जन सरोकार

रातो माटो बेचेर दशैं खर्च जोहो !

दशैंको छेकोमा किनमेलले बजार तातेका बेला बिहीबार बागलुङ नगरपालिका–३ मा भने भिन्न दृश्य देखियो । साँझ छिप्पिनै आँटेको थियो । महिला कोही रातो माटो खन्दै थिए, कोही थैलामा भर्दै ।

नवरात्रको पहिलो दिन रातो माटो बेच्न उनीहरुले दिनभर सडक कुरे । मध्यपहाडी लोकमार्ग भएर आउजाउ गर्ने सवारीका चालक र यात्रुलाई माटो बेचे । बागलुङ बजार कटेपछि रातामाटा, मुलपानी, खहरेदेखि अछेतेसम्मै सडक छेउछाउ रातो माटो देखिन्छ ।

बर्सेनि दशैंमा त्यस आसपासका महिला रातो माटो बेच्न तम्सिन्छन् । लोकमार्ग किनारमा खसेका पहिरा र ढिस्काबाट रातो माटो झिक्छन् ।

घरकै कान्छोबुबाको जग्गाबाट खसेको पहिराबाट माटो झिकेर बेचेको पूजा विश्वकर्माले सुनाउनुभयो । “पहिराको माटो मात्र बेच्न पाइन्छ, अन्त खन्न मिल्दैन”, उहाँले भन्नुभयो । उहाँसहित तीन महिलाले विगत छ दिनदेखि रातो माटो बेच्दै आएका छन् । चामलको थैला बराबरको माटो रु २०० मा बेच्ने गरिएको विश्वकर्माले बताउनुभयो । कसैलाई घटाएर पनि बेच्नुपरेको उहाँको भनाइ छ । एक जनाको कमाइ दैनिक रु एक हजार ५०० देखि दुई हजारसम्म निक्लने गर्छ ।

रातो माटो बेचेर दशैं खर्च जोहो गर्ने गरिएको सोही ठाउँकी अविसा सुनारले बताउनुभयो । “यहाँबाट नजिकका गाउँदेखि गलकोट, बुर्तिबाङसम्म रातो माटो जान्छ”, उहाँले भन्नुभयो, “गाडीका चालकले माटो बनाएर राख्दिनुस्, हामी लान्छौँ भनेपछि खनेर बेच्न थालेका हौँ, ढुङ्गा चालेर बोरामा भरेर दिन्छौँ ।”

त्यस क्षेत्रका कैयन महिला रातो माटो बेचेर दशैंमा मिठामसिनो र लुगाफाटा किन्छन् । सुनारले आफ्ना आमा दिदीहरुले पनि माटो बेच्ने गरेको बताउनुभयो । फुर्सदलाई सदुपयोग गरेर रातो माटो बेच्ने गरेको उहाँको भनाइ छ । रातो माटोको खोजी दशैं, तिहारमा मात्र हुन्छ ।

रातो माटो पाइने भएपछि टाढाका गाउँलेले सवारी चालकलाई किनेर ल्याइदिन भन्छन् । कतिपय यात्रु आफैँले पनि माटो किनेर लान्छन् । चाडपर्वमा घर पोत्न रातो माटोको प्रयोग हुन्छ । पहिलेपहिले झैँ कमेरो र राता माटोले घर रङ्गाउने चलन भने घट्दै गएको छ ।

पक्की घर बन्न थालेपछि लिपपोतमा माटोको प्रयोग कम भएको हो । गाउँमा रहेका पुरानै शैलीका घरमा पनि अहिले सिमेन्ट र रङ लगाउन थालिएको छ । आधुनिक विकासले परम्परालाई ओझेलमा पारिदिएको छ ।

रातमाटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वैकुण्ठप्रसाद सापकोटाले रातो माटो पाइने भएकाले ठाउँको नामै रातमाटा राखिएको बताउनुभयो । सदरमुकाम माथिपट्टि उक्त गाउँ छ । “यहाँका छोरीचेलीले घर जाँदा रातो माटो लिएर जाने चलन थियो”, अध्यक्ष सापकोटाले भन्नुभयो, “पहिले किनेबेच हुँदैनथ्यो, अहिले कहीँकतै त्यस्तो छ ।”

पहिराको जोखिम हुने भएकाले वन क्षेत्रमा भने माटो खन्न प्रतिबन्ध लगाइएको छ । खतरा नभएका सीमित ठाउँलाई गाउँलेले माटो खन्नका लागि तोक्ने गरेका छन् । बढीजसो पहिरा खसेर थुप्रिएका ठाउँबाट रातो माटो निकाल्ने गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.