जल/वातावरण

नेपाल कोरोना संक्रमणको अति जोखिममा- सक्रिय संक्रमित दर विश्वमै उच्च

केही हप्तायता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको र यससंगै सक्रिय संक्रमितको संख्या पनि बढ्दै जाँदा उपचारमा समस्या पर्ने चेतावनी विज्ञहरुको छ । अर्को डरलाग्दो तथ्यांक के छ भने नेपाल कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्याका आधारमा नेपाल दक्षिण एशियामा चौथो स्थानमा र सक्रिय सङ्क्रमितको प्रतिशतका आधारमा नेपालले अतिप्रभावित देशमध्ये दोस्रो स्थानमा रहेको छ ।

नेपालको संक्रमणस्थिति र जोखिमबारेको बिबिसिको रिपोर्ट यस्तो छ-

नेपालले विश्वकै दोस्रो बढी संक्रमित रहेको भारतलाई पनि उछिनेको विज्ञहरू बताउँछन् । यसबाट नेपालमा सङ्क्रमण डरलाग्दो स्थितिमा भएको चित्रण हुने उनीहरू बताउँछन् । नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै एक लाख पुग्दा बिहीवार अपराह्णसम्म २६,६०० भन्दा केही बढी सक्रिय सङ्क्रमित थिए । यो कुल सङ्क्रमितको झन्डै २६.५ प्रतिशत हो ।

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ८,९३,५९२ रहेको छ जुन १२.९ प्रतिशत हो । त्यसमा पनि पछिल्लो समय ६० वर्ष उमेर नाघेका मानिसहरूको सङ्क्रमित हुने दर ०.५ प्रतिशतबाट बढ्दै गएर अहिले नौ प्रतिशतको हाराहारी रहेको छ। त्यस्तै महिलाहरूको पनि सङ्क्रमित हुने दर १४ प्रतिशतबाट बढेर ३४ प्रतिशत पुगेको छ ।

बाहिर जिल्लाबाट काठमाण्डू उपत्यकामा आउने र उपत्यकाबाट बाहिर जिल्ला जाने मानिसको क्रम बढिरहेकोले सङ्क्रमण अझै दुई, तीन साता उकालो लाग्ने देखिएको छ ।

दक्षिण एशियाको स्थिति

भारतमा सङ्क्रमितको कुल सङ्ख्या ६९ लाख नाघेको छ भने मृतकको सङ्ख्या १,०६,४९० पुगेको छ । केही समयअघिसम्म भारत, पाकिस्तान र अफगानिस्तानपछि चौथो स्थानमा रहेको बाङ्ग्लादेश पछिल्लो समय दक्षिण एशियाली देशमध्ये दोस्रो स्थानमा पुगेको छ ।

जोन्स हप्किन्स यूनिभर्सिटीले बनाएको सूचीमा भारतपछि १६ औँ स्थानमा बाङ्ग्लादेश छ । अहिले त्यहाँ सङ्क्रमितको कुल सङ्ख्या ३,७४,५९२ र मृतको सङ्ख्या ५,४६० पुगेको छ ।

नेपालको अवस्था के छ?

महामारी सुरु भएको देश चीनमा रहेको सङ्क्रमितको सङ्ख्यालाई गत बुधवार उछिनेको नेपाल अहिले शीर्ष ५० स्थानभित्र छ। नेपालमा बिहीवारसम्मको तथ्याङ्क हेर्दा सङ्क्रमितको सङ्ख्या ९८,६१७ रहेको छ भने ५९० जनाको मृत्यु भइसकेको छ। सङ्क्रमितको सङ्ख्या पछिल्लो एक महिनामै दोबरले भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कले देखाउँछ।

मृत्युदर कुन देशमा कति?

सक्रिय सङ्क्रमित दर नेपालमा धेरै रहे पनि मृत्यु दर भने तुलनात्मक रूपमा नेपालमा कम छ। नेपालमा अहिले मृत्युदर ०.६ प्रतिशत देखिएको छ। तर स्वास्थ्य सेवा प्रणालीलाई बलियो नबनाए मृत्युदरमा पनि नेपालको अवस्था खराब हुनसक्ने स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. सुरेश तिवारी बताउँछन्।

“लामो लकडाउन र निषेधाज्ञाले सङ्क्रमित हुनेको सङ्ख्या अन्य देशको तुलनामा नेपालमा लामो समय नियन्त्रणमा थियो। तर अब त्यो अवस्था छैन त्यसैले सक्रिय सङ्क्रमित दर बढेसँगै मृत्यु हुनेको सङ्ख्या पनि बढ्छ। श्वासप्रश्वासको समस्या भएका बिरामीलाई उपचारको कमी हुन नदिने गरी स्वास्थ्य सेवा प्रणालीलाई बलियो नबनाए बिस्तारै मृत्युदर पनि बढ्दै जान्छ,” उनले भने।

मृत्युदर सबैभन्दा धेरै हुने दक्षिण एशियाली देशमा अफगानिस्तान सबैभन्दा माथि देखिन्छ। त्यहाँ मृत्युदर ३.७ प्रतिशत छ।

त्यसपछि क्रमश: पाकिस्तानमा २.१, भारत र बाङ्ग्लादेशमा १.५, श्रीलङ्का र माल्दिभ्समा ०.३ प्रतिशत छ।

दक्षिण एशियामा सबैभन्दा कम सङ्क्रमित सङ्ख्या भुटानमा रहेको छ। जम्मा ३०४ जनामा सङ्क्रमण पुष्टि भएको भुटानमा कोभिड-१९ का कारणले कसैको पनि मृत्यु भएको छैन।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.