जन सरोकार

काम नपाएर युवाहरु जोखिम मोल्दै विदेशमा- देशभित्र दक्ष जनशक्तिको अभाव !

कोभिड–१९ को महामारी नेपाल जस्ता वैदेशिक रोजगारीबाट धानिएका देशका लागि मुलुकभित्रै आर्थिक गतिविधि बढाउने र विकास निर्माणका क्षेत्रमा आफ्नै युवाहरुलाई परिचालन गर्ने अवसर जुराएको थियो । विश्वव्यापी महामारीका कारण वैदेशिक रोजगारीमा परेको जोखिमसंगै स्वदेश फर्केका युवाहरुलाई तत्काल परिचालन गर्ने नीति लिन सकेको भए देशले अर्कै गति लिन्थ्यो ।

अहिले कोरोना महामारीबाट ज्यान जोगाउन विदेशबाट फर्केकाहरु रोजगारी नपाएर खानै नपाउने स्थितिमा पुगेपछि जोखिम मोलेरै विदेश जान बाध्य छन् भने देशभित्र दक्ष कामदारको अभाव रहेको सरकारले बताइरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले सरकारले भौतिक पूर्वाधारका नयाँ–नयाँ क्षेत्रलाई अगाडि बढाइएको भए पनि त्यसमा आवश्यक कतिपय प्राविधिक जनशक्ति स्वदेशमा उपलब्ध नभएको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनमा उहाँले गैरआवासीय नेपालीहरुसँग भएको ज्ञान, सीप र प्रविधि नयाँ नेपाल निर्माणमा लगाउन आग्रह गर्नुभयो ।

अहिले भौतिक पूर्वाधारको क्षेत्रमा रेल, सुरुङमार्ग र मेट्रोरेल थपिने क्रममा रहेको उहाँले बताउनुभयो । मन्त्री नेम्वाङले भन्नुभयो, “हामीले रेल चलाउनका लागि पनि नेपाली दक्ष नभएकाले विदेशी ल्याउनुपर्ने अवस्था छ ।” उहाँले नेपाल अहिले कम विकसित देशको सूचीमा भएपनि भौतिक पूर्वाधार निर्माणमा लगानी सुनिश्चित गरी मध्यम आय भएको मुलुकको रुपमा स्थापित हुने लक्ष्य लिइएको बताउनुभयो ।

सन् २०२२ सम्ममा कम विकसित मुलुकको सूचीबाट माथि उठाउने, सन् २०३० सम्ममा दिगो विकासको लक्ष्यहरु हासिल गर्ने र सन् २०३० सम्ममा नेपाल मध्यम आय भएको देशको रुपमा विकास गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ । सरकार व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न शहर विकास गर्न लागेको बताउँदै मन्त्री नेम्वाङले २७ नयाँ शहर, १५ स्मार्ट सिटी, पाँच हिमाली शहर र २० ओटा शहरमा सघन सहरी विकास कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य शहरलाई थप व्यवस्थित गर्न ‘एक शहर एक पहिचान’को कार्यक्रम समेत अगाडि बढाइएको छ ।”

सो अवसरमा पालुङटार नगरपालिकाका प्रमुख इञ्जिनीयर दिपकबाबु कँडेलले परम्परागत संरचनाहरुको संरक्षणको आवश्यकता औँल्याउनुभयो । कतिपय संरचना अहिले हटेकाले पनि प्राकृतिक विपद् बढेको उहाँको भनाइ छ । कार्यक्रममा छ जना विज्ञहरुले भौतिक पूर्वाधार विकासको विभिन्न क्षेत्रसम्बन्धी कार्यपत्र प्रस्तुत गर्न भएको थियो ।

रेल विभागका अधिकारीसँग छलफल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको प्रगति र आगामी दिनको योजनाबारे रेल विभागसँग छलफल गर्नुभएको छ । विभागको निरीक्षणका लागि शुक्रबार विशालनगरस्थित कार्यालय पुग्नुभएका मन्त्री नेम्वाङले विभागको कामकारवाहीका बारेमा जानकारी लिनुभयो ।

विभागको महानिर्देशकका रुपमा प्रमिलादेवी बज्राचार्यले जिम्मेवारी सम्हाल्नुभएको एक सातापछि उहाँ आज विभाग पुगेर कर्मचारीसँग छलफल गर्नुभयो । उहाँले पूर्व—पश्चिम विद्युतीय रेलमार्गको काकँडभिट्टा–इनरुवा खण्ड, इनरुवा–बर्दिवास खण्ड र बर्दिवास–निजगड खण्डको ट्रयाकबेडबारे जानकारी लिनुभयो । महानिर्देशक बज्राचार्यले विभागले गरिरहेको कामको जानकारी दिनुभयो ।

रेल विभागका अधिकारीहरुले मन्त्री नेम्वाङलाई मेट्रो रेलसम्बन्धी विषयमा पनि जानकारी गराएका थिए । उहाँसँगै भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलगायत मन्त्रालयका अधिकारी विभाग पुग्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.