विश्व समाचार

राष्ट्रपति ट्रम्प चुनावी र्यालीका लागि तयार, बाइडेनसँग बहसका लागि अनिच्छुक

अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्यालीका लागि भने तयार रहेको बताउनु भएको छ । गत शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका ट्रम्पले एक हप्ता नहुँदै बिहीबार आफूलाई पूर्ण स्वास्थ्यलाभ भइसकेकाले र्यालीमा सहभागी हुन सक्षम रहेको दावी गर्नु भएको हो ।

उहाँका चिकित्सकहरुले पनि राष्ट्रपति ट्रम्पको थेरापी सकिएको र उहाँको अवस्था धेरै राम्रो भइसकेको बताएका छन् । अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अरु लाखौं व्यक्ति सङ्क्रमित भएका छन् ।

राष्ट्रपति ट्रम्प कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि गत शुक्रबार अस्पताल जानु भएको थियो भने सोमबार निवास फर्किनु भएको थियो ।

निवासबाटै पनि उहाँलाई उपचार गराइरहेका चिकित्सकहरुले राष्ट्रपति ट्रम्प अब सार्वजनिक कार्यक्रममा सहभागी हुन सक्ने बताएका छन् ।

उहाँका फिजिसियन सेन कोन्लीले शनिबारदेखि राष्ट्रपति ट्रम्प सार्वजनिक गतिविधिहरुमा सहभागी हुन सक्षम रहेको जानकारी दिनुभएको हो ।

स्थानीय समय अनुसार बिहीबार राती फक्स न्युजलाई दिएको अन्तरवार्तामा उहाँले शनिबार फ्लोरिडामा हुने र्यालीमा आफू सहभागी हुन चाहेको बताउनु भएको थियो ।

टेलिफोनबाट गरिएको अन्तरवार्ताका क्रममा उहाँले आफू कुनै कुरामा पनि कमजोर र असक्षम छु जस्तो नलागेको जवाफ दिनुभएको थियो ।

सोही अन्तरवार्तामा राष्ट्रपतिय बहसमा भने आफू सहभागी हुन नचाहेको उहाँले बताउनु भएको थियो ।

राष्ट्रपतीय बहस आयोगका अधिकारीहरुले यही अक्टोबर २२ तारिखका दिन दोस्रो बहस आयोजना गर्ने तयारी गरे पनि ट्रम्पले अनिच्छा देखाएपछि बहस अन्यौलमा परेको हो ।

उहाँहरुका बीचमा पहिलो बहस अघिल्लो हप्ता भएको थियो । सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्धी बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय लिनु भएको हो ।

अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लीकनको तर्फबाट र पूर्व उपराष्ट्रपति बाइडेन डेमोक्र्याटको तर्फबाट प्रतिस्पर्धा गर्न लाग्नु भएको छ ।

त्यसैगरी उपराष्ट्रपतिमा ट्रम्पको साथमा वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको साथमा सिनेटर कमला ह्यारिस रहनु भएको छ । उहाँहरुका बीचमा पहिलो बहस बिहीबार भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.