जन सरोकार

गाउँमा दशैंको चहलपहल, सदरमुकाम सुनसान

दशैं नजिकिँदै गर्दा डोटी जिल्लाका विभिन्न गाउँमा चहलपहल बढेको छ । जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा जिल्ला सदरमुकाम सिलगढी भने सुनसान बन्दै गएको छ । यहाँका जिल्ला सदरमुकाममा अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने व्यापारी तथा कतिपय सरकारी कर्मचारी जिल्ला बाहिरिएपछि सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल सुनसान बनेको हो ।

रोजगार, अध्ययन र अन्य कामका लागि गाउँबाट बहिरिएकाहरु चाडबाडका लागि अहिले धमाधम गाउँमा फर्किन थालेपछि यहाँका ग्रामीण बस्तीमा भने निकै चहलपहल छाएको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीयवासी दीपकबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयोे, “कामको सिलसिलामा गाउँ छोडेर गएका अहिले धमाधम गाउँ फर्किन थालेपछि यहाँका गाउँमा दशैंको निकै चहलपहल बढेको छ, तर सहर बजार भने खाली हुँदै गएका छन् ।”

जिल्लामा कोरोना जोखिमको खासै समस्या नदेखिएपछि अहिले यहाँका गाउँघरमा दशैंका लागि आउने तथा नयाँ लुगा किन्नेहरुको भीड लाग्ने गरेको छ । यहाँका गाउँघरमा अहिले सञ्चालन भइरहेका गाडीहरुमा स्थानीयवासीले भरीभराउ हुने गरेका छन् ।

जिल्लामा कोरोना जोखिमबाट जोगिन स्थानीय प्रशासनले सबैलाई सजग रहन आग्रह गरे पनि नागरिकले प्रशासनको आग्रहलाई पालना गरेको खासै देखिएको छैन । प्रमुख व्यापारी केन्द्रमा व्यापार व्यवसाय गर्ने व्यक्तिहरु प्रायः जिल्लाबाहिर तथा गाउँमा बसोबास गर्ने नागरिक भएका कारण पनि उनीहरु गाउँ गएकाले पनि यहाँको जिल्ला तथा पुरानो क्षेत्रीय सदरमुकामका बजार करीब सुनसान बनेको दिपायल पिपल्लास्थित हिरा ट्रेडर्स तथा सप्लायर्सका सर्वजित देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बजारमा व्यापार गर्नेहरु प्रायः सबै मान्छे आ–आफ्ना गाउँ फर्किन थालेका छन्, बजारमा व्यापारसमेत घटेको छ ।” यहाँका बजारमा व्यापार व्यवसाय गर्ने आधाभन्दा बढी ग्रामीण क्षेत्रका विभिन्न गाउँबाट आएका छन् भने कतिपय जिल्लाबाहिरबाट आएर व्यापार–व्यवसाय गरिरहेका छन् । उनीहरूसमेत अधिकांश पसल बन्द गरेर गाउँ फर्केपछि यहाँको बजार अहिले सुनसान हुन थालेको हो ।

उता चाडपर्वका साथमा जिल्लामा अप्रिय घटना नहोस् भन्दै जिल्लामा शान्तिसुरक्षाको अवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “चाडबाडमा हुने घटनाको अवस्थालाई दृष्टिगत गरी हामीले शान्तिसुरक्षाको अवस्था मजबुद बनाएका छौँ, कुनै अप्रिय घटना हुन दिने छैनौँ ।” अहिले यहाँका बजारभरिमा सुरक्षाकर्मी मात्रै देखिने गरेका छन् ।

सदरमुकाम बाहिरका गाउँमा भने चहलपहल निकै बढ्नाका साथै ग्रामीण क्षेत्रका दजनौँ गाउँमा चर्खे र लिङ्गे पिङले रमाइलो बढाएको जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीयवासी निराजन विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा निकै रमाइलो भएको छ, गाउँबाट बाहिरिएका सबै गाउँघर फर्किंदैछन्, अहिले त यहाँका गाउँ बजारभन्दा कम छैनन् दशैंका लागि हालिएका पिङमा रमाइलो गर्ने झनै बढेका छन् ।”

गाउँमा चहलपहल भएसँगै यहाँका ग्रामीण क्षेत्रका पसलमा व्यापार–व्यवसाय पनि निकै फस्टाएको स्थानीयवासी बताउँछन् । यस्तै यहाँका ग्रामीण क्षेत्रमा रहेका पुराना दरबार, कोट तथा भगवतीका मन्दिरमा दैनिक हुने पूजापाठ समेतले गाउँको रौनक छुट्टै बनाएको छ । यहाँका निरौलीकोट, धुर्कोकोट, जोरायल, गड्सेरा, बोगटान, बडिकेदारमा रहेका कोट तथा भगवतीका मन्दिरमा घटस्थापनादेखि नै पूजापाठ गर्नेको भीड लाग्ने गरेको छ ।

सबै कोटमा एक सातासम्म पूजापाठ गरेर नवमीका दिन पञ्चबलि दिइने चलन रहेको छ । पहिला सधैँ सुनसान लाग्ने यहाँका गाउँमा अहिले निकै रमाइलो र चहलपहल बढेको स्थानीयवासी बताउँछन् । पछिल्लो समय यहाँका गाउँ घर सडक सञ्जालले छोएसँगै उपभोक्ताले खोजेका सामग्री गाउँमै पाइन थालेपछि गाउँका बजारमा दिनहुँ भीड लाग्ने गरेको हो । अधिकांश गाउँलाई सडक यातायातले छोएका कारण पनि स्थानीयवासी अहिले धमाधम आफ्ना गाउँघर फर्किन थालेका हुन् ।

पिपल्ला, दिपायल, राजपुर, सिलगढीमा दशैंको सामग्री किनमेल गर्नेहरुले अहिले जिल्लाकै ग्रामीण बजारमा किनमेल गर्ने गरेका स्थानीयवासी बताउँछन् । दशैंसँगै गाउँमा सांस्कृतिक कार्यक्रमको रौनकसमेत बढ्दै गएको छ । स्थानीय युवा क्लब र काठमाडौँमा बस्ने गरेका यहाँका कलाकारले गाउँ फर्केका बेला रमाइलो गर्ने उद्देश्यले एक दर्जन गाउँमा दशैंको अवसर पारेर सांस्कृतिक कार्यक्रम आयोजनासमेत गरिरहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.