जल/वातावरण

निर्वाचनले तातेको काठमाडौंको मौसममा भने एकाएक चिसो

देशको राजधानी काठमाडौँमा चिसोपना बढेको छ । मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशसभाको निर्वाचनका कारण राजनीति तातिए पनि राजधानी काठमाडौँलगायत कतिपय स्थानमा चिसो बढेको छ ।

त्यसो त, नेपालमा मनसुन जारी छ । यो वर्षको मनसुन अक्टोबर २ तारिखसम्मका लागि पूर्वानुमान गरिए पनि बङ्गालको खाडी आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले मनसुन सकिने अवस्थामा प्रभाव पर्यो । जसका कारण मनसुन झण्डै दुई साता ढिला गरी बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आखिर किन चाँडै चिसो बढ्यो त ! महाशाखाका मौसमविद् हिरा भट्टराई भन्नुहुन्छ, “जाडो सुरु भएको छैन अहिलेको विकसित मौसमी प्रणालीले काठमाडौँमा केही चिसो महशुस गरिएको छ । घाम खुलेर लागेपछि व्यालेन्समा आउँछ तापक्रम ।”

उक्त मौसमी प्रणालीका कारण एक सातादेखि देशभर बदली र वर्षा गराएको छ । दुई दिनयता मनसुन देशको पश्चिमी क्षेत्रमा केन्द्रित छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । ती प्रदेशका केही स्थानमा भारी वर्षा पनि मापन गरिएको छ ।

पछिल्ला दिनमा निरन्तरको वर्षाका कारण काठमाडौँमा केही चिसो महशुस गरिएको मौसमविद् भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “बदली र वर्षाका कारण घाम नलागेकाले चिसो बढेको देखिन्छ तर अहिले जाडो याम सुरु भएको होइन । लगातारको वर्षाले खुलेर घाम नलागेकाले पनि चिसो बढेको हो ।”

मनसुन सकिएर ‘पोष्ट मनसुन’को समयपछि सामान्यतया जाडो सुरु हुन्छ । अहिले मनसुन सकिने क्रममा छ । नेपालमा नोभेम्बर, डिसेम्भर र जनवरी तीन महिना जाडो याम मानिन्छ ।

“जाडो सुरु भइसकेको अवस्था हैन, दुई तीन दिन ठूलो पानी पर्यो पानी परेपछि तापक्रम तल झर्छ । सूर्यको किरण नपरेर पानी मात्रै आइराख्दा तापक्रम घट्छ । आजदेखि घाम लाग्न थालेको छ । घामलाग्दा पनि तापक्रम बढेन भने बल्ल जाडो बढेको भन्न मिल्छ ।

काठमाडौँमा अधिकत तापक्रम ३१ देखि ३४ डिग्रीसम्म पुगेको थियो । पछिल्लो वर्षाले एक्कासी अधिकतम र न्यूनता तापक्रम घटेकाले चिसो बढेको जनाइन्छ । विगत तीन दिनयता काठमाडौँका न्यूनतम १७ र अधिकतम २६ डिग्री सेल्सियस हाराहारी रहेको छ ।

यद्यपि, आज विहानैदेखि काठमाडौँमा घाम लागेकाले तापक्रम बढेर न्यानो हुने अनुमान गरिएको छ । केही दिनयतादेखि काठमाडौँमा बिहान र बेलुका बढी चिसो महशुस गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.