजले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको बताउँदै यसबाट विद्यालयलाई केही हदसम्म लाभ हुने बताउनुभयो ।

स्मरणीय के छ भने कोभिड १९ को महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर संचालन भएका केही विद्यालयहरुमध्येमा अरुणोदय माध्यमिक विद्यालय पनि पर्दछ । सो विद्यालयमा अहिले प्राथमिकदेखि उच्च माध्यमिकसम्मका कक्षाहरु तीन चरणमा संचालन भैरहेका छन् ।




प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.